केन्द्रको गठबन्धनको ‘प्रभाव रामेछापका अलिकति’ पनि नपरेको देख्दा अच्चमित छु – ‘कान्छाराम’ (भिडिओसहित)

| भदौ १७, २०८२ मंगलबार

A A A
A A A

१७ भदौ, रामेछाप । नेपाली काँग्रेसका प्रखर नेता एवं सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले नेपाली काँग्रेस र नेकपा (एमाले) दुई ठुला दलको गठबन्धन जिल्ला तहमा कार्यान्वयनमा नरहेको भन्दै प्रश्न गरेका छन् । उनले केन्द्रमा नेपाली काँग्रेस र एमालेको गठबन्धनमा सरकार बनेको भए पनि जिल्ला तहमा त्यसको प्रभाव नदेखिँदा आफू अच्चमित भएको समेत टिप्पणी गरे । ‘यो गठबन्धन शेरबहादुर देउवा र केपी ओलीको लागि मात्रै बनेको जस्तो भयो, म अच्चमित छु’, नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका सांसद तामाङ्ले भने । 

 

सोमबार जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको गत वर्षको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै सभापति तामाङले जिल्लामा नेपाली काँग्रेस र एमालेले बजेट निर्माणसहित जिल्लाको विकासमा एकै ठाउँमा बसेर औपचारिक छलफल एवं बैठक बस्न समेत नसक्दा माथिको गठबन्धन जिल्लामा काम नलागेको धारणा राखे । जिल्ला तहका जनप्रतिनिधिहरूले  गठबन्धन सरकारले गरेको ७ बुँदे सहमतिमा संविधान संशोधन मुख्य विषय ओझेलमा पर्नु आफैमा दुःखद रहेको भन्दै प्रश्न गरिरहेका बेला काँग्रेस र एमाले दुई ठुला दलको गठबन्धनलाई तल्लो तह सम्म एकै भएर बजेट निर्माण, विकासमा साझा धारणा हुनु अहिलेको लागि उपयुक्त भए पनि त्यसमा कसैको ध्यान नपुग्नु दुःखद रहेको बताए । 

 

चालु अधिवेशनबाट रामेछापको विकासको लागि बजेट पर्याप्त ल्याउन नसकेकोमा रामेछापका जनप्रतिनिधिहरुसंग माफी मागेका सांसद तामाङले संसद्मा बोलेर आगामी दिनमा बजेट ल्याउने बाटो खोलेको दाबी गरे । ‘यो पटक तपाईँहरूको अपेक्षा अनुसारको बजेट ल्याउन नसकेकोमा माफी माग्छु’, तर अब बजेट आउँछ’ सांसद तामाङले जोड् दिँदै भने । 

चालु आर्थिक वर्षमा रामेछापमा संघबाट भित्रिएको बजेटको कार्यान्वयन सत प्रतिशत सफल पार्न आफू अब ६ महिना जिल्लामै बस्ने र बजेट परेका स्थानमा आफै खटिएर काम गर्ने तयारीमा रहेको सुनाउँदै जिल्लाका कर्मचारीहरूलाई समेत जेठ महिना सम्म पुग्दा काम सबै सक्ने गरी काम अगाडि बढाउन आग्रह गरे । ‘यहाँ प्रश्न उठ्यो अनुगमन राम्रो भएन कि भन्ने अब म आफै जिल्लामै बसेर प्रत्येक योजना स्थलमा पुगेर काम गर्छु ।’

झण्डै २ लाख मतदाता रहेको रामेछाप जिल्लालाई दुई निर्वाचन क्षेत्र (संघ तर्फ) बनाउनु पर्नेमा जोड् दिँदै सांसद तामाङले एक निर्वाचन क्षेत्र मात्रै हुँदा पनि जिल्ला पिछडिन पुगेको आशङ्का गरे । कर्मचारीहरूलाई कानुन अनुसार तत्कालै विकास निर्माणको काम अगाडि बढाउन सुझाव दिँदै स्थानीय तहमा काम गर्दा समन्वय र सहकार्य गरी पालिकाको नजिक भएर सम्पन्न गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन समेत गरे । 

 

लिखु तामाकोशी र दोरम्बा शेलुङ् गाउँपालिकालाई कृषि विकास कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना जस्ता कृषि कार्यालयहरूले समेट्न छुटाएकोमा असन्तुष्ट देखिएका सांसद तामाङले तत्कालै जोन क्षेत्रमा समेटेर आलु, बाख्रा, किवी, कफी जस्ता उत्पादनलाई व्यवस्थित र बजारीकरण गर्न आग्रह गरे । 

 

जिल्लाका ८ वटै स्थानीय तहका जनप्रतिनिधि र सरकारी कार्यालयका कर्मचारीहरू समेतको उपस्थिति रहेको सो कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका पार्टी सभापति तामाङले जिल्लाको विकासमा सबै एक ढिक्का भएर लाग्नु आजको रामेछापको आवश्यकता भएको सुनाए ।