रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघ मनायो २७ औँ स्थापना दिवस : अध्यक्ष दाहालले भने ‘सहकारीहरू संस्थागत रूपमै क्षमतावान् भएर अहिलेको चुनौतीलाई चिर्नु पर्छ’

३० असार, रामेछाप । रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघले सोमबार २७ औँ स्थापना दिवस मनाएको छ । संघले जिल्ला सदरमुकाम मन्थली स्थित दुई अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरी स्वास्थ्य लाभको कामना गर्दै स्थापना दिवस मनाएको हो ।
२०५५ साल असार ३० गते जिल्लामा सञ्चालनमा आएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूको संस्थागत विकास गर्ने उद्देश्यले स्थापना भएको संघले २७ औँ वर्ष सम्म आइपुग्दा यहाँका सहकारी संस्थाहरूको प्रवर्द्धन, बहस, पैरवी, क्षमता विकास जस्ता विविध पक्षमा सकारात्मक र रचनात्मक कार्य गर्दै आइरहेको संघका अध्यक्ष जगन्नाथ दाहालले बताए । संघको स्थापना दिवसको अवसरमा संघमा आबद्ध सदस्य सहकारी संस्थाहरूमा शुभकामना दिँदै अध्यक्ष दाहालले वर्तमान अवस्थामा सहकारी महत्त्वपूर्ण र चुनौती पूर्ण वातावरणमा रहेको उल्लेख गर्दै संघले ती चुनौतीहरूलाई चिर्नको लागि सहकारीहरूको संस्थागत विकासमा जोड् दिएको धारणा राखे ।
रामेछाप टाइम्ससंग कुरा गर्दै अध्यक्ष दाहाल भने ‘अब हामी संस्थागत रूपमै बलियो र सक्षम कर्म गर्दै सहकारी प्रति खडा भएको भाष्यलाई सकारात्मक कदमबाट चिर्नु पर्छ ।’
वर्तमान अवस्थामा सहकारीको भूमिका निकै महत्त्वपूर्ण रहेको धारणामा जोड् दिएका सहकारी अभियन्ता कै रूपमा परिचित दाहालले आगामी दिनमा संघले सहकारीहरूको संस्थागत सुशासनलाई केन्द्रित गर्दै सहकारी अभियानमा लागेका सबैलाई एक ठाउँमा जोड्ने र उनीहरूको क्षमता विकासमा लाग्ने प्रतिबद्धता जनाए ।
केही वर्ष अगाडि संघमा एक सय ७५ वटा सहकारी संस्था संघमा आबद्ध रहेका थिए । तर, निष्क्रिय रहेको भन्दै ७५ वटा भन्दा बढी सहकारीहरूलाई संघले सदस्यताबाट हटाएपछि यति बेला करिब ९६ वटा सहकारी संस्थाहरू मात्रै संघको सक्रिय सदस्यको रूपमा रहेको संघकी व्यवस्थापक एवं कर्मचारी रमा श्रेष्ठले रामेछाप टाइम्सलाई बताइन् ।
संघले २७ औँ स्थापना दिवसको मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरी स्मरणीय रूपमा मनाएको सुनाउँदै संघका सञ्चालकहरू बिच पनि संघलाई थप व्यवस्थित तरिकाले अगाडि बढाउने विषयमा छलफल भएको व्यवस्थापक श्रेष्ठले जानकारी दिइन् ।