जिल्ला ट्राफिक प्रहरी रामेछापको ३ करोड बढी लागतको आधुनिक भवन उद्घाटन (फोटोफिचर)

| साउन १०, २०८२ शुक्रबार

A A A
A A A

९ साउन, रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको सुविधा सम्पन्न भवन सञ्चालनमा आएको छ । शुक्रवार मन्थली ट्राफिक चोकमा आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेशका सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले भवन उद्घाटन एवं सञ्चालन गरेका हुन् । 

 

गत आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापको भवन निर्माणको लागि बागमती प्रदेश सरकारले  रु ३ करोड ८४ लाख ३१ हजार १२३ रुपैयाँ ८८ पैसाको लागत अनुमान गरेर रु ३ करोड ८ लाख ४३ हजार ४२ रुपैयाँ २८ मा ठेक्का मार्फत निर्माण सम्पन्न गरेको हो । 

 

ट्राफिक भवन निर्माणको लागि २०८० साल असोज ०८ गते  ब्रम्हयानी बिरुपाक्ष जेभी मन्थलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्का लागेको केही पछि निर्माण सामाग्री (आइटमहरू) थपघट गरी पुनः  ४ करोड २५ लाख ५२ हजार ३९४ रुपैयाँ ७७ पैसामा परिमार्जित सम्झौता गरेको थियो ।  

 

विगतमा ट्राफिक भवन बनेको सडकको छेउमा नगरपालिकाको भाडाको भवनको एक कोठामा भाडामा बस्दै आएको जिल्ला ट्राफिकको नयाँ पक्की घर बनेको हो । 

 

६ सय ४२ दशमलव २२ वर्ग मिटर क्षेत्रफलमा निर्मित बेसिमेन्टसहित चार तल्ले कार्यालय (ब्यारेक) भवनमा आधुनिक कार्यालय कक्ष, बैठक कोठा, डाइनिङ हल, कार्यालय प्रमुखको कक्ष, शौचालय, महिला र पुरुष प्रहरी ब्युरोकेन्जका छुट्टाछुट्टै व्यवस्थाहरू समावेश भएको उल्लेख छ।