म पार्टीले खटाएको जिम्मेवारीमा छु, फिर्ता आइज भने तत्कालै आउँछु, सबै जुटेर देश र संविधानको रक्षा गरौँ – समन्वय प्रमुख खड्का

यो बेला आरोप प्रत्यारोपमा लाग्ने हैन जुटेर देश र संविधानको रक्षा गरौँ

| असोज ३, २०८२ शुक्रबार

A A A
A A A

०३ असोज, रामेछाप । नेपाली काँग्रेस रामेछापकी नेतृ एवं जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का (कार्की) ले पार्टी भित्रको असन्तुष्टिलाई त्याग्दै पार्टीलाई थप बलियो र एक ढिक्का बनाउन आवश्यक रहेको धारणा राखेकी छिन् । केही योगदान र क्षमताको मूल्याङ्कन नगरी अवसरवादीहरू बढेको भन्दै कार्यकर्ताको भावनालाई सम्बोधन गर्दै नेतृ खड्काले भनिन् ‘पार्टीले क्षमताको मूल्याङ्कनै नगरी जिम्मेवारी कसैलाई दिँदैन होला नि’ भनेर प्रति प्रश्न गरिन् । 

 

संविधान दिवसको अवसरमा पार्टी कार्यालय बिपी स्मृति भवन मन्थलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ खड्काले  प्रस्ट पार्दै भनिन् ‘पार्टीलाई अप्ठ्यारो परेको बेला लुक्ने र पद चाहियो भनेर हारालुच्छ् गर्नेदेखि सचेत हुने बेला पक्कै आएको छ। तर, व्यक्तिगत रिस र आवेगलाई यो बेला देखाउनु भन्दा त्यसलाई त्यागेर देश र संविधानको रक्षा गर्न लाग्नु पर्ने बेला आएको छ ।’

 

जिल्ला समन्वय समितिमा आफूलाई पार्टीले खटाएर जिम्मेवारीमा रहेकोमा पटक–पटक दोहोर्‍याएकी जिल्ला कार्यसमिति सदस्य खड्काले पार्टीले पद छोड् भनेको मिन्टेमै पद त्याग्न तयार रहेको समेत जिकिर गरिन् । समन्वय प्रमुखको हैसियतमा समेत आफूले पदको दुरुपयोग हुन र पार्टीलाई आरोप लाग्ने कुनै पनि कर्म नगरेको कार्यकर्ता माझ दर्साउँदै नेतृ खड्काले थपिन् ‘चिना समन्वयमा गएर पार्टीलाई नराम्रो गरिछे भन्ने कहिले पनि गराउँदिन गराएकी छैन’, पदीय हिसाबमा आफूले राज्यले तोकेको क्वाटर र गाडीको  सुविधा लिएको सुनाउँदै अन्य सेवा सुविधा विधि भन्दा बाहिर गएर केही पनि नलिएको उनको तर्क छ ।

 

‘त्यहाँ बसेर पनि मैले पार्टीलाई थप उचाइमा पुर्‍याउने गरी काम गरेकी छु, पार्टीले छोड्, आइज भन्ने बित्तिकै छोड्न तयार छु’ उनले पटक–पटक दोहोर्‍याइन् । विषम परिस्थितिमा पार्टीका सबै एक भएर देश र संविधानको रक्षा गर्न जुट्नु पर्नेमा सबैमा आह्वान गर्दै एकले अर्कालाई आरोप प्रत्यारोप गरेर बस्ने बेला नरहेको उनको जिकिर छ ।