राष्ट्रिय कृषि आधुनिकीकरण रामेछापले ‘जुनार जोन क्षेत्र’ विस्तार गर्‍यो, लिखु तामाकोशीका ५ वडा समेटिए

| भदौ २०, २०८२ शुक्रबार

A A A
A A A

१९ भदौ, रामेछाप । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रामेछापले जुनार जोन कार्यक्रम विस्तार गरेको छ । साथै, कार्यक्रमको दोहोरोपना हटाउनको लागि सम्बन्धित सरकारी कार्यालयहरुसंग समन्वयात्मक छलफल समेत गरेको छ । विगतका वर्षहरूमा पर्याप्त बजेट नहुँदा आउँदा वर्षहरूमा पाँच वर्षको लागि भन्दै लागू गरिएको आयोजनाको भविष्यमाथि नै अन्यौल कायम रहेका बेला सरकारले चालु आर्थिक वर्षबाट बजेटको भोलम समेत बढाउँदै लगेपछि कार्य क्षेत्र पनि विस्तार गर्दै आफ्नो एकाइले किसान र कृषि उत्पादनमा जोडिन लागेको हो ।  

 

बिहीबार बिहान जिल्ला समन्वय प्रमुख चिना खड्का (कार्की) को अध्यक्षतामा समन्वयको सभा हलमा मन्थली र रामेछापका नगर प्रमुखहरूसहित जिल्ला प्रशासन कार्यालय रामेछापका प्रतिनिधि, कृषि विकास, उद्योग तथा वाणिज्य, जलस्रोत तथा सिँचाइ, डिभिजन वन, जलस्रोत तथा सिँचाइ विकास डिभिजन लगायतका कार्यालय प्रमुखहरूसहितको उपस्थितिमा विगतमा आलु र जुनार ‘दुवै जोन’ कार्यक्रममा नसमेटिएको लिखु तामाकोशी गाउँपालिकालाई पालिकाले जुनार जोनमा समेट्न गरेको आग्रह अनुसार चालु आर्थिक वर्ष देखि लागू हुने गरी वडा नं ३, ४, ,५, ६ र ७ लाई जुनार जोन कार्यक्रममा समेटिएको निर्णय गरिएको हो । कार्यक्रम कार्यान्वयन एकाइ रामेछापको चालु आ‍.व.को स्वीकृत कार्यक्रममा अनुदानको बारेमा जानकारी गराइएको उक्त बैठकमा गरिएको निर्णयमा उल्लेख छ, ‘लिखु तामाकोशी गाउँपालिकाका वडा नं ३, ४, ५, ६, र ७ क्षेत्र विस्तार गर्न गाउँपालिकाको  सिफारिस तथा भौगोलिक प्राविधिक र व्यावसायिक सम्भाव्यता र आवश्यकताको आधारमा प्राविधिक कार्यदलले तयार गरेको अध्ययन अनुगमन प्रतिवेदनलाई समेत अनुमोदन गर्ने निर्णय गरियो ।’

 

बिहीबार समन्वयकै हलमा भएको गत वर्षको वार्षिक समीक्षा कार्यक्रममा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले समेत दोरम्बा र लिखु तामाकोशी गाउँपालिकालाई पनि एकाइलाई जोन क्षेत्रमा समेट्न निर्देशन दिएका थिए । एकाइका प्रमुख थिर लाल गैरेका अनुसार लिखु तामाकोशी गाउँपालिकालाई जोनमा समेट्ने काम अन्तिम चरणमा पुगेकाले तत्काल निर्णय प्रक्रिया टुङ्गो लगाइएको हो । भने, दोरम्बा शैलुङ् गाउँपालिकालाई पनि अब चाँडै आलु र कफी जोनमा समेत समेट्ने प्रक्रिया थालिएको बुझिएको छ। 

एकाईले आयोजनामा कार्यरत प्राविधिकलाई गत आर्थिक वर्षमा उत्कृष्ठ कार्य गरेको भन्दै सम्मान प्रदान गरिँदै ।

 

उद्देश्य र कार्यक्षेत्र समेत मिल्ने कार्यालयहरूबिच समन्वय र सहकार्य गर्दै अगाडि बढ्नु पर्ने साझा धारणा विकास गरिएको सो कार्यक्रममा अघिल्ला वर्षहरूमा सरकारी कार्यालयहरू बिच नै सहकार्य र समन्वय नहुँदा कार्यक्रमहरू ‘डुप्लिकेशन’ हुन पुगेको कार्यालय प्रमुखहरूको स्वीकारोक्ति थियो । सो, कार्यलाई चालु आर्थिक वर्षदेखि हटाइनु पर्नेमा जोड दिइएको उक्त छलफलमा सरकारी कर्मचारीहरू र कार्यालय बिच सहकार्यको अति नै आवश्यक देखिएको सरोकारवालाहरूको भनाई थियो । ‘कार्यक्रमहरू बिच हुने, हुनसक्ने दोहोरोपन हटाउन सम्बन्धित निकायहरूले स्थानीय तहका सम्बन्धित शाखाहरूसँग समन्वय गरी कार्यक्रममा दोहोरोपन नपर्ने गरी काम गर्ने निर्णय गरियो’ ।

 

विशेष गरी एकाइले चालु आर्थिक वर्षमा अनुदानमा रामेछाप र दोलखा जिल्लामा सञ्चालन हुने कार्यक्रमहरूको बारेमा जानकारी गराउँदै अनुदानले किसानहरूलाई परनिर्भर तर्फ उन्मुख गराएको भन्दै सरोकारवालाहरूले चिन्ता समेत व्यक्त गरे । किसानहरू सबै काम सरकारी निकायकै सहयोगमा सञ्चालन हुने पर्ने तर्फ केन्द्रित हुँदा आफ्नै लगानी र क्षमतामा केही कुनै पनि काम, समस्याको समाधान नगर्दा किसानहरू परनिर्भर बन्न पुगेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरे । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख गोविन्द प्रसाद भुर्तेलले भने ‘किसान १० मिटर पाइप लिन ५ चोटि मन्थली गाडी चढेर धाउँछन् तर त्यो १० मिटर पाइप आफै किनेर सिँचाइ गर्न चाहँदैनन्, यस्तो अवस्थामा पुगेको अवस्था छ ।’ यसले किसानलाई परनिर्भर मात्रै बन्दा यसले भोलिका दिनमा के होला भन्ने चिन्ता बढ्दै गएको धारणा राखे । 

 

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत चूडामणि अर्यालले कार्यक्रमको दोहोरोपना रहेछ भनेर प्रश्न गर्नुको साटो कार्यालयहरू बिच समन्वय र सहकार्य गरी त्यसलाई निर्मूल पार्नु पर्ने सुझाए । ‘हामीले दोहोरोपना भयो भनेर प्रश्न गर्ने भन्दा पनि त्यसलाई हटाउन लाग्नु पर्‍यो’, जिम्मेवार व्यक्तिहरूले प्रश्न गरेर विषयलाई लम्ब्याउने भन्दा सहकार्य गरेर हटाउन सकिने तर्क गर्दै उनले थपे ‘कार्यालय–कार्यालय बिच छलफल गरेर फरक र प्रभावकारी काम गरौँ ।’

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजा कार्यान्वयन एकाईको नामबाट कार्य हुँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम चालु आर्थिक वर्षबाट नाम परिमार्जन गर्दै संचालनमा छ । रामेछापमा रामेछाप नगरपालिकासहित मन्थली नगरपालिकाको वडा नं ४,५,१३,१४ र ९ नम्बरमा पहिले देखि जुनार जोनको संचालनमा छ । 

 

त्यस्तै सुनापति, खाँडदेवी र मन्थली नगरपालिकाका केही वडाहरु बाख्रा जोनमा आबद्ध छन् भने गोकुलगंगा, उमाकुण्डमा आलु जोन अन्तर्गत कार्य हुँदै आइरहेको छ । 

 

चालु आर्थिक वर्षमा ८ करोड १२ लाख ६८ हजार बजेट एकाईलाई प्राप्त भएर कार्यक्रम सुचारु गरिएको आयोजनाका प्रमुख गैरेले प्रष्ट पारे । यो बजेट अधिल्लो आर्थिक वर्षको तुलनामा ३३ लाख भन्दा धेरैले बढी हो । अघिल्लो आर्थिक वर्षमा एकाईलाई ७ करोड ७९ लाख मात्रै बजेट प्राप्त भएको थियो ।