रामेछापको गोकुलगंगा गाउँपालिका बाहेक सबै पालिकामा ‘सामी’ लागू, १ वर्षमै ७८% पुरुष र २२%महिला बिदेसिए

| साउन ११, २०८२ शनिबार

A A A
A A A

१० साउन, रामेछाप । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, उपलब्धिमूलक, सीपयुक्त र शोषणरहित बनाउन काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) यो वर्षदेखि रामेछापको गोकुलगंगा गाउँपालिका बाहेक सबै पालिकामा लागू भएको छ । विगतमा जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकासहित सुनापति, दोरम्बा शैलुङ्, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकामा मात्रै काम गर्दै आएको सामी परियोजनाले चालु आर्थिक वर्ष २०८२/०८३ लागेसँगै गोकुलगंगा गाउँपालिका बाहेक सबै पालिकामा सेवा विस्तार (परियोजना लागू) भएको जनाएको हो । 

 

गोकुलगंगा गाउँपालिकामा भने सरकारले परियोजना लागू गर्न आवश्यक विवरणहरू मिति तोकेर माग (आह्वान) गरेको र सो मिति भित्र आवश्यक विवरणहरू पेस गर्न नसक्दा लागू हुन नसकेको सामी रामेछापको भनाई छ ।  

 

‘सकेसम्म स्वदेशमै रोजगारी गर्न प्रोत्साहन गर्ने, विदेश जानै परे सही सूचना र सीप सिकेर मात्रै’ जानु पर्ने जस्ता सचेतना मूलक क्षेत्रमा काम गर्दै आएको परियोजनाको काम प्रभावकारी बन्दै गएपछि यहाँका सबै पालिकामा लागू हुनु पर्ने माग भएको थियो । वैदेशिक रोजगारको क्रममा ठगी तथा अन्य समस्यामा परेकाहरूलाई निःशुल्क कानुनी सहायता समेत प्रदान गर्दै बिदेसिएका, विदेशमा अलपत्र तथा अन्य समस्यामा परेकाहरूलाई नेपाली दूतावास तथा विभिन्न सहयोगी निकायहरूको समन्वय, सहजीकरण गरी पीडितलाई न्याय, पारिवारिक मिलन गराउन  भूमिका खेल्दै आएको सामीले वैदेशिक रोजगारमा जान चाहनेहरूका लागि निः शुल्क सीप तालिमका लागि सहजीकरण पनि गर्दै आएको छ । 

परियोजनाका अनुसार गएको आर्थिक वर्ष (२०८१ साउन १ देखि २०८२ असार ३२ सम्म) जिल्लाभरबाट वैदेशिक रोजगारी जाने १ हजार ४ सय ८६ जना महिला र २ हजार ८ सय ३१ जना पुरुष गरी ४ हजार ३ सय १७ जनालाई ‘सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श सेवा’ प्रदान गरेको छ । यसरी राहदानी (पासपोर्ट) बनाउन साथ निःशुल्क परामर्श गर्दै आएको सामीलाई एक वर्षमा ४६ वटा वैदेशिक रोजगारीको क्रममा समस्यामा तथा ठगीमा परेको उजुरी आएको जिल्ला प्रशासन स्थित परियोजनाका परामर्शकर्ता जितबहादुर तामाङ (क्षितिज) ले रामेछाप टाइम्सलाई  बताए । उनका अनुसार दर्ता भएका मध्ये २५ वटा समस्या समाधान गरिएको र बाँकी २१ वटा समाधानको प्रक्रियामा रहेको अवस्था छ । 

 

स्वदेशमा  रोजगारीका सम्भावनाहरू नभएको भन्दै वैदेशिक रोजगारी नै प्रमुख विकल्प र बाध्यतामा रहेका जिल्लाका युवा शक्ति (श्रमिक) लाई सही सूचना र सीप नै विदेशमा ठुलो सम्पत्ति हुने परियोजनाको दाबी छ । एक आर्थिक वर्षको तथ्याङ्कलाई (०८१/०८२) हेर्ने हो भने रामेछापबाट मात्रै श्रम स्वीकृति लिएर अर्थात् सरकारको अनुमति लिएर ८ हजार २४० जना श्रम शक्ति बिदेसिएका छन् । त्यसमध्ये २२ प्रतिशत अर्थात् १ हजार ८ सय ३३ जना महिला र ७८ प्रतिशत अर्थात् ६ हजार ४ सय ७ जना पुरुष श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देश गएको सामीको तथ्याङ्कले देखाउँछ ।

देशका युवाहरूमा यहाँका अवस्थाको कारण बढेको निराशा र वैदेशिक रोजगारी नै त्यसको प्रमुख विकल्प बन्दा एक वर्षमा जिल्ला प्रशासन कार्यालयबाट जारी हुने राहदानी (पासपोर्ट) बनाउनेको संख्या पनि बर्सेनि बढ्दै गएको तथ्याङ्कले देखाउँछ । गत वर्ष मात्रै जिल्ला प्रशासन कार्यालय रामेछापबाट ४ हजार ६ सय २७ वटा पासपोर्ट जारी भएको छ । यसरी पासपोर्ट बनाउनेमा १८ सय ०४ महिला हुँदा २८ सय २३ जना पुरुषहरू रहेको परियोजनाको जिप्रका रामेछापको तथ्याङ्कमा उल्लेख छ । 

 

युवाहरू वेदिशिएर गाउँमा मलामी जाने मानिसकै अभाव देखिँदा रोजगारी कै लागि बिदेसिनेको संख्या रोकिने अवस्था भने तत्काल देखिँदैन । केही समय अगाडि मात्रै कोरोना महामारीको कारण भएको पट्यार लाग्दो लकडाउन, २०७२ सालको महाभूकम्प र त्यसपछिका पराकम्पहरूले पारेको असर, गएको वर्षको असोज ११ र १२ मा आएको रोशी खोलाको बाढीको विताण्ड, पश्चिम रुकुममा गएको भूकम्पको असरसहित चर्को मूल्य वृद्धि र राजनीतिक दलहरू प्रति नागरिकको ओरालो लाग्दो विश्वास जस्ता विविध कारणले पनि स्वदेशमा रोजगारी गर्न भन्दा विदेश नै प्रमुख केन्द्र बन्दै गएको विशलेषकहरु बत्ताउँछन् ।