रामेछापमा कारागार बाहेक सबै ठाउँमा हट्यो ‘कर्फ्यु र निषेधाज्ञा’, जनजीवन सामान्य बन्दै

२८ भदौ, रामेछाप । जेन्जी आन्दोलन चर्किएपछि रामेछाप जिल्ला प्रशासनले जिल्लाको शान्ति सुरक्षाको लागि लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा आज शनिवार देखि हटेको छ । तर, जिल्ला कारागार रामेछापको निश्चित क्षेत्रमा भने निषेधाज्ञा जारी नै रहने बताइएको छ । शनिवार बिहानै देखि जनजीवन सामान्य बन्दै गएको छ ।
गएको भदौ २३ र २४ गते देशव्यापी जेन्जी समूहको भ्रष्ट्राचार, बेतिथि र अन्यायको विरुद्धमा उत्रिएको आन्दोलनले हिंसात्मक रूप लिएपछि रामेछाप प्रशासनले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गरी ‘स्थानीय प्रशासन ऐन २०२८ बमोजिम’ आवश्यकता अनुसार कर्फ्यु र निषेधाज्ञा लागू गर्दै आएको थियो । २४ गते यता रामेछापमा ५ पटक दिउसो र राति लागू हुने गरी कर्फ्यु र ४ पटक निषेधाज्ञा जारी गरी स्थिति नियन्त्रणमा लिइएको छ ।
शनिवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाभित्रका अवस्था सामान्य बन्दै गएको भन्दै ‘सबै स्थानहरूमा लागू हुने गरी निषेधाज्ञाको आदेश जारी भएकोमा कारागार रामेछापमा जारी गरिएको दङ्गाग्रस्त क्षेत्र बाहेक जिल्लाका अन्य स्थानमा लगाइएको कर्फ्यु तथा निषेधाज्ञा आदेश पूर्ण रूपमा हटाइएको’ छ प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको पत्रमा भनिएको छ ।
२४ भदौको जेन्जी आन्दोलनको नाममा निकालिएको आन्दोलन, प्रशासन तर्फ जाँदै । तस्बिर मिलन घिमिरे
विषम परिस्थितिमा जिल्लाका स्थानीय बासीसहित सरोकारवालाहरूले सहयोग पुर्याएकोमा धन्यवाद दिँदै जिल्ला सुरक्षा समितिले शान्ति सुरक्षाको लागि ‘आगामी दिनमा समेत सबै वर्गको साथ सहयोग र सहकार्यको’ अपेक्षा व्यक्त गरेको छ । जिल्लामा भदौ २४ गते काँग्रेस, एमाले र माओवादीका भातृ सङ्गठनमा परिचित, आबद्ध र नेतृत्व तहकै युवाहरू ‘जेन्जी’का माग र मुद्दालाई समर्थन गर्दै आन्दोलनमा उत्रिएपछि स्थिति केही तनाव पूर्ण भए पनि प्रशासन र प्रहरीको सही परिचालनबाट सहजै वातावरणमा स्थिति शान्त बन्यो ।
२४ गते साँझ देवकोटा चोकमा २३ गते भएको आन्दोलनमा ज्यान गुमाएकाहरु प्रति श्रद्धञ्जली व्यक्त गर्दै देवकोटा चोकमा गरिएको दीप प्रज्वलन । तस्बिर मिलन घिमिरे
जिल्ला कारागारका कैदी कारागारै आगो लगाएर भाग्न खोज्ने परिस्थिति सिर्जना भएपछि नेपाली सेनासहितको शान्ति सुरक्षाको टिमले बेलैमा स्थिति गोली चलाएर नियन्त्रणमा लिँदै ठुलो हाताहाती हुनबाट रोकिएको सरकारी अधिकारीहरूको दाबी छ । यद्दयपी, विभिन्न आरोपमा कैद सजाय काटी रहेका २ जनाको रामेछाप अस्पतालमा उपचारको क्रममा मृत्यु भयो भने १२ जना घाइतेहरूको उपचार गरियो ।
६ जना गम्भीर बिरामीहरूको रामेछाप अस्पतालबाट काठमाडौँ रेफर गरिएको जानकारी अस्पताल प्रशासनले विज्ञप्ति मार्फत गराएको छ । ६ जना भने उपचारपछि कारागारमा ल्याइएको छ । रामेछाप कारागारमा महिला पुरुषसहित ३ सय ३४ जना कैदी राखिएको छ ।