रामेछापको बिजुलिकोटमा नेपाली काँग्रेसले विपद् पीडितलाई एक हल गोरु निःशुल्क दियो

| साउन १०, २०८२ शुक्रबार

A A A
A A A

९ साउन, रामेछाप । रामेछापको बिजुलिकोटमा निरन्तरको झरीले गोठमाथिबाट बगेको पहिरोले (विपद् पीडित) गोठसहित हल गोरु पुरेपछि नेपाली काँग्रेस वडा समितिले पीडित परिवारलाई हल गोरु नै किनेर दिएको छ । गाउँलेहरूको भव्य उपस्थिति सहितको एक कार्यक्रम मार्फत पीडित परिवारलाई गोरु हस्तान्तरण गरिएको थियो ।  

 

यही साउन ३ गते राति लिखु तामाकोसी गाउँपालिका वडा नं ४ बिजुलिकोटको बालारु निवासी कृष्ण बहादुर बस्नेतको गोठसहित एक हल गोरु पुरिएर पीडित बनेका बस्नेत परिवारलाई बिहीबार एक कार्यक्रमसहित नेपाली काँग्रेस वडा कार्यसमितिले भटाभट जोत्न सकिने एक हल गोरु निःशुल्क हस्तान्तरण गरेको काँग्रेस वडा कार्यसमितिले जानकारी दिएको हो । 

 

शनिवार राति घर नजिकैको गोठ पुर्दा बस्नेतको एक हल गोरु पुरेर मरेका थिए । भने, दुई वटा गाई घाइते अवस्थामा भेटिएका थिए । यसरी गाउँमा स्थानीयको गोरु पुरिएर मरेपछि खेतबारी जोत्न खाँचै हुने अवस्था र परिवारको पीडालाई महसुस गर्दै काँग्रेस वडा समितिले करिब ५० हजार लागतमा दुई वटा गोरु खरिद गरी परिवारलाई प्रदान गरेको काँग्रेस नेता रमेश बस्नेतले जानकारी दिए । 

 

काँग्रेस नेता एवं गाउँपालिका अध्यक्ष केशव महतले निःशुल्क गोरु हस्तान्तरण गरेकोमा खुसी व्यक्त गर्दै गाउँपालिका वडा नं ४ काठमाडौँ सम्पर्क समितिका सभापति सुवास दाहालको पहलमा उक्त कार्य भएको भन्दै धन्यवाद र प्रशंसा गरेका छन् ।