रास्वपा रामेछापले सक्यो उमाकुण्ड र गोकुलगंगाको पालिका अधिवेशन, बस्नेत र घिमिरेले पाए पालिका हाँक्ने जिम्मेवारी

२२ भदौ, रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछापले उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको अधिवेशन सकाएको छ । हिजो शनिवार उमाकुण्ड र आज आइतबार गोकुलगंगामा पहिलो पालिका अधिवेशन गर्दै रास्वपाले पालिका अधिवेशन मार्फत नयाँ युवाहरूलाई पालिकाको नेतृत्वमा ल्याएको हो ।
‘जान्नेलाई छान्ने’ मूल नारै बनाएको रास्वपाले सांसद एवं अर्थ विज्ञका रूपमा परिचित हेब्बिवएटका युवा नेता स्वर्णिम वाग्लेलाई ल्याएर उमाकुण्ड र गोकुलगंगामा पालिकाका युवाहरूलाई आफू तिर तान्ने प्रयत्न गर्दै पालिकाको नेतृत्व टुङ्ग्याएको हो ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लगाएतका पुराना दलहरू प्रति नेतृत्वको कारण बढ्दै गएको निराशा र असन्तुष्टिलाई नै प्रमुख मुद्दा बनाएर ०८४ को आवधिक निर्वाचनले मुलुक र गाउँबस्तिलाई परिवर्तन गर्ने आशाका साथ ‘गाउँका जाने बुझेकालाई’ आफ्नो पक्षमा पार्दै नागरिकको मत बदल्ने दाउमा रहेको रास्वपाले जिल्ला कै युवा गाउँपालिका अध्यक्ष समेत रहेको गोकुलगंगामा पालिका अध्यक्षको जिम्मेवारी बेतालीका राज कुमार घिमिरेलाई दिएको छ ।
पछिल्लो समय समाज परिवर्तनको आवश्यक पक्षमा आवाज बुलन्द गर्दै आएका घिमिरेको अध्यक्षतामा आइतबार ११ सदस्यीय पालिका समिति सर्व सहमतिमा गठन गरिएको सोही पालिकाका निवासी रास्वपा जिल्ला उपसभापति बनेका मोहन कार्कीले रामेछाप टाइम्सलाई बताए । ‘सर्व सहमतिमा भव्य कार्यक्रमका बिच नयाँ नेतृत्व आएको हो ।’
सो समितिको उपाध्यक्षमा नामाडीका दल बहादुर खड्का, सचिवमा बेतालीका उद्धव कुमार कार्की, सह–सचिवमा ठोसेबाट चन्द्र बहादुर कार्की निर्विरोध चयन भएका छन् । उनीहरुलाई जिल्ला सभापति रमेश रायमाझी, केन्द्रीय उपसभापति समेत रहेका वाग्ले, उपसभापति कार्की लगायत जिल्ला तहका नेताहरूको उपस्थितिमा जिम्मेवार प्रदान गरिएको हो ।
०८४ मा नागरिकको मत परिवार्तन गर्दै रामेछापका स्थानीय तहमा आफू मातहतको नेतृत्व ल्याएर नागरिकको जीवनस्तर मा ‘ठुलै परिवर्तन’ गर्ने आशा र भरोसाको प्रचार गर्दै आएका रास्वपाको पालिका सदस्यमा चुचुरेका कृष्ण बहादुर बस्नेत, इन्द्र बहादुर खड्का (ठोसे), ङिमा वाङ्दि शेर्पा (ठोसे), मेनुका दाश (रस्नालु) र शान्ति बस्याल चयन भएका छन् । बाँकी कोषाध्यक्षसहित सभापतिले मनोनीत गर्ने २ जना केही दिनमै मनोनीत गर्ने तयारीमा रहेको बुझिएको हो ।
उमाकुण्ड गाउँपालिका अध्यक्षमा सर्व सहमतिमा बाम्तिभण्डारका नवराज बस्नेत सभापतिमा दोहोरिएका छन् । उनी पालिकाको वडा नं २ घर भएका बस्नेत ‘जान्नेलाई छान्ने’ नारा नै बोकेको पार्टीको सर्व सहमतिमा दोस्रो कार्यकालको लागि पालिका सभापति बनेका हुन् ।
शनिवारै उमाकुण्डमा सम्पन्न पहिलो रास्वपा पालिका अधिवेशनले स्थापना कालदेखि नै पालिकाको नेतृत्व लिएर क्रियाशील रहेका नवराज बस्नेत कै नेतृत्वलाई दोहोर्याएको छ । बाम्तिभण्डार निवासी बस्नेतलाई दोस्रो कार्यकालको लागि सर्व सहमतिमै पालिका सभापतिमा दोहोर्याएको बुझिएको छ । ‘‘सर्व सहमतिमै उहाँको नेतृत्वमा कार्यसमिति गठन गरिएको हो ।’
९ सदस्यीय पालिका समितिमा उपसभापतिमा वडा नं ६ गुप्तेश्वरका दावा तामाङ र सचिवमा वडा नं ४ प्रितीकै विनोद कुमार सुनुवार निर्विरोध चयन भएका छन् ।
रास्वपाको स्थापना कालमा पालिका तहमा समितिमा बस्नेहरु खोज्नै दोड्धूप गरेका जिल्ला तहका नेताहरू भने यो पटक समितिमा बस्न केही युवा र अन्य राजनीतिक दलबाट विक्षिप्त बनेका केही ठाउँ खोज्दै आउन थालेपछि हौसिएको देखिन्छ ।