रामेछापका दुई नगरपालिकाले आज नीति कार्यक्रम र बजेट ल्याउँदै, पालिकाहरूको भोलि, कुन पालिकाले कति बजेट ल्याउँदै ?

९ असार, रामेछाप । असार १० गते बजेट पेस गरिसक्नु पर्ने नीति एवं व्यवस्था अनुसार जिल्लाका स्थानीय तहहरू यति बेला बजेट ल्याउने तयारीमा होमिएका छन् । सोही अनुसार स्थानीय तहहरू आज (सोमबार) र भोलि (मंगलबार) सम्म बजेट पेस गर्ने तयारीमा रहेका छन् ।
सोमबार आज जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले र पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाले ‘१७ औँ अधिवेशन एवं नगर सभामा’ बजेट, नीति तथा कार्यक्रम पेस गर्दै छन् ।
आइतबार दुवै नगरले सार्वजनिक गरेको पत्रमा ‘सोमबारका दिन नगर सभाको हुने भएकोले नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका सबै वडा कार्यालयहरूबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाको नियमिततामा अवरोध हुने’ हुने भनिएको छ । अर्थात् सोमबार मन्थली र रामेछाप नगरले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम पेस गर्दै छन् ।
रामेछाप नगरकी उपप्रमुख बाल कुमारी थापा (कार्की) केही दिन अगाडि अप्रेसन गरेर अस्वस्थ रहेर पनि बजेट र नीति कार्यक्रममा सहभागी हुँदै छिन् । रामेछाप नगरले आज बिहान ११ बजे बस्ने बैठकमा आगामी नीति कार्यक्रम पेस गर्ने र त्यसपछि अर्को कार्यक्रममा बजेट सार्वजनिक गर्ने गरी तयारी भइरहेको उपप्रमुख कार्कीले बताइन् ।
त्यस्तै, मन्थली नगरपालिकाले पनि आजै आगामी वर्षको बजेट र नीति कार्यक्रम एकै पटक सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको उपप्रमुख ईश्वरी बस्नेतलाई जानकारी दिइन् ।
त्यस्तै उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी र दोरम्बा शैलुङ गाउँपालिकाले भोलि मंगलबार बजेट, आगामी नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ । गोकुलगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले भने ‘भोलि बजेट र नीति कार्यक्रम दुवै पेस ११ बजे बस्ने सभामा हुने छ ।’
त्यस्तै, लिखु तामाकोशी गाउँपालिका गत वर्षको भन्दा करिब ४ करोड हाराहारीमा बजेट घटाएर भोलि आगामी वर्षको लागि नीति तथा कार्यक्रम र बजेट एकै पटक सार्वजनिक गर्न लागेको वडा नं ६ खिम्तीका वडा अध्यक्ष शिव न्यौपानेले रामेछाप टाइम्ससंग बताए । ‘गत वर्षको भन्दा धेरै बजेट घटेको छ । ६० करोड हाराहारीमा बजेट र नीति कार्यक्रम भोलि सार्वजनिक हुन्छ ।’
दोरम्बा शैलुङ् गाउँपालिकाले पनि भोलि मंगलबारै आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट र नीति कार्यक्रम पेस गर्ने तयारी गरेको वडा नं ४ का वडा अध्यक्ष श्याम लाल घिसिङले रामेछाप टाइम्ससंग बताए । ‘आज बजेट टुङ्गिन्छ र भोलि सभा रहेको छ ।’ यो पालिकाले पनि अघिल्लो वर्षको तुलनामा बजेट घटाएर ल्याउन लागेको बुझिएको छ ।
त्यस्तै जिल्लाकै सबै भन्दा पहिले आगामी वर्षको नीति तथा कार्यक्रम शनिवारै ल्याएको सुुनापति गाउँपालिकाले मंगलबार बजेट पेस गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले बताए ।
हिजो कार्यपालिका बैठकबाट आगामी बजेट र नीति कार्यक्रम ल्याउने निर्णय खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ लाई आर्थिक क्रान्तिको वर्षको रूपमा अगाडि सारेर नीति तथा कार्यक्रम ल्याउन लागेको पालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले बताएका छन् ।
पहिलो वर्ष कृषि, दोस्रो वर्षलाई शिक्षाको वर्ष भन्दै आएका पालिका अध्यक्षले आगामी वर्षलाई आर्थिक क्रान्ति समृद्धिको वर्ष मानेर बजेट ल्याउने तयारी भइरहेको धारणा राखेका हुन् । गएको असार ५ गते नै नीति तथा कार्यक्रम ल्याउन लागेको यो पालिकाले पालिका अध्यक्ष अस्वास्थ्य भएपछि केही दिन पर सारेर बजेट ल्याउन लागेको हो ।
संघ र प्रदेश सरकारले पठाउने समपूरक अनुदानसहितका बजेट हत्तै घटाएर पठाएपछि आन्तरिक स्रोत न्यून भएका यहाँका पालिकाले पनि बजेट घटाएर सार्वजनिक गर्ने बाध्य छन् । पछिल्लो समय जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुँदै जानुले पनि यहाँको बजेट र नीति कार्यक्रमलाई प्रभाव पारेको जानकारहरू बताउँछन् ।
माथिबाट पठाउने रकम जनसांखिक विवरण लगायतका सूचकलाई आधारमानी पठाउँदा त्यसको असर देखिएको हो ।