फोनिजको स्थापना दिवस : नयाँघरे र श्रेष्ठ नगदसहित सम्मानित

२४ साउन, रामेछाप । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले दुई पत्रकारलाई नगदसहित सम्मान गरेको छ । फोनिज रामेछापले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा शनिवार आयोजित पर्यटन प्रवर्द्धनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम तथा पत्रकार सम्मान कार्यक्रममा जिल्लामा तीन दशकदेखि पत्रकारितामा क्रियाशील बद्री नयाँघरे र प्रेस युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठलाई नगद ५ हजार र १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।
उनीहरूलाई मन्थली नगरपालिकाका प्रमुख एवं प्रमुख अतिथि लव श्रेष्ठसहित फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठ, जिल्ला अध्यक्ष कुमार श्रेष्ठ, पत्रकार महासंघ रामेछापका अध्यक्ष दीपक कुमार घिमिरे लगायतको उपस्थितिमा सम्मान गरिएको हो ।
नयाँघरे जिल्लामा करिब तीन दशकदेखि रेडियो नेपाल, इमेज टेलिभिजनको जिल्ला संवाददाता हुँदै जिल्लाबाट प्रकाशित हुने पालिका आवाज साप्ताहिकसहित विभिन्न अनलाइन मिडियामा लेख्दै पत्रकारितामा सक्रिय रहेका छन् । उनी निवर्तमान पत्रकार महासंघ रामेछापका अध्यक्ष समेत हुन् । उनलाई फोनिजले यो वर्ष आदिवासी जनजातिहरूको क्षेत्रमा कलम चलाएर योगदान पुर्याएको भन्दै सम्मान गरेको फोनिज जिल्ला सचिव सुमित्रा तामाङ (लामा) ले उद्घोष गरिन् ।
त्यस्तै, विगत केही वर्ष यता फोनिज रामेछापले जनजाति पत्रकारहरूलाई प्रदान गर्दै आएको जनजाति पत्रकारिता पुरस्कारबाट करिब एक दशक भन्दा बढी समयदेखि जिल्लाका विभिन्न सञ्चार माध्यममा क्रियाशील रहेर पत्रकारिता गर्दै आएकी प्रेस युनियन रामेछापकी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई जनजाति समुदायको तर्फबाट लामो समयदेखि पत्रकारिता गरी समाजमा योगदान गरेको भन्दै नगद १० हजारसहित सम्मान गरेको सचिव तामाङले बताइन् ।
जिल्लाको पर्यटन प्रवर्द्धन गर्न पत्रकारहरूले खेल्नु पर्ने भूमिका बारेमा खुल्ला छलफल गरिएको उक्त कार्यक्रममा आगामी दिनमा जनजातिहरूको धार्मिक, सांस्कृतिक र जातिक पहिचानको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई मन्थलीसहित जिल्लामा टिकाउन खेल्नु पर्ने भूमिका बारेमा चर्चा गरिएको उक्त कार्यक्रममा मन्थलीका मेयरले पर्यटन प्रवर्द्धन गर्न गरिरहेको कार्यको बारेमा बताएका थिए ।