जिसस रामेछापले ‘पहिलो बालमैत्री नगरपालिका’ सहित गोकुलगंगा र उमाकुण्ड गाउँपालिकालाई गर्‍यो सम्मान

| भदौ १६, २०८२ सोमबार

A A A
A A A

१६ भदौ, रामेछाप । जिल्ला समन्वय समिति रामेछापले जिल्लाकै ‘पहिलो बाल मैत्री नगरपालिका’ र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफ्आरए) र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा सबै भन्दा उत्कृष्ट अंक ल्याउने स्थानीय तहलाई सम्मान गरेको छ । 

 

सोमबार समन्वय समिति रामेछापको सभा हलमा प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) सहितको उपस्थितिमा जिल्ला कै पहिलो बालमैत्री नगर घोषणा भएकोमा बधाई दिँदै (जिसस) रामेछापले मन्थली नगरपालिकालाई सम्मान गरेको हो । (जिसस) प्रमुख चिना खड्का (कार्की) र कार्यक्रमका प्रमुख अतिथि समेत रहेका निवर्तमान ऊर्जा जलस्रोत तथा सिँचाइ राज्य मन्त्री कान्छारामले नगरकी उपप्रमुख ईश्वरी बस्ने समेतको उपस्थितिमा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठलाई सम्मान पत्र प्रदान गरे । मन्थली नगरपालिका यही भदौ ११ गते जिल्लाकै पहिलो बालमैत्री नगर बनेकोमा बधाई समेत दिँदै यसको दिगो पनाको लागि सबैको सहयोग रहेको स्मरण गराउँदै समन्वय प्रमुख खड्काले ‘तपाईँहरूको यो टिमले दिगो पनाको लागि अझै राम्रो काम गर्नु हुन्छ भन्ने आशा छ’ स्मरण गराइन् । 

 

सोही अवसरमा केही दिन अगाडि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको (लिजा) मा जिल्लाका ८ पालिका मध्ये उत्कृष्ट अंक प्राप्त गर्दै जिल्लाको (लिजा) मा पहिलो हुन सफल भएको गोकुलगंगा गाउँपालिका र दोस्रो बनेको मन्थली नगरपालिकालाई नै सम्मान गरेको छ । 

त्यस्तै (एफ्आरए) मा जिल्लाको पहिलो बनेको मन्थली नगर र दोस्रो हुन सफल उमाकुण्ड गाउँपालिकालाई पनि (जिसस) रामेछापले सम्मान पत्रसहित सम्मान गरेको हो । सम्मानित सबैलाई नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका सांसद कान्छाराम र समन्वय प्रमुख खड्काले संयुक्त रूपमा सम्मान प्रदान गरे । 

 

जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपाने, उपप्रमुख बाल कुमारी कार्की (थापा), दोरम्बा शैलुङ् गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान र उपाध्यक्ष खमला थापा मगर, खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ र रमा घिसिङ्, लिखु तामाकोशी गाउँपालिका अध्यक्ष केशव महत र दीपा पाख्रिनसहित जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिका बिच गरिएको सम्मान ग्रहण गर्दै जिल्लाको पहिलो बालमैत्री नगर प्रमुख लव श्रेष्ठले भने ‘कतिपयले प्रश्न गरेको सुन्छु ५१ वटा सूचक पुरा नगरी, बालमैत्री पूर्वाधार नबनी कसरी घोषणा भयो’, घोषणा भएपछि दिगो पनाको लागि काम गर्न आफूहरू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै नगर प्रमुख श्रेष्ठले थपे ‘कामै नगरी कसरी विकास हुन्छ’ ।

बालमैत्री नगरको दिगो पनाको लागि काम गर्ने जिकिर गर्दै मानवीय स्वभाव पनि नकारात्मक तर्फ मात्रै बढी केन्द्रित हुन दुःखद रहेको धारणा राखे । तर, आफूहरूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नगरका कुनै बालबालिका समस्यामा परेमा अब आफूहरू जिम्मेवार हुने समेत बचन दिए ।