एक वर्षमा रामेछाप ट्राफिकले ३०३० सवारी कारबाही गरी ३२ लाख बढी राजश्व उठायो, छतमा यात्रु बोक्ने सवारीले मात्रै तिरे ३ लाख ६९ हजार

७ साउन, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष २०८१/०८२ मा सवारी चेकजाँचको क्रममा ‘फल्ड’ देखिएकालाई कारबाही गर्दा झन्डै ३३ लाख राजश्व सङ्कलन गरेको छ । जिप्रका रामेछाप अन्तर्गतको जिल्ला ट्राफिक प्रहरीले मापासे, रुट परमिट, ओभरलोड्, सिटबेल्ड, हेल्मेटन नलाएको, कागजपत्र साथमा नभएका, सवारी चालक अनुमति पत्रै नभएका लगायतका ट्राफिक नियममा नपरेकाहरूलाई कारबाही गर्दा कूल ३२ लाख ७८ हजार २ रुपैयाँ राजश्व सङ्कलन गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।
बुधवार मिडियालाई दिएको विवरण अनुसार एक वर्षमा तीन हजार ३० वटा सवारी कारबाही गर्दा सो रकम सङ्कलन भएको हो । सवारीको इन्डिकेटर ठिक नभएकाहरूबाट मात्रै ६० हजार रुपैयाँ, छतमा यात्रु बोक्नेबाट ३ लाख ६९ हजार रुपैयाँ राजश्व सङ्कलन भएको जिप्रका रामेछापले जनाएको हो ।
त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने २ वटा जेसिबी र ओसार्ने ५ वटा टिफर कारबाही गर्दा थप ६५ हजार ३१७ रुपैयाँ जरिवानासहित नियन्त्रणमा लिएर कारबाही समेत गरिएको प्रहरीको तथ्याङ्कले देखाएको हो ।