एसइईमा ‘जिल्ला टप गर्ने’ छात्रा श्रेष्ठलाई निवासमै गएर काँग्रेस रामेछापले गर्‍यो नगदसहित सम्मान

| असार १८, २०८२ बुधबार

A A A
A A A

१८ असार, रामेछाप । गएको २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जिल्लामै उत्कृष्ट नतिजा ल्याएर जिल्ला ‘टप’ गर्ने छात्रा सफिना श्रेष्ठलाई नेपाली काँग्रेस रामेछापले सम्मान गरेको छ । नेपाली काँग्रेस रामेछापका सभापति तथा प्रतिनिधिसभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले सरकारी विद्यालयमा पढेर मध्यम वर्गीय परिवारकी छात्रा श्रेष्ठले सर्वोत्कृष्ट नतिजा ल्याएपछि उनलाई घरमै पुगेर नगदसहित सम्मान गरिएको हो । 

 

मन्थली माध्यमिक विद्यालयमा अध्ययनरत श्रेष्ठले ४.०० जिपिए ल्याएर रामेछाप जिल्लामा शीर्ष स्थान हासिल गरेकी थिइन् । उनको यस उपलब्धिलाई प्रेरणादायी ठहर गर्दै नेपाली काँग्रेस रामेछापले विशेष सम्मान गरेको हो । 

 

सभापति तामाङ पार्टीका उपसभापति तथा कार्यवाहक सभापति लेखबहादुर कार्की, जिल्ला समन्वय समितिकी प्रमुख तथा नेतृ चिना खड्का कार्की, नेता सुरेश सुवेदी, नेविसंघ जिल्ला अध्यक्ष विनोद बुढाथोकी, उपसभापति विमल पौडेललगायतको टोलीसहित छात्रा श्रेष्ठको निवासमा सम्मान पत्र र नगद बोकेर पुगेका हुन् । 

 

सम्मान कार्यक्रममा सफिनालाई नगदसहित प्रमाणपत्र प्रदान गर्दै सांसद तामाङले भने ‘तपाईँको मेहनत र सफलताले सम्पूर्ण जिल्ला गर्वित भएको छ’ उच्च शिक्षाका लागि आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता दोहोर्‍याउँदै पछिल्लो समयमा लोकप्रिय बन्दै गएका सांसद एवं सभापति तामाङले ‘किताबलाई साथी बनाउँदै अझ अगाडि बढ्न सर्वोत्कृष्ट छात्रालाई हौसला प्रदान गरे । 

 

त्यस्तै, नेतृ चिना खड्का कार्कीले सफिनाको सफलताले समग्र जिल्लाकै शैक्षिक प्रतिष्ठा बढाएको उल्लेख गरिन्। नेविसंघका अध्यक्ष बुढाथोकीले विद्यार्थीहरूलाई नियमित मेहनत र अनुशासनले सफलतातर्फ लैजान प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याए।

 

सम्मानित छात्रा सफिना श्रेष्ठले आफ्ना अभिभावक, शिक्षक तथा विद्यालय परिवारलाई धन्यवाद दिँदै भविष्यमा राष्ट्रका लागि योगदान दिने जिम्मेवार नागरिक बन्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, उच्च शिक्षाको लागि काठमाडौँका विभिन्न कलेजहरूले आफूलाई आउन सम्पर्क गरिरहेको सुनाइन् ।