रामेछापका ‘सिडिओ’ थापाको अब पुनःनिर्माण गर्ने १४ उपाय : कार्यालय मर्ज गर्नेदेखि यस्ता छन् १४ बुँदा ?

३० भदौ, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्याम कृष्ण थापाले जेन्जी आन्दोलनले निम्त्याएको पछिल्लो परिवेशबाट माथि उठ्नको लागि स्वदेशी उत्पादनको प्रयोगमा जोड् दिँदै सुशासन, सेवा प्रवाह र कानुनको परिपालनालाई प्राथमिकता दिनु पर्ने धारणा राखेका छन् । विलासी सरकारी भवन निर्माण नगर्न जोड् दिँदै पुनःर्निमाणमा निःशुल्क श्रमदान गरी कार्यालयहरू मर्ज गर्नु पर्ने समेत उनको भनाई छ ।
सोमबार सामाजिक सञ्जालमा ‘अबको पुनःर्निर्माण र पुनःर्स्थापना’ बारेमा विभिन्न १४ बुँदामा आफ्नो धारणा लेख्दै सिडिओ थापाले निगरानी संयन्त्र बलियो बनाउनु पर्ने, सके सरकारी कार्यालयमा नेपाली काठका फर्निचर प्रयोग गर्ने नसके नराख्ने, महँगा सवारी साधन निरुत्साहन गर्ने, टुक्रे आयोजना रद्द गर्नु पर्ने योजना अगाडि सारेका हुन् ।
गएको वैशाखमा रामेछापमा प्रमुख जिल्ला अधिकारीको भूमिकामा आएका सिडिओ थापाले जेन्जी आन्दोलनले निम्त्याएको ‘विध्वाशं’लाई मेट्न प्रशासनिक खर्च नियन्त्रण गरी ‘डिजिटाईजेशन’ (प्रविधि मैत्री) हुनु पर्नेमा जोड् दिएका हुन् ।
विकास निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउँदै उस्तै प्रकारका कार्यालय मर्जको गरी खर्च घटाउनु पर्ने उनले सुझाव पेस गरेका हुन् ।