साउनमा ८ वटै पालिका पुगेर राष्ट्रिय परिचय पत्र वितरण गर्दै रामेछाप प्रशासन, सिडिओले भने घुम्ने मुड् नबनाउनु’ (भिडिओसहित)

२७ असार, रामेछाप । आगामी आर्थिक वर्ष २०८२/०८३ मा सरकारी काम काजको लागि अनिवार्य गर्ने भनिएको राष्ट्रिय परिचय पत्र वितरण प्रक्रियालाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय रामेछापले गाउँ–गाउँ गएर वितरण गर्ने तयारी थालेको छ । चालु आर्थिक वर्षको अन्य सँगै केही फुर्सदिलो समयको सदुपयोग गर्दै प्रशासनको टोली आठ वटै पालिका पुगेर परिचय पत्र वितरण गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी (सिडिओ/प्रजिअ) श्याम कृष्ण थापाले जानकारी दिएका हुन् ।
बिहीबार जिल्ला प्रशासन रामेछापको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला थापाले भने ‘हामी अब साउन देखि गाउँ–गाउँमा गएर राष्ट्रिय परिचय पत्र वितरण गर्छौँ ।’
आफू जिल्ला आएदेखि सरकारी गाडी संचालनमा कडाइ गराइएको र नियमित कामहरूलाई थप नागरिक मैत्री गरिएको दाबी सहित (प्रजिअ) थापाले राज्यको तर्फबाट प्रदान गर्ने सेवाहरूलाई चुस्त, दुरुस्त र सेवाग्राही मैत्री बनाउन समेत मातहतका निकायलाई निर्देशन दिए ।
सरकारी कार्यालयहरूले स्वतः प्रकाशन गर्नु पर्ने सूचना प्रकाशन नगर्ने र सूचना अधिकारी समेत नतोक्ने कार्यालयहरू प्रति आगामी आर्थिक वर्षदेखि कारबाही गर्ने सम्मको चेतावनी दिँदै विभिन्न पालिकाहरू सँग समन्वय र सहकार्य गर्दै आगामी सार्वजनिक सुनुवाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए ।
सेवा प्रवाहको हिसाबले रामेछाप प्रशासन देशभरकै ‘टप५’ भित्र परिरहेको सुनाउँदै आगामी दिनमा उत्कृष्ट कार्यलाई प्राथमिकतामा राखिएको जानकारी दिए । विपद् जन्य घटनाहरू जुनसुकै बेला पनि घटना सक्ने तर्फ आफूहरू सचेत रहेकाले साउनमा फुर्सदिलो भइयो भनेर बाहिर जाने, घुम्ने मनसायबाट परै रहन समेत कर्मचारीहरूले उनले निर्देशन दिए ।