रामेछाप नगरपालिकाले दूधजन्य उत्पादन बढाउँदै किसानलाई आत्मनिर्भर बनाउन ६७ वटा भैँसी किसानलाई दियो

| असार २८, २०८२ शनिबार

AI द्वार निर्मित काल्पनिक तस्बिर ।
A A A
A A A

२८ असार, रामेछाप । जिल्ला पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाले नगरभित्र दूधजन्य पदार्थको उत्पादन बढाउँदै किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले झण्डै ७० वटा भैँसी हस्तान्तरण गरेको छ । आगामी वर्षबाट नगरमा किसानहरूले दूधजन्य पदार्थको उत्पादन बढाउँदै आत्मनिर्भर उन्मुख हुने विश्वास नगरपालिकाको छ । 

 

शनिवार चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो एवं अन्तिम सार्वजनिक सुनुवाइ तथा प्रगति समीक्षा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँले प्रस्तुत गरेको चालु आर्थिक वर्षको पशुपन्छी तथा मत्स्य विकास शाखाको प्रगति प्रतिवेदनमा भैँसी र बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत १५ वटा भैँसी र २ वटा राँगा, पशुपालन प्रवर्द्धन कार्यक्रम मार्फत १६ वटा भैंसी र गाई,भैँसी प्रवर्द्धन कार्यक्रममा ५० प्रतिशत लागत साझेदारी अन्तर्गत ३७ वटा भैँसी खरिद गरी कूल ६७ वटा भैंसी किसानहरूको गोठ–गोठमा पुगिसकेको जानकारी गराए । उनले भने ‘हामीले भैँसी प्रवर्द्धन कार्यक्रम मार्फत किसानलाई बाहिरबाट उन्नत जातको भैँसी किनेर ल्याउनु पर्ने र त्यसको बिमा गर्नु पर्ने र सो बिमा बराबरको रकम उपलब्ध गराएका छौँ ।’ उत्पादनमा आधारित दूधमा प्रोत्साहन अनुदान (बागमती प्रदेश) कार्यक्रम मार्फत पनि भैँसी प्रवर्द्धन कार्यक्रमलाई सहयोग रहेको सुनाउँदै कूल ६७ वटा भैँसी चालु आर्थिक वर्षको कार्यक्रम अनुसार वितरण गरिएको प्रस्ट्याउँदै आगामी वर्षबाट नगरमा दूध उत्पादनमा वृद्धि हुने विश्वास समेत व्यक्त गरे । 

 

भैँसी प्रवर्द्धन कार्यक्रमलाई केही व्यक्तिहरूले विवादित बनाउने प्रयास गरेको सुनाउँदै यो कार्यक्रम अहिले भने सफल भएको प्रमुख प्रशासकीय अधिकृतको तर्क छ । 

विगत देखि ‘दही मही खाउँः कोल्डिङ्स भगाउ’ जस्ता नारा अगाडि सार्दै आएको यो नगरले दूध उत्पादन गर्ने किसानलाई अहिले पनि प्रति लिटर २ रुपैयाँको दरले उत्पादनमा आधारित अनुदान हस्तान्तरण गर्दै आएको नगर प्रमुख लवश्री न्यौपानेले बताए । सुख्खा क्षेत्र यो पालिकामा आगामी वर्षको कार्यक्रममा डाले घाँस, किसानलाई आवश्यक गोठ सुधार लगायतका कार्यक्रमहरू राखिएको बताउँदै नगर प्रमुख न्यौपानेले यो आ.व.मा बाहिरबाट ६७ वटा भैँसी भित्रिएको बताउँदै यसले नगरका केही किसानहरूको उत्पादनमा वृद्धि हुँदै आम्दानीको स्रोत बढ्ने विश्वास व्यक्त गरे।  नगर प्रमुख न्यौपानेले चालु आर्थिक वर्षमा नगरले अगाडि सारेका योजनाहरूको बारेमा बताउँदै भइरहेका विकास निर्माण र नागरिकहरूको गुनासोलाई समेत सम्बोधन गरे । 

सोही कार्यक्रममा बोल्दै उपप्रमुख बाल कुमार थापा (कार्की) ले नगरका शाखाहरूको सेवा प्रवाह सहित विविध विषयमा नागरिकरहरुले राखेका जिज्ञासा बारे बोल्दै विकास क्रमिक रूपमा भइरहेको धारणा राखिन् । तीन पुस्ताको मिश्रणमा अहिलेको समय रहेकाले सन्तुष्ट हुने गरी विकास गर्न नसकिएको स्वीकार गरिन् । तर, विकास भने निरन्तर भइरहेको उनको भनाई छ । 

 

नगरपालिकाको सभा हलमा भएको सार्वजनिक सुनुवाइमा वडा अध्यक्षहरूसहित विभिन्न राजनीतिक दलका नेता, पत्रकारहरूसहितको उपस्थिति रहेको थियो । सो कार्यक्रममा चालु आर्थिक वर्षमा अनुमानित कुल बजेट रु ७६ करोड ८८ लाख ६९ हजार ५५१ मध्ये रु६३ करोड ८७ लाख ६१ हजार ८४५ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईँले जानकारी गराए । यो अनुमानित कुल बजेटको करिब ८३‍.७ प्रतिशत मात्र खर्च गरेको हो  ।