रामेछापको टोकरपुरमा पहिरो : दुई वटा गाई पुर्यो, ४ घर पूर्ण जोखिममा

०९ असार, रामेछाप । रामेछापको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ३ टोकरपुरको च्यानखोलामा गए राति पहिरो जाँदा दुई वटा गाई सहितको एक गोठ पहिरोले पुरेको छ । भने, चार घर जोखिममा परेका छन् ।
गए राति करिब ११ बजेतिर गएको पहिरोले स्थानीय तेली सर्किनीको दुई वटा गाई पुरेको त्यहाँका स्थानीय धनबहादुर मगरले रामेछाप टाइम्सलाई बताए । ‘राति पहिलो जाँदा दुई वटा गाई पुगेको छ । एउटा घरको ढोकाहरू बाङ्गो भएर अडिएको अवस्था छ भने अरू तीन घर जोखिममा परेका छन् ।’
पहिरोले क्षति गरेको ठाउँमा एक बिहानै पालिका अध्यक्ष मैनकुमार मोक्तान, उपाध्यक्ष खमला थापा मगरसहित प्रहरी टोली पुगेर निरीक्षण गरिरहेको उनको भनाई छ ।
पहिरोबाट स्थानीय मुकेश सार्की, झपड बहादुर बसेल, तेली सर्कीनी र रत्न सार्कीको घर जोखिममा परेको मगरको भनाई छ ।
बर्खा सुरु भयसँगै जिल्लाका विभिन्न सडकहरू पहिरोले अवरोध गर्ने, गाउँ बस्ती जोखिममा पर्ने घटनाहरू बढ्दै जान थालेको छ ।