सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री (भिडिओसहित)

| भदौ २७, २०८२ शुक्रबार

A A A
A A A

२७ भदौ, रामेछाप । नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्की चयन भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार ४२ औं प्रधानमन्त्रीको रुपमा पूर्व प्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए । तर, युवा (जेन्जी) आन्दोलनका बलमा प्रधानमन्त्री बनेकी कार्कीले संविधानको धारा–६१ अनुसारको नियुक्ति पत्र लिएको अनलाइन खबरले समाचार लेखेको छ । 

 

पूर्व प्रधानन्यायाधीश समेत रहेकी कार्कीलाई (जेन्जी) आन्दोलनले अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नलाई राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शीतल निवास पुर्‍याएपछि जेन्जीको विभिन्न मागलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधान विघटन गर्ने माग समेतलाई स्वीकार गरी देशलाई पहिलो महिला प्रधानमन्त्री नियुक्त गरेका हुन् । 

 

नेपालकै इतिहास रच्दै कार्कीले आजै महिला प्रधानमन्त्री पदको शपथ खाँदै छिन् । उनलाई राष्ट्रपति पौडेलले शपथ खुवाउने तयारी भइरहेको छ । साथै, उनको नेतृत्वमा आजै सानो आकारको मन्त्री मण्डल समेत गठन हुने चर्चा छ । लगत्तै संसद् विगठन गर्ने तयारी समेत रहेको छ । 

 

भदौ २३ र २४ गते काठमाडौँमा भ्रष्ट्राचार मुक्त गर्दै देशमा सुशासन र विधिको शासन कायम गर्ने लगायत विभिन्न माग राख्दै उत्रिएको आन्दोलनलाई तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हल्कामा’ लिँदा सत्ता च्यूत् भएर प्रधानमन्त्री पदबाट राजीनामा दिएर हाल सेनाको कब्जामा रहेका छन् । 

 

२०८१ असार ३० गते चौथो पटक नेपाली कांग्रेससंगको गठबन्धनको नेतृत्व गर्दै चौथो पटक प्रधानमन्त्री बनेका ओलीको बहिर्गमन जेन्जीको भीषण र देशव्यापी आन्दोलनले गर्दा देशमा जनताहरूले सोच्ने नसकेको परिस्थितिमा गुज्रिन पुग्यो ।