एसइई परीक्षा : रामेछापका झण्डै ७३ प्रतिशत विद्यार्थी सबै विषयमा पास, २.८१ देखि ३.२० जिपिए ल्याउने सबै भन्दा धेरै

| असार १५, २०८२ आइतबार

A A A
A A A

१५ असार, रामेछाप । गएको शुक्रवार साँझ प्रकाशित भएको गत वर्ष २०८१ को एसइई परीक्षामा रामेछापबाट परीक्षा दिएका मध्ये झण्डै ७३ प्रतिशत सबै विषयमा उत्तीर्ण भएका छन् । अर्थात् माथिल्लो कक्षामा भर्ना हुन पाउने गरी अङ्क ल्याएका हुन् । यो अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार भएको नजिता भनिएको छ ।  

 

गत वर्षको चैत्र १५ गतेदेखि भएको एसइई परीक्षामा रामेछापबाट ग्रेड वृद्धिसहित एक हजार पाँच सय १२ जना छात्रा  र एक हजार दुई सय ३५ जना छात्र गरी कूल दुई हजार सात सय ८० जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए । जसमा एक हजार ६ सय ७१ जनाले पूर्ण उत्तीर्ण एवं सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । अर्थात् ७२.३७ प्रतिशत उत्तीर्ण भएका छन् । 

 

भने, ६ सय ३८ जनाले एनजी अर्थात् इनकम्पिलिट् नजिता प्राप्त गरेका छन् । यो भनेको २७.६३ प्रतिशत रहेको छ । यसरी पूर्ण उत्तीर्ण र एनजी ल्याउनेसहित रामेछापका कूल दुई हजार तीन सय ९ जना विद्यार्थीको नजिता राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले सार्वजनिक गरेको देखिन्छ । यो तथ्याङ्क ग्रेड वृद्धि नियमित परीक्षा दिनेहरूको मात्रै हो । 

 

रामेछापबाट ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २१३ जना, ३.२१ जिपिए देखि ३.६० जिपिए ल्याउनेको सङ्ख्या ४८६ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापले रामेछाप टाइम्सलाई बताएको छ । 

 

त्यस्तै, सबै भन्दा धेरै २.८१ जिपिए देखि ३.२० जिपिए सम्म ल्याउनेको सङ्ख्या धेरै अर्थात् ६ सय ८१ जना रहेका छन् । देशकै नमुनाको रूपमा रहेको डहू मावि डहुसहित मन्थली स्थित सरकारी क्षेत्रको सबै भन्दा अब्बल दाबी गरिएको मन्थली मावि लगायतका दूर दराजका विद्यालय समेतको नतिजालाई हेर्दा यो वर्ष एक जना पनि विद्यार्थी उत्तीर्ण नगराउने विद्यालय नदेखिएको शिक्षा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले रामेछाप टाइम्ससंग बताए । ‘यो वर्ष एक जना पनि पास नगराउने विद्यालय नभएको हामीलाई जानकारी छैन ।’ 

 

त्यस्तै, २.४१ जिपिए देखि २.८० जिपिए ल्याउने विद्यार्थी सङ्ख्या २८२ जना रहेको राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०‌) ले पठाएको विवरणमा रहेको शिक्षा समन्वय इकाई रामेछापले भनेको हो । सबै भन्दा न्यून अङ्क २.०० जिपिए देखि २.२४ जिपिए सम्म ल्याउने ९ जना रहेका छन् । उनीहरूले माथिल्लो कक्षा भर्ना भएर पढ्न पाउने गरी अङ्क ल्याएका हुन् । 

 

विगतको वर्षहरू जस्तो एक जना पनि विद्यार्थी उत्तीर्ण नगराउने विद्यालय यो वर्ष नदेखिएको बुझिएको हो । तर, गाउँ–गाउँका केही विद्यालयको नतिजा अझै पनि कमजोर आएको सरोकारवालाहरू बताउँछन् । स्थानीय सरकारले समेत ठुलो लगानी शिक्षा क्षेत्रमा गरेको भए पनि त्यसको सन्तोष जनक नतिजा अझै प्राप्त हुन नसक्नु दुःखद पक्ष रहेको छ । 

 

एक दर्जन बढी निजी तथा सामुदायिक विद्यालयहरूले शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको जानकारी प्राप्त भएको हो।