संविधान विश्वकै उत्कृष्ट छ, त्यसलाई चलाउने राम्रो ड्राइभर नभएको हो – सिडिओ थापा (भिडिओ)
०३ असोज, रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्याम कृष्ण थापाले नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको तर त्यसलाई सही कार्यान्वयन गर्ने नेतृत्व नहुँदा समस्या खडा भएको दाबी गरेका छन् । वर्तमान संविधान विश्वकै उत्कृष्ट रहेको जिकिर गर्दै भने ‘नेपालको संविधान उत्कृष्ट छ तर यसलाई हाँक्ने ड्राइभरहरू राम्रो नभएको हो कि बन्ने महसुस तपाई हामी सबैलाई भएको छ ।’
शुक्रवार १० औँ संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति रामेछापको प्राङ्गणमा सिडिओ थापाले बेलायतको १० पृष्ठ लामो संविधानको उदाहरण दिँदै ‘हाम्रो संविधानको किताबै ठुलो छ र त्यस भित्रका सबै महत्त्वपूर्ण छन्, संविधान सामान्य छैन । उत्कृष्ट छ ।’
नागरिकहरूको सबै मौलिक हक अधिकार यो संविधानले सबै व्यवस्था गरेको उल्लेख गर्दै संविधानले कानुन बनाए लागू गर्न सक्ने विषय व्यवस्था गरेको स्मरण गराए । उनले भने ‘कहिले कहीँ लाग्छ विश्वमा नयाँ गाडी आउँदा त्यसलाई हाँक्ने राम्रो ड्राइभर नपाएको हो कि ? यो हामी सबैले मनन् गरेका छौँ ।’
सबैले आफ्नो दायित्व पूरा गरे संविधानले उल्लेख गरेका कुराहरू पुरा हुने तर्क गर्दै काम गर्नलाई संविधानको मात्रै आवश्यकता नपर्ने समेत धारणा राखे । ‘काम गर्नलाई संविधानै आवश्यक पर्छ भन्ने हैन । काम गर्नलाई मनमा धर्म मात्रै राखे पनि धेरै राम्रो हुन्छ र काम गर्न सकिन्छ ।’