एमाले रामेछाप : ‘जेन्जी विद्रोह’ पछिको पहिलो बैठकमा युवा नेताहरूको हाबी, नेतृत्वलाई चेतावनी ‘सचिने कि, सकिने’ एकै स्वर

०४ असोज, रामेछाप । नेकपा एमाले रामेछापका युवा नेताहरूले पार्टी नेतृत्वका विरुद्ध बोल्न थालेका छन् । विगतमा केन्द्रीय अध्यक्ष ओलीका विरुद्ध चुइँक गर्न लरबराउनेहरू यो बेला पार्टी र संगठन बचाउने हो भने ओली प्रवृत्तिको खुलेरै विरोध गर्नुको विकल्प नदेखेर ‘हामी सचिने हो, सकिने हैन, सबै सचिन तयार हुनुपर्छ’ भन्दै नेतृत्व विरुद्ध नारा लगाएर कार्यक्रमको सुरुवा गरेका हुन् । युवाहरूको मागलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत जायज माग भन्दै ताली बजाएर समर्थन जनाएका थिए।
सडकमा निकालिएको संविधानको रक्षासहितको र्यालीमा समेत अग्रमोर्चामा युवा नेताहरु देखिएका थिए ।
शुक्रवार जेन्जी आन्दोलन पछि पहिलो पटक सडक र औपचारिक रूपमा बोलेको एमाले रामेछापको बैठकमा विद्यार्थी आन्दोलनबाट उदाएका विद्यार्थी नेताहरूले कार्यक्रम छोटो र सान्दर्भिक हुनुपर्ने माग गरेका गर्दै ‘हामी सकिने कि, सच्चिने भन्दै नारा बाजी गरेपछि पार्टी तहका शीर्ष नेताहरूले समेत ‘सच्चिने’ भन्दै आवाज थपेपछि कार्यक्रम अगाडि बढेको थियो ।
लामो समय विद्यार्थीहरूका मुद्दा बोल्दै आएका नेता सागर हरि अधिकारीले लामो र पट्यार लाग्दो कार्यक्रमको शैलीलाई समेत आजकै मिति देखि सुधार्नु पर्ने धारणा राखेपछि कार्यक्रमलाई ‘सटिक’ रूपमा सुरुवात गरिएको उनको भनाई छ । साथै, हरेक कार्यक्रममा ‘सेडूल’ अग्रिम सार्वजनिक गर्नु पर्ने समेत थालनी गरिएको नेता अधिकारीको दाबी छ । विगतमा दिनभर लाग्ने कार्यक्रम करिब २ घण्टा मै सम्पन्न भएको र समय सान्दर्भिक बनेको सहभागी नेताहरूले बताए ।
छलफलमा बोल्दै युवा संघ नेपालका केन्द्रीय सदस्य सुरेन्द्र कार्की र (अनेरास्ववियु) का केन्द्रीय सदस्य पुष्कर भट्टराईले संगठनलाई समयानुकूल, युवामैत्री र प्रभावकारी बनाउन आवश्यक रहेको धारणा राख्दै केन्द्रीय पार्टी नेतृत्व विरुद्ध वकालत गरे । उनीहरूले जेन्जीमा माग जायज रहेको भन्दै युवा पुस्ताको सक्रियतालाई सकारात्मक रूपमा लिनुपर्नेमा जोड दिएका थिए।
पार्टीले युवाहरूको साङ्केतिक विरोधलाई असन्तुष्टिको अभिव्यक्ति नभई संगठन सुधार र कार्यक्रमलाई जीवन्त बनाउन गरिएको प्रयासको रूपमा लिएको पार्टी सचिव प्रकाश कुमार कार्कीले बताए । कार्यक्रम हलमा देखिएका विद्यार्थी र युवा संघका अन्य नेताहरूले रामेछापको यस घटनाले संगठनभित्रका युवाहरू अब केवल सहभागी मात्र नभई सुधार र परिवर्तनका सक्रिय एजेण्डाका रूपमा अघि बढेको संकेत गरेको लिएका छन् ।