सांसद कान्छारामको अडानः ‘रामेछापको विकास गर्न जबसम्म बजेट ‘राम्रो’ छुट्टिँदैन तबसम्म बोल्छु, पदमा रहँदा पनि नरहँदा पनि’ (भिडिओसहित)

| असार १८, २०८२ बुधबार

A A A
A A A

१८ असार, रामेछाप । प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको २०८२/०८३ को लागि बजेट पेस लगत्तै आफ्नो जिल्लामा विकास बजेट नपरेपछि जनताको तर्फबाट भन्दै बहालवाला मन्त्रीहरू प्रति आक्रामक रूपमा प्रस्तुत हुँदै जनताको आवाज ओकलेका रामेछापबाट निर्वाचित सांसद पूर्णबहादुर तामाङले गृह जिल्लामा आएर पत्रकार सम्मेलन गरी जिल्लाको बृहत्तर विकास गर्ने गरी बजेट ल्याउन नसकेको भन्दै आम मतदातामा माफी मागेका छन् । पत्रकार सम्मेलनमा बोल्दै सांसद तामाङले भने ‘मैले रामेछापको विकास गर्न भनेर जुन बाचा गरेको थिए । त्यो बाचा पूरा गर्नको लागि आवश्यक बजेट ल्याउन सकिन’, अब त मलाई फिल्डमा गएर यो गर्छु त्यो गर्छु भन्न पनि नसक्ने जस्तो अनुभूति गरेको छु ।’

 

बहालवाला ‘पावरफूल’ मन्त्रीहरूलाई जनताको माग अनुसारको धारणा र गहकिला तर्क गरी जनताको मनमा बसेका नेता कान्छारामले आफू रामेछापको विकासको लागि तल्लीन रहेको तर बजेट नपारिदिएर त्यो सपना अधुरै रहने अवस्थामा पुगेको बताए । ‘जसरी हुन्छ रामेछापका जनताको समृद्ध रामेछाप, सुखी रामिछापेली बनाउने मेरो सपना छ । त्यो पदमा रहेर होस् या नरहेर ।’

 

देशको पछिल्लो राजनीतिक अवस्था देखि बजेट निर्माण र बजेटको कार्यान्वयन तह सम्मका विषयमा आफ्नो धारणा प्रस्ट राखेका सांसद तामाङले चार पृष्ठमा रामेछापमा संघीय र प्रदेश दुवै सरकारले छुटाएका बजेटको पूर्ण विवरण समेत सार्वजनिक गरेका थिए । कार्यवाहक प्रधानमन्त्री एवं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह अन्तर्गतको मन्त्रालयले गोर्खा जिल्लामा विनियोजन गरेको बजेट समेत रामेछाप जिल्लालाई छुटाइएको भन्दै झुट्टा विवरण संसद् जस्तो गरिमामय सभामा प्रस्तुत गरिएकोमा असन्तुष्टि जनाएका सांसद तामाङले रामेछापको विकासको लागि आगामी वर्षको लागि जम्मा १० करोड हाराहारीमा बजेट विनियोजन गरिएको प्रस्ट पारे । 

 

निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री समेत रहेका सांसद तामाङले पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणमा भनिएको छ ‘सहरी विकास मन्त्रालयको रातो किताब बमोजिम आ. व. २०८२/०८३ मा रामेछाप जिल्लाका लागि विनियोजित बजेट शीर्षक सङ्ख्या ५७ छन्। जसमध्ये पुरानो क्रमागत तथा दायित्व भुक्तानी गर्नुपर्ने २६ वटा योजना अन्तर्गत रु ५५ करोड ७८ लाख रहेको छ। नयाँ ३१ वटा योजना अन्तर्गत रु ९ करोड ५१ लाख ८० हजार मात्र विनियोजन भएको देखिन्छ।’

सहरी विकास मन्त्रालय अन्तर्गत रामेछाप जिल्लामा पुरानो क्रमगत र नयाँ योजना समेत गरी रु ६५ करोड २९ लाख रकम बराबरको योजना पारिएको प्रस्ट पार्दै  उप प्रधानमन्त्री सिंहले प्रतिनिधि सभामा प्रस्तुत गरेको ८४ करोडको विवरण झूटो रहेको सांसद तामाङले जिकिर गरे । यस्तो नगण्य र अन्यायपूर्ण बजेट वितरण कै कारण आफू असन्तुष्ट बन्न बाध्य भएको सांसद तामाङको प्रस्टोक्ति छ । 

 

रामेछापका लागि विकास बजेट नछुट्टिएर आफूलाई चिन्ता लागेको कारण कहिन कहिँत बोल्नु पर्ने विचार सहित संसद्मा आफूले बोलेको प्रस्ट पारेका नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका सांसद तामाङले राज्य मन्त्री पदबाट बर्खास्त गरिँदाको आक्रोश भन्दै विरोधीहरूले हल्ला फिँजाएको बताए । ‘यस्ता आरोप काम नगर्ने र रामेछापको विकास विरोधीहरूले गर्ने हो । मलाई मन्त्री पदबाट हराएर साह्रै राम्रो गरेको भन्नै मलाई लागेको छ । मन्त्री हुँदा बोल्न नपाइने । हिँड्न नपाइने । अहिले म साह्रै खुसी छु ।’

 

आफूलाई मन्त्री पद गुमाएको आक्रसो हो भन्नेहरू रामेछापको विकासका विरोधी भएको सांसद तामाङको जिकिर छ । यो वर्ष बजेट ल्याउन नसकेकोमा चिन्ता व्यक्त गरेका सांसद तामाङले आगामी वर्षको बजेट ल्याउनको लागि हिउँदे अधिवेशन सुरु भएदेखि नै हाउसमा आवाज उठाउने उनको भनाई छ । ‘यो वर्षत यस्तै भयो । तर अर्को वर्षको लागि म संसद् सुचारु भए देखिनै बोलेको बोलै गर्छु । रामेछापमा विकास बजेट राम्रो नछुट्टिउन्जेल बोल्छु’ । 

 

आगामी वर्षको लागि आफ्नो नेतृत्वमा गोकुलगंगाको चुचुरेमा बजार व्यवस्थापनको लागि ३ करोड, दोरम्बामा सडकको लागि ३ करोड लगाएका विभिन्न ठाउँमा गरी २० करोड हाराहारीमा बजेट ल्याएको सुनाएका सांसद तामाङले सत्ता र शक्तिमा हुनेहरूको हालीमुहालीले दूर दराजका जनताले छुटे र अनुभूति गर्ने गरी बजेट नबनेको जिकिर गरे ।  

 

यो हेर्नुहोस् रामेछापमा आगामी वर्षको लागि विनियोजित बजेटको पूरा विवरण ।