हल्देमा तामाकोशीले सडक कटान गर्दा मन्थली–खिम्ती सडक अवरुद्ध, अटो र बाइक मात्रै पास
                    
                    तस्बिर स्रोत संजिव चौहान ।
                    
                ०४ साउन, रामेछाप । माथिबाट बगेर आएको लेदो र सडक मुनीबाट तामाकोशीले कटान गर्दा खिम्ती–मन्थली सडक अवरुद्ध भएको छ । हल्देबजार नजिकै रहेको कजवेय पिपल बोट आसपासको सडक बग्दा सडक अवरुद्ध भएको हो ।
लिखु तामाकोशी गाउँपालिका वडा नं ७ तिल्पुङ्को हल्दे बजार नजिकै कज्वे सडक भासिँदा दुई तर्फ नै सडक अवरुद्ध भएको जानकारी प्राप्त भएको हो ।
आज बिहान करिब ५ बजेपछि उक्त सडक अवरुद्ध भएको अवस्थामा भेटिएको त्यहाँबाट संजिव चौहानले रामेछाप टाइम्सलाई बताए । ‘अटो र मोटरसाइकल सम्म पास हुन्छ । अरू गाडी रोकिएका छन्’, चौहानले रामेछाप टाइम्ससंग भने ‘६ः१५ सम्म खुलाउन कोही पुगेका छैनन् ।’
गत वर्ष पनि माथिबाट लेदो बगेर आएपछि अवरुद्ध भएको सो ठाउँमा गत आर्थिक वर्षमा जालीसहितको वाल उठाएर मर्मत गरिएको त्यहाँ कोशीले कटान गरेपछि सडक अवरुद्ध हुने गरी बनेको हो ।
हिजो पनि दोलखाको मिल्ती तर्फ माथिबाट खसेको ढिस्कोले अवरुद्ध हुँदा खिम्ती– मिल्ती–मन्थली सडक अवरुद्ध भएको थियो । यो सडक रामेछापको अधिकांश गाउँ–गाउँ जोड्ने मुख्य सडक हो । यो सडक भएर रामेछापबाट दोलखासहित रामेछापको उमाकुण्ड, लिखु तामाकोशी र गोकुलगंगा गाउँपालिकाका दर्जनौं सवारी आवात जावत गर्ने गर्छन् । राजधानी जाने गाडी यहि सडक भएर मन्थली भित्रिन्छन् । तर, सडक कटान भएपछि समस्या देखिने भएको छ ।
                                    