लिखु तामाकोशीमा जातीय छुवाछुतका घटना बग्रयल्तीः हुलाक कार्यालयमा ‘तल्लो जातलाई’ पस्न समेत दिइँदैन, मन्दिर उद्घाटन रोकियो

| असार १३, २०८२ शुक्रबार

A A A
A A A

१३ असार, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकामा जातीय छुवाछुतका घटना व्याप्त घटिरहेको पाइएको छ । त्यहाँका दलित जनप्रतिनिधि देखि सिङ्गो दलित समुदाय त्यसको प्रत्यक्ष मारमा रहेको पाइएको हो । अझ सरकारी कार्यालयमै छुवाछुतको भेदभाव राखी प्रवेशमा रोक लगाइएको सम्म गुनासो सार्वजनिक फोरममै दलित प्रतिनिधिले गरेपछि छुवाछुतको घटना घट्नुको सट्टा थप बढाउँदै लगेका हुनकी भन्ने गुनासो बढ्दै गएको छ । 

 

बिहीबार लिखु तामाकोशी गाउँपालिकाले आयोजना गरेको दलित समुदायको सवाल केन्द्रित साझा सवाल कार्यक्रममा बोल्दै त्यहाँका यादव दमाईले भने ‘मेरो घरछेउमा हुलाकको कार्यालय राखेको छ । तर् त्यहाँको घरबेटीले तल्लो जातको मान्छेलाई नहुल्नु भनेर कर्मचारीलाई भनेका छन् रे । हुलाक कार्यालयमा जान छिर्न पाइँदैन ।’

 

धोबी बजार नजिकै रहेको झट्टेश्वर मावि तर्फको एक श्रेष्ठ थर भएका व्यक्तिको घरमा भाडामा राखिएको उक्त हुलाक कार्यालय साँढे दुई तल्ले पक्की घरको टपमा राखिएको छ । यसरी सरकारी कार्यालयमै कथित ‘तल्लो जात’का मानिसलाई पस्न दिनु हुँदैन भनेर घरबेटीले कार्यालयका कर्मचारीलाई उर्दिनै गरेपछि केही समय अगाडि दुरागाउँबाट त्यस कार्यालयमा आएका दलित समुदायका सेवाग्राहीलाई बाहिरै राखेर सेवा दिइएको घटनाले सिङ्गो समुदायलाई चोट पुर्‍याएको प्रत्यक्षदर्शी दमाईले गुनासो गर्दै भने । 

राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, गाउँपालिका अध्यक्ष केशव महत, उपाध्यक्ष दीपा पाख्रिन, वडा नं १, ५, ६ नम्बरका वडाध्यक्ष एवं का.वा.अध्यक्षसहित ७ वटै वडाका दलित जनप्रतिनिधि, कार्यपालिका सदस्य र स्थानीयहरू लगाएतको उपस्थितिमा भएको साझा सवालमा बोल्दै उक्त घटनाको सत्य, तथ्य छानबिन गरी सरकारी कार्यालयमा भएको उक्त प्रकारको जातीय छुवाछुतको गम्भीर घटनालाई छानबिन गरी दोषीलाई कारबाही हुनु पर्ने माग समेत गरे । 

 

सोही कार्यक्रममा वडा नं ५ निवासी एक दलित समुदायकी युवतीलाई ‘जात थाहा हुँदा हुँदै’ ललाई फकाई ललितपुर जिल्लाका महर्जन थरका युवाले ७ वर्ष अगाडि विवाह गरेको दुई वटा बच्चा समेत भइसकेपछि अहिले दलित भएकै कारण घरनघाटको पारेर छोड्ने परिस्थितिमा पुगेको घटना सार्वजनिक गरिएको छ । उक्त परिस्थितिमा पुगेपछि आफूले अहिले आफूले नागरिकता समेत नहुँदा आफू र बच्चा दुवै भविष्य अन्धकार जस्तो बन्न पुगेको ती युवतिले गुनासो गरिन् । 

 

सोही पालिकाको वडा नं १ दुरागाउँका अन्दाजी २२/२५ वर्षीय विनोद विसुन्केले लाखौँ सरकारी बजेट खर्च गरेर निर्माण गरिएका मन्दिर दलित समुदायका मानिसहरू प्रवेश गर्छन् भन्ने मानसिकताकै कारण उद्घाटन समेत हुन नसकिरहेको प्रस्ट पारे । ‘लाखौँ खर्च गरेर मन्दिरहरू बनाइन्छ । सम्पन्न पनि भएका छन् । तर, उद्घाटनको बेलामा दलितहरू त्यो मन्दिरमा पस्छन्÷छिर्छन् भनेर उद्घाटन गर्नै नसकी रहेको अवस्था छ ।’ 

 

गाउँको थापाटार स्थित शिव मन्दिर दलित समुदायसहित अरू कोही पनि प्रवेश गर्न नपाइने । मात्रै पुजारी पसेर पूजा गर्ने सहमति भएपछि उद्घाटन गरिएको सुनाउँदै भने ‘हामी नपसुन भनेर । हामीले विरोध गर्छन् भन्ने थाहा पाएर पुजारी भन्दा कोही मन्दिर प्रवेश नगर्ने आइडिया लिएर उद्घाटन गरियो ।’

 

सोही कुरालाई सत्य र यथार्थ भएको पुष्टि गर्दै वडा सदस्य शर्मिला खुट्टेले भनिन् ‘राज्यको लगानीमा बनेका मन्दिरहरू हामीलाई रोकेर कसरी संचाल गरिँदो रहेछ भनेर मैले पनि धारणा राखेपछि उद्घाटनै रोकिएको अवस्था छ ।’ 

 

दलित समुदायमाथि हुने आपराधिक घटनाहरू कानुन र संविधानमा मात्रै रोकिएको तर व्यवहारमा त्यो नरोकिएको भन्दै दलित जनप्रतिनिधिहरू ले नै गुनासै गुनासो गरे । प्रहरी, प्रशासनमा समेत दलितका घटनाहरूलाई प्राथमिकतामा अझै पनि पर्न नसकिरहेको गुनासो गर्दै सरोकारवालाहरूले निमन्त्रणा गरेर पनि प्रमुख जिल्ला अधिकारी (जिल्ला प्रशासन) साझा सवालमा नआउनुले दलित समुदायमाथिको गम्भिर्यता छैन भन्ने कुरालाई प्रमाणित गरेको सो कार्यक्रमले ठहर गरेको थियो । 

 

सोही कार्यक्रममा वक्ताको रूपमा उपस्थित रहेका इलाका प्रहरी कार्यालय धोबीका प्रहरी निरीक्षक विक्रम खड्का मगरले जातीय छुवाछुत भएका जस्तो सुकै उजुरी आएमा आफूहरू दोषीलाई कारबाही गर्न लाग्ने प्रतिबद्धता व्यक्त गर्दै हाल सम्म त्यस्तो कुनै पनि लिखित उजुरी नआएको बताए । 

 

उता राष्ट्रिय दलित आयोगका सदस्य पुर्कुटीले जातीय छुवाछुत गम्भीर अपराध भएकाले त्यस्ता घटनालाई स्थानीय सरकार, प्रहरी, प्रशासनले गम्भीरता पूर्वक लिइदिन निर्देशन गरे ।