एक आर्थिक वर्षमा रामेछाप नगरपालिकाले २८३ जनाको स्वास्थ्य बिमा र १९ जनाको मोतिया बिन्दुको अप्रेसन निःशुल्क गरिदियो

३० असार, रामेछाप । रामेछाप नगरपालिका चालु आर्थिक वर्ष २०८१÷०८२ मा २ सय ८३ जना नगर बासीको निःशुल्क स्वास्थ्य बिमा गराएको छ । नगरपालिकाले शनिवार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रगति समीक्षा विवरणमा नगरका सबै वडाका ६० वर्ष माथिका दलित र ६५ वर्ष माथिका ज्येष्ठ नागरिक कूल २ सय ८३ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको विवरण उल्लेख छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईँले सार्वजनिक गरेको उक्त विवरणमा भनिएको छ ‘स्वास्थ्य शाखा: सबै वडाहरूका लक्षित वर्ग ६० वर्ष माथिका दलित तथा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरू २८३ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ ।’
त्यस्तै,महिलासँग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाका ९ वटै वडाहरूमा २२३ जना सुत्केरी महिलाहरूलाई हाईजिन किट तथा घिउ र तेल वितरण गरिएको, विभिन्न स्वास्थ्य शिविरहरूमा १५८ जना सेवाग्राहीहरूलाई भिडियो ए–क्सरे, भिआईए परीक्षण आँखा परीक्षण प्रयोगशाला तथा अन्य सेवा उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत चापागाईँले प्रस्ट पारे ।
गएको ०८१ साउन देखि ०८२ असार मसान्त सम्म आइपुग्दा नगर भित्रका ९७ जना गर्भवती महिलाहरूका लागि विभिन्न प्रसूतिजन्य सेवाका लागि बर्थिङ सेन्टर सम्म आउन/जान तथा रेफर गर्दा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको, १६ जना क्षयरोगी बिरामीहरूका लागि उपचार सहयोग गर्न पौष्टिक प्याकेज प्रदान गरिएको नगरकी उपप्रमुख बाल कुमारी कार्कीले जानकारी दिइन् ।
नगर बासीको स्वास्थ्यलाई आफूहरूले निकै महत्वका साथ हेरिरहेको बताउँदै नरपालिका प्रमुख लवश्री न्यौपानेले वैशाख ३१ गते देखि जेठको ६ गते सम्म सबै वडामा पुगेर गरिएको निःशुल्क आँखा परीक्षण शिविरबाट ६०६ जनालाई आँखाको सेवा प्रदान गरिएको बताए ।
उक्त शिविरबाट २५७ जनालाई निःशुल्क चस्मा वितरण तथा ४३ जना आँखाको मोतिया बिन्दीको पहिचान गरी १९ जनालाई निःशुल्क मोतीबिन्दुको अपरेसन गर्न पहल समेत भइरहेको प्रमुख प्रशासकीय अधिकृत चापागाईँले सुनाए । उनले भने ‘केही उहाँहरूकै समस्यालेे जानु भएको छैन । नत्र हामी मोतिया बिन्दु देखिएकाहरूलाई निःशुल्क अप्रेसन समेत गर्न सबै काम भएको छ ।’