जिसस रामेछापको अन्डरग्राउन्ड पार्किङसहितको ५ सय जना क्षमताको सुविधा सम्पन्न सभा हल निर्माण सुरु (भिडिओसहित)
१० भदौ, रामेछाप । नेपाली काँग्रेस रामेछापका पार्टी सभापति एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले जिल्लाको विकास गर्न महत्त्वपूर्ण दाबी गरेको जिल्ला समन्वय समितिको सुविधा सम्पन्न सभा हल बन्ने भएको छ । निर्माण व्यवसायीको लामो अनुभव समेत बटुलेका सांसद कान्छारामले गत आर्थिक वर्षको एक कार्यक्रममा बोल्दै रामेछापको विकासको लागि अन्डर ग्राउन्ड पार्किङ सहितको सुविधा सम्पन्न व्यापारिक कम्प्लेक्स निर्माण गर्नु पर्ने अति नै आवश्यक भएको भन्दै उक्त भवन निर्माणको लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए । साथै, उनले उक्त भवनलाई मिनी मार्टको रूपमा विकास गरी व्यापारिक र समन्वयको प्रशासनिक गतिविधिलाई समेत त्यसैबाट सञ्चालन गर्न सकिने गरी निर्माण गर्नु पर्ने भनेका थिए । यसो गर्न सके मन्थलीको बजार चलायमान हुने उनको विश्वास छ ।
सोही वर्ष आफूले १० करोड बजेट मागेकोमा संघ सरकारले रु १ करोड बजेट विनियोजन गरेपछि निकै रुष्ट बनेका सांसद कान्छारामले उक्त आयोजनालाई बहुवर्षियमा पारेर यो वर्ष सहरी विकास मन्त्रालय मार्फत सघन शहरी तथा भवन निर्माण आयोजनाले काम गर्ने गरी भ्याटसहित रु ८ करोड २६ लाख ४८ हजार ७३६ रुपैयाँ ९८ पैसा बजेट विनियोजन गरेपछि टेण्डर मार्फत डी.एस.एस.आर. योञ्जन बिल्डर जेभी भक्तपुरले भ्याटसहित रु ५ करोड ४१ लाख २५ हजार १८१ रुपैयाँ २७ पैसामा ठेक्का पाएको आयोजनाका इन्जिनियर सुसन प्रजापतिले रामेछाप टाइम्सलाई बताए । ‘ठेक्का लागेर आज भोलिबाटै काम गर्ने गरी निर्माण कम्पनी फिल्डमा आइसकेको छ’, संघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर प्रजापतिले भने ‘१८ महिना भित्र सक्ने गरी ठेक्का लागेको हो ।’
गएको असार १३ गते ठेक्का लिएको जेभीले आउँदो २०८३ पुसको १६ गते निर्माण सक्ने गरी ठेक्का लिएको अर्का इन्जिनियर मनोज प्रसाद मण्डलले जानकारी दिए ।
२० वटा दुई चक्के गाडी (कारहरू) अन्डर ग्राउण प्रार्किङको सुविधासहित ७.१५ मिटर उचाइ रहेको सभा हलमा एकै पटक पाँच सय (५००) जना अट्न सक्ने क्षमताको हुने इन्जिनियर प्रजापतिले प्रष्ट पारे । विगत लामो समयदेखि मन्थलीमा प्रमुख चुनौतीको रूपमा देखिएको पार्किङ यो हल बनेपछि हट्ने विश्वास लिइएको छ ।
जिल्लामा पछिल्लो पटक मन्थलीकै तीनलाल पार्कमा बनेको सभा हल बजारबाट केही टाढा भएको र निर्माणाधीन अन्य हलहरू पनि व्यवस्थित र आजको आवश्यकता परिपूर्ति गर्ने खालको नबनी रहेको बेला सबैलाई पायक पर्ने समन्वय समितिको हल निर्माण अगाडि बढ्नुले निकै लाभदायक हुने यहाँका सरोकारवालाहरूको भनाई छ ।
समन्वयका पदाधिकारीहरू मात्रै पनि छलफल गर्न सकिने मिनी बैठक हल समेत समावेश रहेको उक्त सभा हलमा ठुला कार्यक्रमहरू नभएको खाली समयमा हल भित्रै बलिबल, बास्केटबल जस्ता छोटो दुरीका खेलहरू खेलाउन समेत सकिने साइट इन्जिनियर प्रजापतिको भनाई छ । ‘आजदेखि फिल्डमा काम सुरु भइसकेको छ, कम्पनीका प्रतिनिधिले पुरानो भवन हटाएर जग्गा खाली गर्न काम थाले ।’
८ सत २९.२१ क्षेत्रफलमा बन्ने सभा हल हाल समन्वयको प्रशासनिक भवनको परिसरमै बन्ने छ । विगतमा त्यहाँ पुरानो कच्ची टहरो निर्माण गरिएको थियो । त्यो टहरो २०७२ सालको महाभूकम्पले चर्काएपछि भूकम्पका सरकारी राहत सामाग्री भण्डारको रूपमा प्रयोग हुँदै आएको थियो ।
जिसस प्रमुख चिना खड्का (कार्की), सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) प्रदेश सांसदहरू लगायतले समन्वयको निर्माण हुने उक्त भवनलाई थप सुविधा सम्पन्न बनाएर समन्वयको प्रशासनिक कार्य समेत सोही भवनबाट अगाडि बढाउनु पर्नेमा जोड् दिएका थिए । तर, प्राविधिक कारणले प्रशासनिक गतिविधिलाई बाधा पुग्ने देखिएपछि स्टिमेट अनुसार सभा हल निर्माण गरी व्यवस्थित रूपले अगाडि बढाउने निर्णय गरिएको बुझिएको छ ।
जिससको सभा हल निर्माण कार्य अगाडि बढेको जानकारी गराउने र उक्त भवन निर्माण तोकिएको मितिमै सकेर थप कार्यको लागि बल पुर्याउने उद्देश्यले सोमबार जिससले सरोकारवालासँग अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरी आवश्यक सहजीकरण गर्न सरोकारवालासँग आग्रह समेत गरिएको जिसस रामेछापका उपप्रमुख प्रेम सागर थापाले रामेछाप टाइम्सलाई बताए ।