गएको आर्थिक वर्षमा रामेछाप प्रहरीले १०४ जना ‘अपराधी’ पक्र्यो, ६६ जना मानिस हराए ६३ जना फेला

७ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय गत आर्थिक वर्ष ०८१÷०८२ मा विभिन्न घटना÷अपराधमा संलग्न १०४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका १०४ जनाबाट ४६ लाख ३९ हजार १७३ रुपैयाँ जरिवाना असुलेको छ ।
बुधवार गएको आर्थिक वर्ष २०८१/०८२ मा जिप्रकाले सम्पन्न गरेका मुख्य–मुख्य कार्य पत्रकारहरूलाई उपलब्ध गराउँदै जिप्रकाले एक आर्थिक वर्षमा १०४ जनालाई पक्राउ गर्दै उनीहरू विरुद्ध ३१ वर्ष ११ महिना १० दिन कैद तोकाउन सफल भएको जानकारी दिएको हो ।
सो आर्थिक वर्षमा विभिन्न घटना एवं आपराधिक क्रियाकलापका १ सय ७० वटा ठाडो निवेदन दर्ता भएको मध्ये ७५ वटा फर्चौट गरिएको र ९५ वटा बाँकी रहेको जिप्रकाका सूचना अधिकारी एवं प्रवक्ता कौशल न्यौपानेले बताए ।
मानिसहरू बेपत्ता हुने एवं हराउने व्यक्तिहरूको संख्या निकै बढेको भन्दै जिल्लावासीले चिन्ता व्यक्त गरेको सो आ.व.मा महिला, बालबालिका, वयस्क र ज्येष्ठ नागरिकसहित कूल ६६ जना व्यक्ति सम्पर्क विहीन भएको भन्दै खोजी दिन आग्रह गरिएको तथ्याङ्क सार्वजनिक गर्दै जिप्रका रामेछापले ६३ जना विभिन्न अवस्थामा सकुशल र मृत अवस्थामा फेला पारिएको बताएको छ । हाल सम्म ३ जना फेला नपरेको तथ्याङ्क सार्वजनिक गरेको रामेछाप प्रहरीले विभिन्न संयन्त्र प्रयोग गरी उनीहरूको खोजी भइरहेको दाबी गरेको छ ।
‘प्रहरी मेरो साथि’ जस्ता विभिन्न जनचेतना मूलक कार्यक्रम मार्फत नागरिकहरूसँग जोडिँदै नागरिकको शान्ति सुरक्षालाई पहिलो प्राथमिकता दिएको दाबी गर्ने प्रहरीले एक वर्षमा विभिन्न घरेलु हिंसामा परि ११ जनाले प्रहरी गुहारेको तथ्याङ्क सार्वजनिक गरेको छ । यसरी ६२ वटै वडामा भएका विभिन्न घरेलु हिंसा पहिलेको तुलनामा घट्दै गरेको आफूहरूको तथ्याङ्कले पुष्टि गर्दै लगेको बताउँदै आएको रामेछाप प्रहरीले गत आर्थिक वर्षको १ वटा घरेलु हिंसाको मुद्दा यति बेला अदालतमा पुगेको जानकारी दिएको छ ।
प्रहरी कै कार्यालय परिसर देखि मन्थली बजार, सुनारपानी, बेताली, फर्पु, खिम्ती, मिल्ती, गेलुदेखि दोरम्बा र सुनापतिका विभिन्न पालिकामा चोरीका घटना घटेको सो आर्थिक वर्षमा जिल्लाको शान्ति सुरक्षामा खटिनु पर्ने प्रहरी योग र ध्यानमा मात्रै केन्द्रित भएको भन्दै नागरिक तहबाटै प्रश्न उठेपछि आलोचना समेत भएको थियो ।
यद्दयपी, जिप्रका रामेछापले भने जिल्लाको शान्ति सुरक्षा मुजबद्ध अवस्थामा रहेको र आफ्नो टिम दत्तचित्त भएर काम यहाँका नागरिकहरूको सेवा लागेको प्रतिबद्धता जनाउँदै प्रहरीको जिम्मेवारीमा आशङ्का नगर्न आग्रह गर्दै आइरहेको छ ।