१८ औँ पुस्तकालय दिवस: रामेछापमा पुस्तकालयको सम्भावना र चुनौती बारेमा चर्चा

| भदौ १६, २०८२ सोमबार

A A A
A A A

१६ भदौ, रामेछाप । आइतबार १८ औँ पुस्तकालय दिवस रामेछापमा विविध कार्यक्रम गरी मनाइएको छ । ‘हाम्रो पुस्तकालय: हाम्रो भविष्य’ भन्न मूल नारासहित व्यवस्थित पुस्तकालयदेखि इ–लाइबेरीको प्रयोग सम्मको चर्चा गर्दै दिवस मनाइएको हो । जिल्लामा विद्यायहरुमा भन्दा बाहेक छुट्टै सर्वसाधारणले समेत प्रयोग गर्न मिल्ने गरी पुस्तकालय नहुँदा भने समस्या देखिएको छ । 

 

एकातिर  शिक्षकहरू आफ्ना माग राख्दै चरणबद्ध आन्दोलनमा रहकै बेला परेको पुस्तकालय दिवस रामेछापमा शिक्षा विकास तथा समन्वय इकाई रामेछापले पठनसंस्कृतिक प्रवर्धन: सम्भावना र चुनौतीको बारेमा शिक्षकहरू सँगै अन्तरक्रिया गरी दिवसलाई मनाएको इकाइका प्रमुख नेत्र प्रसाद गजुरेलले रामेछाप टाइम्सलाई बताए । ‘यो दिवस निकै महत्त्वपूर्ण हो, हामीले पुस्तकालयको व्यवस्थापन गर्दै पछिल्लो पुस्तालाई इ–लाइबेरीको सही सदुपयोग गर्ने सम्म चर्चा गर्‍यौँ ।’

 

नेपाल शिक्षक महासंघ रामेछापका अध्यक्ष शंकर प्रसाद ढुङ्गेलसहित जिल्लाका आठ वटै पालिकाका पेसागत शिक्षक संघठनका प्रमुख तथा प्रनिधिहरुको उपस्थितिमा रामेछापका विद्यालय–विद्यालयमा स्थापना गरिएका पुस्तकालयहरूको सही सदुपयोग गर्दै पछिल्ला पुस्तामा पुस्तकले देखाउने भविष्यलाई बुझाउन सक्नु पर्नेमा केन्द्रित भएको समन्वय प्रमुख गजुरेलको भनाई छ । युवा पुस्तामा इ–लाइबेरी मात्रै बढी केन्द्रित भएर ज्ञान लिने वातावरण बन्दै गएकोमा चिन्ता व्यक्त गरेको बताउँदै इतिहासका एवं विगतको ज्ञान पुस्तकै प्रमुख स्रोत रहेको समेत स्मरण गराइएको थियो । 

जिल्लामा छुट्टै व्यवस्थित लाइबेरी चिसापानीको भीमेश्वर माविमा बाहेक अन्य त्यस्तो स्थापना हुन नसक्नु दुःखद रहेको भन्दै समन्वयका सूचना अधिकारी दिनेश नेपालीले पनि पुस्तकालयको निकै महत्त्व रहेको धारणा राखे । जिल्लामा व्यवस्थित पुस्तकालय गर्न सके थप पठनस्कृतिमा टेवा पुर्ने उनको भनाई थियो । 

 

पुस्तकालय दिवसकै अवसर पारेर मन्थली नगरपालिका वडा नं ८, चिसापानीमा पनि वडा अध्यक्ष गोपाल श्रेष्ठसहितको उपस्थितिमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको छ । ज्येष्ठ नागरिकहरूलाई पोषण युक्त खानेकुरा प्रदान गरी ज्येष्ठ नागरिकहरू सम्मान गरिएको वडा अध्यक्ष एवं नगरका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।