मन्थली नगरपालिकालाई पर्सि बुधवार ‘बालमैत्री नगरपालिका’ घोषणा गरिने

| भदौ ९, २०८२ सोमबार

मन्थली बजार आसपास फाइल तस्बिर ।
A A A
A A A

०९ भदौ, रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिका आउँदो बुधवार (पर्सिको दिन) बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा हुने भएको छ । आज सोमबार बिहान बसेको कार्यपालिका बैठकले बालमैत्री स्थानीय शासन युक्त नगर बुधवार एक भव्य कार्यक्रमका बिच घोषणा गर्ने निर्णय गरेको हो । आजै नगरपालिकाले सरोकारवालाहरुलाई धमाधम पत्र काटेर निमन्त्रणा गरिरहेको छ ।  

 

हाल सम्म जिल्लाका आठ स्थानीय तह मध्ये कुनै पनि पालिका बालमैत्री स्थानीय शासन युक्त घोषणा भएका छैनन् । मन्थली र रामेछाप नगरपालिकासहित उमाकुण्ड गाउँपालिकाले बाहेक अन्य स्थानीय तहहरूले सम्बन्धित कार्यको आधारभूत तहकै काम अगाडि बढाउन सकेका छैन । उमाकुण्ड गाउँपालिकाले गत आर्थिक वर्षको अन्त्य तीरबाट बालमैत्री पालिका बनाउनको लागि आवश्यक कार्यको थालनी गरिरहेको अवस्था छ ।

 

मन्थली नगरपालिका भन्दा केही पहिले देखिनै बालमैत्री नगरपालिका घोषणा गर्नको लागि आवश्यक कार्यको सुभारम्ब गरेको रामेछाप नगरपालिकाले केही प्राविधिक तयारीको लागि भन्दै भदौ २१ गते भित्र नगर घोषणा गर्ने गरी कार्य अगाडि बढाउँदा मन्थलीले नेपाली हिन्दु धर्मावलम्बी महिलाहरूको तीज पर्वको भोलि पल्टै नगर घोषणा कार्यक्रम आयोजना गरिएको नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले रामेछाप टाइम्सलाई बताए  । ‘बुधवार घोषणा गर्छौँ, वडा नं ८ का वडा अध्यक्ष समेत रहेका प्रवक्ता श्रेष्ठले ‘तीनलाल पार्कमा मञ्च व्यवस्थापन लगायतको तयारी भइरहेको छ ।’

जिल्लाका दुई नगरपालिका मध्ये जिल्लामा को पहिलो बालमैत्री नगर घोषणा गर्न सफल हुने भन्ने तीव्र प्रतिस्पर्धाका बिच मन्थलीले बुधवार मिति तोकेर मन्थली जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासन युक्त नगर घोषणा गर्न हुने चरणमा पुगेको हो । तर, कसले घोषणा गर्ने भन्ने विषयमा हाल सम्म यकिन नभएको प्रवक्ता श्रेष्ठले बताए । ‘प्रदेशमा पत्र पठाएको छ ।’

 

२०७९ साल देखि १४ वटै वडामा कम्प्युटर अपरेटर भन्दै बालमैत्री सहजकर्ता नियुक्त गरेर बालबालिकाको समग्र क्षेत्र, अधिकार, पूर्वाधार निर्माण गर्दै १४ वटै वडालाई बालमैत्री वडा घोषणापछि प्रदेशबाट गरिएको स्थलगत निरीक्षणबाट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न सकिने गरी आइतबार निर्देशन एवं अनुमति पत्र पाएपछि लगत्तै बैठक डाकेर नगर घोषणा गर्ने निर्णय नगरपालिकाले गरेको हो ।

 

यो बिचमा पटक–पटक छलफल र अन्तरक्रिया मार्फत नगरपालिकालाई कसरी सुन्दर र बालमैत्री नगर निर्माण गर्न सकिन्छ भन्ने विषयलाई केन्द्रमा राखेको यो नगरपालिकालाई कतिपयले भने एकातिर बालबालिका समस्यामा, नगर भने घोषणा गर्न लाग्ने भन्दै प्रश्न र आलोचना समेत गरिरहेका छन् । तर, नगरपालिकाले भने घोषणा नै पूर्णता नहुने र त्यसको लागि कार्य गर्ने प्रोत्साहन एवं एउटा बलियो माध्यम/आधार निर्माण हुने भन्दै आएको छ । 

 

कतिपयले भने रामेछाप नगरपालिकाले अगाडि घोषणा गर्छ भनेर हतारमा मन्थलीले कार्य गर्न लागेको भन्दै टिप्पणी समेत गरिरहेका छन् । यो कुरालाई नगरपालिकाले तीजको दरखाने दिनै बसेको कार्यपालिका बैठकले लगत्तै घोषणा गर्ने निर्णय गर्नुले बल पुगेको देखिन्छ ।