जेन्जीका माग जायज, फागुनमा निर्वाचन हुन नसके संविधान र देश थप खतरामा : नेता न्यौपाने (भिडिओसहित)
०३ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापका निवर्तमान पार्टी सभापति एवं रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले संविधानको संरक्षण आजको प्रमुख आवश्यकता रहेको बताएका छन् । संविधान नरहे देशै सङ्कटमा पर्ने चेतावनी दिँदै संविधानको संरक्षणको लागि सबै एक ढिक्का हुनु पर्नेमा कार्यकर्ताहरूलाई आह्वान समेत गरे । उनले आगामी फागुनमा निर्वाचन हुन नसके देश र संविधान यो भन्दा खतरामा पर्न सक्ने दाबी समेत गरे ।
संविधान दिवसको अवसरमा पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान पार्टी सभापति न्यौपानेले भने ‘हाम्रो घर भनेको संविधान हो घर नभए केही रहन्न त्यसैले घर बचाउनु हाम्रो प्रमुख दायित्व हो’, संविधानको संरक्षण गर्नु नै आजको प्रमुख आवश्यकता रहेकोमा जोड् दिँदै रामेछाप नगरपालिकाका प्रमुख समेत रहेका न्यौपानेले ‘यो बेला पार्टी भित्रका स–साना समस्यामा केन्द्रित हुनुको साटो एक ढिक्का भएर संविधानको रक्षामा लाग्नु पर्छ’ भने ।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको घटना स्मरण गर्दै काँग्रेस जिल्ला शीर्ष नेता न्यौपानेले तत्कालीन सङ्कटबाट राष्ट्रपति रामचन्द्र पौडेलले समस्याको समाधान गरेर देश बचाउन सफल भएको तर अब राष्ट्रपति ले मात्रै नसक्ने भन्दै सम्पूर्ण खट्नुको विकल्प नरहेको सुनाए ।
जेन्जीका माग सुशासन र भ्रष्ट्राचार मुक्त नेपाल मात्रै रहेकोमा जोड् दिँदै निवर्तमान पार्टी सभापति न्यौपानेले देशी विदेशी शक्तिहरूले देशलाई खतराको अवस्थामा पुर्याएको र जेन्जीको आन्दोलनमा घुस्पेट भएकै कारण ठुलो क्षेति पुर्याएको जिकिर गरे ।