आम मानिसको सोच र व्यवहारमा परिवर्तन नआए सम्म सरकारले गरेका कामको उपलब्धि देखिँदैन – नगर प्रमुख श्रेष्ठ

| असार ४, २०८२ बुधबार

A A A
A A A

४ असार, रामेछाप । मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले आम मानिसको सोच र व्यवहारमा परिवर्तन नआए सम्म सरकारले गरेको उपलब्धि नदेखिने धारणा राखेका छन् । ‘हामी समुदायले कार्यान्वयन गरेनौँ भने धेरै सरकार असफल, सरकारी निकायहरू असफल भएको महसुस भएको छ’ । मानिसहरूले सोचाइलाई सकारात्मक बाउन आवश्यक रहेकोमा जोड् दिँदै नगर प्रमुख श्रेष्ठले भने ‘सबैले विशेषण गरेर सुध्रिनु आवश्यक देखिएको छ।’

 

बुधवार मन्थलीको तीनलाल पार्कमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँको आयोजन र मन्थली नगरपालिकाको समन्वयमा भएको सीमान्तकृत तथा सेवाबाट वञ्चित समूहमा स्वास्थ्य प्रवर्द्धन सम्बन्धी सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले यस्तो धारणा राखेका हुन् । नगर प्रमुख श्रेष्ठले यो व्यवस्थाले केही दिएन गरेन भनेर भन्नुको सट्टा भएका परिवर्तनलाई मूल्याङ्कन गर्ने बेला भएको छ’ । 

 

सरकारको तर्फबाट सीमान्तकृत समुदायको लागि छुटाएको सेवा तथा सुविधा बारेमा बोल्दै नगर प्रमुख श्रेष्ठले पहुँच र पावरको आधारमा राज्यको सेवा सुविधाबाट वञ्चित हुनेहरूलाई जोड्दै लगिरहेको दाबी गरे । ‘यहाँका माझी समुदाय बजार क्षेत्रबाट नजिकै भए पनि केही तथ्याङ्कमा कम भए सेवा सुविधा लिएको देखिन्छ । तर, पनि अहिले यो सुधार हुँदै गएको छ ।’

सबैलाई समेट्न स्रोतको कमीको कारण केही जटिलता देखिए पनि स्थानीय सरकारले यसलाई हेरिरहेको उनको भनाई थियो । तर, आम मानिसहरूको सोचाई र व्यवहारमा परिवर्तन गर्न निकै कठिन विषय रहेको उल्लेख गर्दै उनीहरूको सोच र व्यवहारमा परिवर्तन नभए सम्म सोचेको उद्देश्य पूरा गर्न नसकिने बताए । 

 

नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेत, वडा नं ८ का अध्यक्ष एवं नगरका प्रवक्ता गोपाल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, आयोजक टेकुका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत गणेश श्रीकान्त, जनस्वास्थ्य अधिकृत अनुप अधिकारी, स्वास्थ्य शाखाका प्रमुख विष्णु बहादुर अधिकारी लगायत मन्थली नगरका स्वास्थ्य शाखा प्रमुख केशव फुयाँल, मन्थली  अस्पतालका ‍‍(मेसु) केशव धामीसहित नगरका स्वास्थ्य चौकी प्रमुख, विभिन्न विद्यालयका ‍‍(प्रअ), स्वयंसेविका लगायतको सहभागितामा भएको अन्तरक्रियामा स्वास्थ्य शिक्षा सुधारको लागि के गर्न सकिन्छ भन्ने विषयमा सुझावहरू समेत संकलन गरिएको थियो । 

 

साथै, हाल मन्थली नगर अन्तर्गत स्वास्थ्य क्षेत्रमा सीमान्त कृत समुदायलाई लक्षित गरी कसरी सेवा प्रवाह भइरहेको छ भन्ने विषयमा समेत जानकारी गराइएको थियो । आयोजकले प्राप्त सुझावलाई आगामी दिनमा माथिल्लो निकायबाट प्रवाह गर्न सकिने सेवा सुविधालाई थप गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।