मन्थली नगरपालिका बन्यो रामेछापकै पहिलो ‘बालमैत्री स्थानीय तह’, मन्त्री बादेले गरे घोषणा

| भदौ ११, २०८२ बुधबार

A A A
A A A

११ भदौ, रामेछाप । जिल्ला सदरमुकाम मन्थली नगरपालिका जिल्ला कै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको छ । आज एक भव्य समारोहका बिच मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका भएको घोषणा गरिएको हो । 

 

बुधबार बिहान मन्थली–८ को गाईखुरा, मन्थली–१ को मन्थली मावि र भैशैश्वार चोकबाट देवकोटा चोक, प्रहरी कार्यालय र बसपार्कबाट तीनलाल पार्क कार्यक्रम स्थलमा प्रवेश गरेको हजारौँ उपस्थित र्‍यालीले नगरपालिकालाई बालमैत्री नगर घोषणा गरेको हो । 

 

जिल्लाको पुरानो सदरमुकाम रामेछाप नगरपालिकाकी उपप्रमुख बाल कुमारी कार्की (थापा), उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवार, सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ लगायत मन्थलीका नगरपालिकाका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा, १४ वटै वडाका वडा अध्यक्ष, कर्मचारीहरू, नगरका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, १४ वटै वडाका प्रअ, शिक्षक, विद्यार्थी र अभिभावकको भव्य उपस्थिति रहेको समारोहमा प्रमुख अतिथि एवं बागमती प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादेले ‘मन्थली नगरपालिकालाई बालमैत्री नगर घोषणा’ लेखिएको ब्यानरमा हस्ताक्षर गरी सन २०३० साल सम्म  बालमैत्री स्थानीय तह भएको पालिका घोषणा गर्ने सूचक पुरा गरेकोमा ‘तपाईँहरूलाई बधाई छ’ । 

 

यो नगरपालिकाले ११ औँ स्थानमा आफूलाई बालमैत्री नगर घोषणा गरेकोमा बधाई दिएका मन्त्री बादेले मन्थली नगरपालिकाले निकै महत्त्व दिएर ५१ वटा सूचक पूरा गरेकोमा प्रशंसा गरे । ‘तपाईँहरूले निकै मेहेनत गरेको देखि मलाई खुसी लाग्यो’ मन्त्री बादेले थपे ‘तपाइहरू काम गर्दै जानुस् म र मेरो नेतृत्वमा रहेको मन्त्रालयले सकेको सहयोग गर्न प्रतिबद्धता जनाउँछु ।’

गत वर्ष नगरको शैक्षिक सुधार र तथ्याङ्किय नतिजामा राम्रो नजिता ल्याउने प्रअ, शिक्षक तथा विद्यार्थीहरूलाई नगद सहित सम्मान गरिएको उक्त कार्यक्रममा १४ वटै वडाका वडा अध्यक्षहरूलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो । 

 

२०७९ देखि बाल मैत्री नगर घोषणा गर्ने अभियानमा लागेको मन्थली नगरपालिकाले करिब ४ वर्षपछि महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको हो । बालमैत्री नगर घोषण दिगो विकासको लक्ष्य हासिल गर्न निकै महत्त्वपूर्ण सूचकको रूपमा रहेको छ । 

 

नगरपालिकाको बाल संजालका प्रतिनिधिहरूले संचालन गरेको घोषणा समारोह कार्यक्रमलाई नगरपालिकाका सूचना अधिकारी एवं महाशाखा प्रमुख हेमन्त बुढाथोकी लगायतका कर्मचारीले सहजीकरण गरेका थिए ।