जेन्जी आन्दोलनपछि एमाले रामेछाप: कार्यकर्ता ओली विरुद्ध बोल्न थाले, पार्टी बलियो बनाउन लाग्न निर्देशन

३ असोज, रामेछाप । गएको भदौ २३ र २४ गते देशभर भएको जेन्जी आन्दोलन पछि पहिलो पटक सडकमा कार्यकर्तासहित उत्रिएको नेकपा एमाले रामेछापले संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक लाग्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाजसहित सरोकारवालामा आह्वान गरेको छ । एमाले रामेछापको प्रचार तथा प्रकाशन विभागले जारी गरेको ७ बुँदे प्रेस विज्ञप्तिमा ‘संविधान र लोकतन्त्रको पक्षमा लडिरहने दृढता उल्लेख गर्दै नेपालको संविधान र सार्वभौम नेपाली जनताको प्रतिनिधिमूलक संसद् विघटनमार्फत संविधान खारेज गर्ने नियोजित योजनाको विरुद्ध सम्पूर्ण पार्टी पङ्क्ति एकताबद्ध भई अगाडि बढ्ने दृढ सङ्कल्प गर्दछौँ’ भनिएको छ ।
शुक्रबार संविधान दिवसको अवसरमा निकालिएको “संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौँ” भन्ने मूल नारा सहित निकालिएको र्याली पछि मन्थलीमा आयोजित कार्यकर्ता भेलाले संविधान, लोकतन्त्र र एमाले माथि षड्यन्त्र र जालझेल भएको आरोपसहित यसबारे जनताको बिचमा पर्दाफास गर्ने निर्णय गरेको प्रचार तथा प्रकाशन विकास प्रमुख राकेश श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम कडरियासहित पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाई, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुङ्गेल, केन्द्रीय कमिटी सदस्य गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य शान्ति प्रसाद पौडेल लगायत युवा संघ र अनेरास्ववियुका प्रमुख तथा प्रतिनिधि समेतको उपस्थिति रहेको उक्त छलफलले उत्पन्न पछिल्लो परिस्थितिलाई मध्य नजर गर्दै सबै तहमा आफ्ना गतिविधि अगाडि बढाउन पार्टीका कमिटीहरूलाई निर्देशन पनि गरेको छ ।
विगतमा पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध कुनै पनि आवाज नउठाउने नेकपा एमालेमा जेन्जी आन्दोलन पछि शुक्रवारको औपचारिक छलफलमा बने कार्यकर्ताहरूले ओलीका कमी कमजोरीका विरुद्धमा प्रश्न गरेका छन् । उनीहरूले पछिल्लो पटक देखा परेको गठबन्धन दल नेपाली काँग्रेसका नेताहरूको घरमा जलेका पैसा समेतको ओलीले जवाफ दिनु पर्ने र जिम्मेवारी लिनु पर्नेमा प्रश्न उठाएका हुन् ।
पार्टीका नेता कार्यकर्ता भुईँ तहदेखि नै सुध्रिनु अति नै आवश्यक खड्किएको उल्लेख गर्दै अनेरास्वियुका केन्द्रीय सदस्य पुष्कर भट्टराईले भने ‘जिल्ला तहकै नेताहरू पनि तल्लो तहका कार्यकर्ता आएर गुनासो र समस्या सुनाउन सक्ने परिस्थिति छ’, मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, पार्टी अध्यक्ष पुरुषोत्तम कडरिया जस्ता नेताहरूले प्रधानमन्त्री रहेका बेला ओलीलाई सिधै भेट्न नपाएकोमा प्रश्न गर्दै त्यस्ता समस्या अबका दिनमा सुध्रिनु पर्छ’ भने ।
पार्टी आम जनता र कार्यकर्ताको भावना बमोजिम सुध्रिढ् गर्दै एकताबद्ध र थप जनताको विश्वासिलो पार्न लाग्ने भेला बाट बहुमतले पारित गरिएको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको हो ।
तस्बिर स्रोत मोतिला मोक्तान