मुख्य मन्त्री बानियाँले गरे रामेछाप नगरपालिकालाई बालमैत्री नगर घोषणा (भिडिओसहित)
२२ भदौ, रामेछाप । रामेछापको रामेछाप नगरपालिका जिल्लाको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको छ । शनिवार भव्य सांस्कृतिक र मौलिक कलासहितको वृहत् समारोहका बिच बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले नगरपालिकालाई बालमैत्री नगर घोषणा गरेका हुन् ।
नगरको झगडे चौरदेखि सुरु भएको पञ्चेबाजासहित विभिन्न जातजातिको भेषभुषामा, लाखे, लट्ठी नाचसहित स–साना बालबालिकाहरूको कला र झ्याकिसहित सुरु भएको भव्य र्याली गौरिशकर मावि माथिको टुँडिखेल मैदानमा पुगेर घोषणा सभामा परिणत भएको थियो ।
प्रदेश मुख्य मन्त्री बानियाँसहित निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ, प्रदेशका सामाजिक विकास मन्त्री कन्चन चन्द्र बादे, मन्थली नगरकी उपप्रमुख ईश्वरी बस्नेत,दोरम्बा शैलुङ् गाउँपालिका अध्यक्ष मैन कुमार मोक्तान, सुनापतिका अध्यक्ष ठूलोकान्छा तामाङ, लिखु तामाकोशीका अध्यक्ष केशव महत, गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष उषादेवी कार्की, उमाकुण्डकी सावित्री सुनुवार र खाँडादेवी गापाकी रमा घिसिङसहित प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, प्रहरी प्रमुख लगाएत सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसहित ९ वटै वडाका वडा अध्यक्ष, कर्मचारी सहित शिक्षक, विद्यार्थी र नगरका अभिभावकको भव्य उपस्थितिका बिच घरधुरी संरक्षण २०८० अनुसार ७ सय ८८ घरधुरीका ३६ हजार ६ सय २१ जनसख्या रहेको यो नगरलाई मुख्य मन्त्री बानियाँले बालमैत्री नगर भएको घोषणा गरेका हुन् । ‘यो नगर आजदेखि प्रदेशको १२ औँ र रामेछापको दोस्रो बालमैत्री नगर भएको घोषणा गर्दछु’ मुख्य मन्त्री बानियाँले भने ।
‘समाज रूपान्तर गर्न यो महा अभियान’ थालिएको उद्घोष गर्दै नगरपालिका प्रमुख लवश्री न्यौपानेले सक्षम नागरिक उत्पादन गर्न स्थानीय सरकारको दायित्व पूरा गरेको बताए । २०७८ साल फागुन २ र ३ गतेदेखि कार्य थालेर २०७९ साल असोज २५ गतेदेखि निरन्तरता दिँदै ‘बालविवाह मुक्त’,‘अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा’ ‘बालश्रम मुक्त’, पूर्ण खोप जस्ता विधिसहित ५१ वटा सूचक पूरा गरी नगरपालिकालाई बालमैत्री नगर घोषणा पुरा गरिएको नगर प्रमुख न्यौपानेले उद्घोष गरे । ‘५१ वटा सूचक मध्ये ४० वटा १०० प्रतिशत र बाँकी ११ वटा ९९.८८ प्रतिशत पूरा गरिएको छ’, १८ वर्ष मुनिका बालबालिका १० हजार २ सय ४१ जना रहेको जानकारी गराउँदै नगर प्रमुख न्यौपानेले थपे ‘समुदाय स्तरमा ८३ वटा र विद्यालय स्तरमा ३० वटा गरी ११३ वटा बाल संजाल रहेको छन् ।’
‘घोषणा यो महाअभियानको अन्य नभइ सुरुवात हो’ भनेका नगर प्रमुख न्यौपानेले यसको दीगपनाको लागि सबैसँग सहकार्य गर्दै तयार पारिएको पञ्चवर्षीय योजना पूरा गर्नु पर्ने धारणा राखेका मेयर न्यौपानेले नगरपालिकाले त्यसमा निरन्तर लाग्ने प्रतिबद्धता दोहोर्याए ।
उत्कृष्ट नतिजा ल्याउने विद्यालय लाख–लाखले सम्मानित
बालमैत्री नगरपालिका घोषणा गरिएको उक्त समारोहमा २०८१ सालको एसइई परीक्षामा उत्कृष्ट (शतप्रतिशत) नतिजा ल्याउने ५ वटा माविलाई नगद रु १–१ लाखसहित सम्मानित गरेको छ ।
२०८१ को एसइइमा नगरपालिकाका निजी तथा सरकारी गरी ५३ वटा मावि मध्ये उत्कृष्ट नतिजा ल्याउने शारदा संस्कृत मावि बाबिया खर्क, शीतला देवी देउराली, महारुद्र मावि हिमगंगा, जनकल्याण मावि च्यास्कु र पदनादेवी मावि भालुखोपलाई नगद रु १–१ लाखले मुख्य मन्त्री बानियाँ, सांसद कान्छाराम र नगरप्रमुख न्यौपाने संयुक्त रूपमा चेक प्रदान गरी विद्यालयहरूलाई पुरस्कृत गरेका हुन् । रामेछाप घर भई काठमाडौं बसेर पढ्ने नगरकी विद्यार्थीलाई र वार्षिक परीक्षामा नगरबाटै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत ४ जिपिए ल्याउनेलाई नगदसहित पुरस्कृत गरी प्रोत्साहन गरेको नगरपालिकाले ९ वटै वडाबाट बालबालिकाको स्थानीय कला र नाटक समेत प्रस्तुत गरेको थियो ।