गौरिशंकर संरक्षण क्षेत्र: काम कुरो एकातिर, बजेट सक्न भ्रमण तिर, खाना र खाजा मात्रै ४ लाख २९ हजार भन्दा बढी

| साउन १४, २०८२ मंगलबार

A A A
A A A

१३ साउन, रामेछाप । रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका केही वडाहरूमा लामो समयदेखि वनजंगल र वन्य जन्तु संरक्षण क्षेत्रमा काम गर्दै आएको गौरिशंकर संरक्षण क्षेत्रले बजेट खर्च गर्ने उद्देश्यले अवलोकन भ्रमण गराएको तथ्य बाहिरिएको छ । यी दुई पालिकामा वन र वन्य जन्तुको संरक्षणको क्षेत्रमा धेरै काम गर्न बाँकी हुँदा हुँदै पनि आयोजनाले वन र वन्यजन्तु संरक्षण गरेर मात्रै माथिल्लो निकायबाट विनियोजित रकम खर्च हुने परिस्थिति नदेखिएपछि आयोजनाका सदस्य बनेकाहरूलाई एकै घरका २ देखि ३ जना सम्मलाई भ्रमणमा लगेर बजेट खर्च गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको गौरीशंकर संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय शिवालयले जनाएको हो । 

 

रामेछाप टाइम्सलाई इलाका संरक्षण कार्यालय शिवालयले उपलब्ध गराएको विवरण अनुसार गएको २०८१ चैत्र २१ गतेदेखि ३० गते सम्म दोलखाको जिरी–काठमाडौँ हुँदै म्याग्दी, तातोपानी, गलेश्वर मन्दिर, बिन्दाबासिनी, पोखरा, लुम्बिनी, चिडियाखाना,कालिन्चोक, कुरी बजार, भीमसेन थान, सौराह, चितवन लगायतका तीन दर्जन चर्चित बजारहरू घुमाएर स्वीकृत भएको ८ लाख ५० हजार मध्ये ७ लाख ४० हजार ५७३ रुपैयाँ ९८ पैसा बजेट खर्च गरिएको हो । आयोजनाको दोलखा कार्यालयले भने ‘समितिले आफ्नो क्षेत्रको प्राकृतिक स्रोत लगायत अन्य सम्पदाहरूको उपयोग गरे बापत उठाएको दस्तुर तथा शुल्कबाट स्वीकृत कार्यक्रममा खर्च गर्ने भनी नियमानुसारको प्रक्रिया पुरा गरी अन्य क्षेत्रहरूको वन, वातावरण, पर्यटन, संस्कृति, आदिको अध्ययनको लागि सो कार्यक्रम सम्पन्न गरेको’ बताएको छ । 

 

यसरी १० लामो निःशुल्क भ्रमण जानेमा उमाकुण्ड गाउँपालिका वडा नं १ गुम्देलका वडा अध्यक्ष ङातिण्डू शेर्पासहित वडा सदस्यहरू र महालङ्गुर माविका शिक्षक समेत सामेल छन् । उनीहरूलाई आयोजनाले किन र कसरी सामेल गरेको केही तथ्य परक विवरण खुलाएको छैन । गौरीशंकर संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय शिवालय रामेछाप र संरक्षण क्षेत्र व्यवस्थापन समिति, गुम्देलको व्यवस्थापनमा भएको उक्त भ्रमणमा एकै परिवारका १ भन्दा बढी सदस्यहरू सहभागी भएपछि उमाकुण्ड र गोकुलगंगाका स्थानीयहरूले चर्को आलोचना गरेका थिए । यद्दयपी, व्यवस्थापन इकाईले होमस्टे दर्ता गरी सञ्चालन गरिरहेका र आफ्नो सदस्यहरूलाई अवलोकन भ्रमणमा लगेको भन्दै सार्वजनिक रूपमा गरिएको आलोचनाको सामना गरेको थियो । 

राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गरेका अन्य आयोजना तथा कार्यक्रमहरूको अध्ययन तथा अवलोकन गर्ने, पर्यटकीय रूपमा महत्त्वपूर्ण रहेका स्थानहरूमा पर्यटन वृद्धिका कारण, व्यवस्थापन पद्धति र दिगो रूपमा सञ्चालन गर्नका लागि गरिएका असल प्रयासहरूको अवलोकन गरी अवलम्बन गर्ने र होमस्टे, होटेल/व्यवसाय सञ्चालन, व्यवस्थापन सम्बन्धी अध्ययन गर्ने उद्देश्यले गरिएको भनिएको उक्त अवलोकन भ्रमणमा विभिन्न संरक्षित क्षेत्रमा भएका असल अभ्यासहरूको बारेमा अवलोकन गरी सिको गर्ने सम्मका उद्देश्य लिइएको इलाका संरक्षण कार्यालय, शिवालयका प्रा.स्रो.स.स.इन्चार्ज शंकरमान थामीले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

पछिल्लो समय गौरिशंकर संरक्षण क्षेत्रमा वन्य जन्तुले स्थानीयहरूको उठिबास लगाउन थालेको अवस्था छ । बारीमा लगाएको अधिकांश अन्न बाली घरबारी मै बास बसेरै भालु, बाँदर, दुम्सी, स्याल, मृग जस्ता वन्य जन्तुका हुल–हुलले नष्ट पार्दा त्यहाँका स्थानीयहरू गाउँ छोड्नु पर्ने बाध्यतामा छन् । तर, सोही क्षेत्रमा वन र वन्य जन्तुको संरक्षणसँगै तिनीहरूको व्यवस्थापनमा समेत काम गर्ने मुख्य जिम्मेवारी रहेकै आयोजनाले नै बजेट आफू खुसी खर्च गर्दा उपलब्धि विहीनको अवस्था देखिएको हो । कति सम्म छ भने त्यहाँ वन्य जन्तुकै आक्रमणको कारण मानिस ज्यान जोगाएरै हिँड्न मुस्किल बनिरहेको गुम्देल र गर्जाङका स्थानीयहरूको दुखेसो छ ।  यस्तो अवस्थामा संरक्षण क्षेत्रले विनियोजित बजेटले वन्य जन्तुबाट अन्नबाली जोगाउने र वन क्षेत्रको व्यवस्थापनमा धेरै महत्त्वपूर्ण जनचेतना/सचेतनाका काम गर्न सकिने अवसर र  अवस्थालाई पाखा लगाउँदै उपलब्धि शून्य हुने स्थितिमा बजेट खर्च गर्दा स्थानीयहरू प्रश्न गर्न बाध्य बनेका हुन् । 

 भ्रमणमा गएको टोली, एक स्थानीय तहको स्वागतमा । 

 

१० दिन सम्म एउटा बस रिजर्भ गरी ३४ जनाको टिमलाई निःशुल्क गराइएको उक्त भ्रमणमा तेल (डिजेल) खर्च मात्रै १ लाख ५७ हजार ३९३ रुपैयाँ ९८ पैसा खर्च भएको छ । 

 

त्यस्तै, १० दिनको गाडी भाडा मात्रै दैनिक १२ हजारको दरले भाडा १ लाख २० हजार, खाना र बास एक मुस्ट ३ लाख ६४ हजार ४६०, खाजा ६४ हजार ९४७ रुपैयाँ खर्च भएको देखिन्छ । १० दिनमा ३४ जनाले खाना, बास र खाजा खर्च मात्रै ४ लाख २९ हजार ४०७ को खाएको आयोजना कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ । 

 

त्यस्तै, विभिन्न मन्दिर तथा पर्यटकीय क्षेत्र भित्र घुम्नको लागि २३ हजार ७५० रुपैयाँको टिकट मात्रै काटेको खर्च आयोजनाको १० दिने अवलोकन भ्रमण गरिएको ‘गौरीशंकर संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, शिवालय संरक्षण क्षेत्र व्यवस्थापन समिति, गुम्देलको अवलोकन भ्रमण २०८१ को प्रतिवेदन’ ले जनाएको हो । 

शिवालय बजारमा संरक्षण क्षेत्रले सो क्षेत्रमा प्रवेश गर्ने बाहिर्य पर्यटकहरू प्रवेश शुल्क समेत उठाउँदै आएको छ । यसमाथि समेत बेला–बेला प्रश्न उठ्ने गरेको छ । केही समय अगाडि सगरमाथा प्रवेशद्वारको रूपमा रहेको शिवालय बजारबाट देउराली–बाम्तीभण्डार हुँदै सोलु खुम्बुको किञ्जा बजार प्रवेश गर्ने बाह्य पर्यटकहरूको प्रवेश शुल्क चर्को उठाउँदा पर्यटकहरूले समेत गुनासो गरेको चर्चा थियो । यसले त्यस तर्फ पैदल प्रवेश गर्ने पर्यटकको संख्यमा नै असर परेको समेत जानकारहरू बताउँछन् ।  

 

के हो गौरीशंकर संरक्षण क्षेत्र ?

बागमती प्रदेशका ३ वटा जिल्ला, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा अवस्थित संरक्षित क्षेत्र हो जसले २१७९ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ । दोलखा रामेछाप र सिन्धुपाल्चोकका साबिक २२ वटा वडामा फैलिएको गौरीशंकर संरक्षण क्षेत्र हाल २ वटा नगरपालिका ८ वटा गाउँपालिकाका २५ वटा वडामा फैलिएको छ । 

 

यस गौरीशंकर संरक्षण क्षेत्रको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको छ र यसको व्यवस्थापन संरक्षण क्षेत्र व्यवस्थापन नियमावली, २०५३ र संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका २०५६ अनुसार भएको छ । यस संरक्षण क्षेत्र भित्र २१ वटा संरक्षण व्यवस्थापन समिति गठन भएका छन् जसमध्ये संरक्षण क्षेत्र व्यवस्थापन समिति गुम्देल पनि एक हो । जुन रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. १ मा रहेको छ ।