रामेछापको रस्नालुको दुई खानेपानीमा भेटियो ‘कोलिफर्म’, सकेसम्म नपिउन पालिकाको अपिल

१४ असार, रामेछाप । रामेछापको रस्नालुमा प्रयोग गर्दै आइरहेका दुई वटा पानीका मुहानको पानी पिउन अयोग्य भएको पाइएको छ । गोकुलगंगा गाउँपालिकाको वडा नं ३ साबिक वडा नं ३ र ९ मा केही दिन यता भाडापखालका बिरामीको सङ्ख्या बढ्दै गएपछि गरिएको पानी परीक्षणबाट पानीमा पिउन अयोग्य ब्याक्टेरिया भएको पुष्टि भएको पालिकाले जनाएको हो । पानीमा पिउन अयोग्य तत्त्व भेटिएपछि गाउँपालिकाले सकेसम्म पानी नपिउन र प्रयोग गर्नै परे राम्रोसँग उमालेर मात्रै प्रयोग गर्ने आग्रह गरेको छ ।
पालिकाले शनिवार सार्वजनिक गरेको सूचना अनुसार निगाले पोखरी–१ र निगाले पोखरी–२ को पानीमा फ्यासी कोर्लिफर्म (Faccl Coliform E-Coli (CFU / 100ml) पाइएको पुष्टि भएको उल्लेख छ । पानीमा बिषक्त तत्त्व भेटिएपछि उक्त पानी सकेसम्म नपिउन र पिउनै परे मज्जाले उमालेर मात्रै पिउन पालिकाले आग्रह गरेको छ ।
यही असार ११ गते गाउँमा झाडापखालाका बिरामी बढ्दै गएपछि गाउँपालिकाले पानीमा संक्रमण हुन सक्ने आशंका गर्दै हाइड्रो, कोट खोला र फाप्सु धारा मुहानको पानी जाँचको लागि नमुना संकलन गरी जनस्वास्थ्य कार्यालय काभ्रेपलान्चोकको पठाएको थियो । उक्त परीक्षणको क्रममा निगाले पोखरी च्वाईस नेपाल–१,निगाले पोखरी च्वाईस नेपाल –२ मुहानको पानीमा ब्याक्टेरिया भएको पुष्टि भएको हो ।