डा.केशव श्रेष्ठ प्रकरण : यसरी उब्जियो ‘आत्महत्या’ गर्ने स्थिति सम्म पुर्याउने गम्भीर समस्या (नालीबेलीसहित)

३ असार, रामेछाप । आइतबार बिहानै सामाजिक संजालमा ‘अलबिदा सबै’ लेखेर फोन अफ गरी सम्पर्क विहीन भएका डाक्टर केशव श्रेष्ठले आफूलाई ‘आत्महत्या गर्न बाध्य’ पार्ने भन्दै नाम उल्लेख गरेका रामेछाप नगरपालिका वडा नं ८ का निवर्तमान वडा अध्यक्ष समेत रहेका केदार कार्कीले आफूलाई डाक्टर केशवले हुँदै नभएको गल्तीमा मुछन्न खोजेको दाबीसहितको धारणा सार्वजनिक गरेका छन् । अस्पतालमा भएको घटना क्रम बारेमा उल्लेख गर्दै कार्कीले आफू निर्दोष रहेको तर्क गर्दै आफूले पैसा मागेको कुनै प्रमाणहरू भएमा त्यसको सजाय भोग्न तयार रहेको उनको जिकिर समेत गरे । ‘म मानहानिको मुद्दा दिन्छु’, यहाँबाट सरुवा भएर गएपछि यस्तो गर्नु गलत हो । ममाथि न्याय हुनु पर्यो’ कार्कीले भने ।
सोमबार बिहान सामाजिक संजालमा भावुक सन्देशसहित लामो स्ट्याटस लेखेर सम्पर्क विहीन भएका डाक्टर केशवलाई काठमाडौँको बालाजु क्षेत्रको एक रिसोर्ट नजिकैबाट सकुशल फेला पारेका थिए । सोही प्रकरणमा डाक्टर केशवले आफ्नो नाम आर्थिक चलखेल लगायतका गतिविधिमा जोडेर उल्लेख गरेपछि आफूमाथि गम्भीर आरोप लगाइएको गुनासोसहित मंगलबार बिहान पत्रकार सम्मेलन गरी कार्कीले डाक्टर केशवले रामेछाप अस्पतालमा भएका पछिल्ला गतिविधि जानकारी गराउँदै आफूलाई बिना कारण जोडिएको दाबी गरेका हुन् । ‘उहाँ (केशव) ले कर्मचारीहरूको मेस बन्द गराउने, खानेपानीको जार समेत हटाइदिने अन्य डाक्टरहरूको जागिरै खाइदिन्छु जस्ता धम्की दिएर डाक्टरहरूलाई दुःख दिएको जानकारी पछि आफूहरूले त्यसको समाधानको लागि छलफल गरेर समाधान गर्न तर्फ उन्मुख गराएको जिकिर गर्दै कार्कीले भने ‘छलफलकै क्रममा उठेर यो अस्पताल मैले बनाएको हो । प्रदेश भरीको उत्कृष्ट अस्पताल अध्यक्ष ज्यू (रामेछाप अस्पताल व्यवस्थापन समितिका यम पाख्रिन) र मैले अरू कसैले हैन । .......‘डाक्टर किरण श्रेष्ठ जागिर खाइदिन्छु’ भन्दै डाक्टर केशवले भनेको दाबीसहित कार्कीले पत्रकार सम्मेलनमा भने ‘तपाई जस्तो मान्छेले यस्तो भन्नु हुँदैन मैले भनेको हुँ ।’
निमित्त मेडिकल सुपरिटेण्डेन रहँदा डाक्टर केशवले त्यहाँ कार्यरत कर्मचारीहरूको करार नवीकरण नगर्ने धम्की दिने गरेको नेपाली काँग्रेसका युवा नेता कार्कीको दाबी रहेको छ । डाक्टर केशवले आफूलाई पैसा मागेको आरोप समेत लगाएकाले त्यो आरोप कहीँ कतै पुष्टि भए त्यसको सजाय भोग्न तयार रहेको जिकिर दोहोर्याए ।
निमित्त मेडिकल सुपरिटेण्डेन् डाक्टर श्रेष्ठको १८ महिना पछि कानुन अनुसार नै सुरुवा भएको दाबी गर्दै कार्कीले ८ बजे राति देखि दुई दिन डाइलसिस सेवा बन्द गर्दै कर्मचारीहरू समेत लिएर हिँडेकाले त्यो डाक्टर श्रेष्ठको गल्ती रहेको तर्क गरे ।
कार्कीले के-के भने बाँकी भिडिओमा हेर्नुहोस्
‘सबै जनालाई अलबिदा’ लेख्ने डाक्टर श्रेष्ठको भनाई
निमित्त मेडिकल सुपरिटेण्डेन डाक्टर केशव श्रेष्ठले अस्पतालकी कर्मचारी रमा श्रेष्ठ (जो रामेछापकै स्थानीय) र सची रौनियारले कार्यालय समय भन्दा अगाडि नै डिउटी छोड्दै हिँड्ने, नियम अनुसारको डिउटी पुरा नगर्ने, डिउटीको बेलामा पोसाक नलगाउने लगाएका विषयमा डाक्टर श्रेष्ठले (सिसिटिभी) फुटेज सहितको प्रमाणको आधारमा लिखित स्पष्टीकरण पटक–पटक सोधेको देखिन्छ ।
निमित्त मेसु डाक्टर केशव श्रेष्ठले विभिन्न समयमा डाक्टरहरुलाई मागेको स्पष्टिकरणहरु
त्यस्तै स्पष्टीकरण इमर्जिन्सिमा डिउटी गर्ने डाक्टर किरण श्रेष्ठले पनि अस्पताललाई बिना जानकारी ‘यप्सेन्ट’ (नआए) पछि कार्यालयबाट फोन गरेको र उनले फोन समेत नउठाएपछि हाजिर भएको दिनमा लिखित स्पष्टीकरण के कारणले फोन उठेन र किन इमर्जेन्सीमा डिउटी भएको मान्छेको बिना जानकारी ‘लिभ भएको’ भनेर स्पष्टीकरण सोद्ध त्यही कुरालाई प्रतिसोध राखेर ती डाक्टरहरूले आफूमाथि प्रतिशोध साँधेको दाबी गर्छन् ।
रमा श्रेष्ठ, सची रौनियार र किरण श्रेष्ठको नाम लिँदै सरुवा भएका (मेसु) असार सम्म रही रह्यो भने ‘हाम्रो कनट्याक्ट रिनिउ’ (करार नवीकरण) गर्दैन भन्ने आशङ्कामा मलाई हटाउने खेलमा लागेको र त्यसै स्वरूपमा रमाले केदार कार्कीलाई साथ लिएर कार्कीले साथ दिएको र तीनै जनाले हस्ताक्षर गरी विभिन्न आरोपहरू लगाएर आफूलाई सरुवा गरिएको डाक्टर केशवको जिकिर छ ।
कर्मचारीहरूको क्यान्टिन बन्द गरिदिएको, पटक–पटक गल्ती गर्दा नियत राखेर स्पष्टीकरण सोध्ने गरेको, डिउटी समय भन्दा बाहिर को–को सँग हिँडेको, ड्रेस नलगाउँदा गाली गरेको, (मेसु) ले काँग्रेस हुँ भनेर राजनीति गरेको जस्तो विषय उल्लेख गर्दै व्यवस्थापन समिति र मन्त्रालयमा निवेदन दिएर आफू विरुद्ध लागेको केशवको भनाई छ।
सोही निवेदनलाई आधार मानी केदार कार्कीले समेत प्रदेशका सम्बन्धित मन्त्रालय र राजनीतिक पहुँचमा आफूलाई (मेसु) बाट हटाउन रातदिन भूमिका खेलेको आरोप लगाएका डाक्टर केशवले भने ‘म मेसु हुँदा उहाँहरूले कतै ५० हजारको पार्टी खानु भएको रे । त्यो ५० हजार पैसा केदार कार्कीले तिरेको र मसँग त्यो पैसा माग्नु भएको हुँदा मैले म सहभागी नभएको, मलाई जानकारी नभएको पार्टीको खर्च तिर्दिन भनेको थिए’, सुनाउँदै डाक्टर श्रेष्ठले भने ‘मलाई यो विषयमा पटक–पटक टर्चर दिइरहेको थियो’ । मैले पैसा दिन सक्दिन र गल्ती गर्नहरुलाई कारबाही पनि हुन्छ भनेपछि कार्कीले २४ घण्टा भित्र सरुवा गर्दिन सकिने भने मेरो नाम पनि केदार हैन भनेर धम्की दिएपछि मेरो रातारात सरुवा भयो ।’
मन्त्रालयले डाक्टर श्रेष्ठको सरुवा गरेको पत्र ।
मेसु केशव श्रेष्ठ विरुद्ध तीन जनाले लेखेको निवेदन उपर प्रदेश मन्त्रालयले छानबिन समिति गठन गरी मन्त्रालयबाट उत्तम र सञ्जु रोए दुई सदस्य टोली समेत अस्पताल आएर प्रतिवेदन लगेको थियो । सो छानबिन समितिले छानबिन गरेकै राति डाक्टर श्रेष्ठको सरुवा भएको पत्र अस्पताललाई प्राप्त भएको अस्पताल प्रशासनको भनाई छ ।
निमित्त (मेसु) केशवको ठाउँमा मन्त्रालयले अमित शाह (अठौ तह) लाई हाजिर नै नगरी गाडी समेत दिएर कार्यालय पठाएको र उनी १ दिन हाजिर लगाएर भोलि आउने गरी सामानहरू समेत ल्याउनु पर्ने भन्दै सोही दिन फर्किएको बुझिएको छ ।
केही महिना अगाडि मात्रै यहाँ नियुक्ति लिएकी रमाले आफ्नो फाइदाको लागि साथीहरू सँग मिलेर आफूलाई फसाएको डाक्टर केशवको आरोप छ । उनी यहाँबाट राति ९ बजे आफ्नी छोरी र श्रीमतीसहित काठमाडौँ गएको र सोही दिन बिहान ९ बजे प्रदेश मन्त्रालयमा हाजिर गर्न आउनु पर्ने निर्देशन अनुसार हाजिर गर्न त्यहाँ पुगेको उनको गुनासो छ ।
किन यस्तो समस्या र विवाद्मा परे डा. केशव ?
डा. केशव श्रेष्ठ आठौँ तहका मेडिकल अधिकृत हुन् । प्रदेशले सञ्चालन गरेको जिल्ला अस्पतालमा कम्तीमा पनि नवौँ तहको मेडिकल अधिकृत कार्यालय प्रमुख हुने व्यवस्था छ । आठौँ तहका केशव १८ महिनादेखि रामेछाप अस्पतालमा निमित्त प्रमुखको जिम्मेवारीमा कार्य गर्दै आएका थिए । यो बिचमा प्रदेश सरकारले नवौँ तहको मेडिकल अधिकृतलाई रामेछाप अस्पताल पठाएको थियो । तर डा.श्रेष्ठकै कारणले नवौँ तहका अधिकृत यहाँ टिक्न नसक्ने भएपछि उनी विविध कारण देखाउँदै तत्कालै अस्पताल छाडेर गए ।
केशवको माथिल्लो तहमा राजनीतिक पहुँच र पावरको भरमा आफू कार्यरत रामेछाप अस्पतालमा माथिल्लो योग्यता भएका डाक्टरहरू पठाउन समेत रोक्ने गरिएको आरोप समेत खेपेका डाक्टर केशवले कार्यरत रहेको क्षेत्रमा नेपाली काँग्रेसको साथ पाएको बुझिएको छ । तर, राजनीतिक अस्थिरताको लाभ लिँदै आएका डा. श्रेष्ठ काँग्रेस, एमाले, माओवादी सबै पार्टीका नेताहरुकोमा पुग्दै ‘म तपाईँकै मान्छे हुँ’ भन्दै आफ्नो पदमा टिकी रहन खोजेको आरोप लाग्दै आएको छ ।
विगतमा अहिले आरोप लगाएकै व्यक्तिहरूको साथ लिएर जिम्मेवारी निर्वाह गर्दै आएका, रहँदै आएका डाक्टर केशवले केही विषयहरूमा कुरा नमिले कै कारण पछिल्लो अवस्था सिर्जना भएको बुझिएको छ । अस्पताल स्रोतका अनुसार डाक्टर केशवले आफू खुलेआम एक पार्टीको कार्यकर्ता हुँ भन्ने जसरी प्रस्तुत हुँदा सबैसँग मिलेर काम गर्ने स्वास्थ्यकर्मी/चिकित्सकहरूलाई राजनीतिक सङ्कट (अप्ठ्यारो) महसुर गरेको र त्यसको असर काममा देखिएको थियो ।
अस्पताललाई राम्रो बनाउने प्रयर्तन सकारात्मक भए पनि राजनीतिक विचार र आस्था कार्य शैलीमै प्रस्तुत गर्दा समस्या देखा परेको अस्पताल स्रोत बत्ताउँछ । ‘यसमा ती व्यक्तिहरूको पनि कमजोरी छ र डाक्टर केशवको पनि केही–केही समस्या छ ।’
आइतबार बिहान एका–एका सामाजिक संजालमा श्रेष्ठको भावुक सन्देशसहितको स्ट्याटसले स्तब्ध बन्न पुगेका सबै जना अपरान्ह्वमा डाक्टर श्रेष्ठ सकुशल भेटिएको सन्देश पछि खुसी साट्ने अवस्थामा पुगे । भने, अस्पताल प्रशासन र नाम उल्लेख गरेका व्यक्तिहरू भने थप प्रश्नको घेरामा घेरिए ? यसरी स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र अस्पतालमा स्वास्थ्यकर्मीहरूले खुलेआम रूपमा गरेको राजनीतिले त्यहाँका बिरामीहरू माथि गम्भीर लापरबाही भएको हो ।