रामेछापको लखनपुरमा खोरमै पसेर बाघले आधा दर्जन बढी बाख्रा मार्यो

०४ असोज, रामेछाप । रामेछापको लखनपुरमा जंगली जनवारले स्थानीयको खोरमै बसेर बाख्रा मारेको छ । ४ वटा बोकासहित ९ वटा बाख्रा मारेको दोरम्बा शैलुङ् गाउँपालिका वडा नं ७ लखनपुरका वडा सदस्य चन्द्रबहादुर मोक्तानले रामेछाप टाइम्सलाई बताए ।
गए राति करिब ११ः३० बजे तिर लखनपुरको साबिक वडा नं ९ पुडी डाडाटोल निवासी मानध्वज तामाङको बाख्राको खरमा पसेर बाघले ९ वटा बाख्रा मारेको वडा सदस्य मोक्तानले बताए । ‘घरबेटी नउठेको भए अरू थप क्षति गर्ने रहेछ’, ४ वटा बोकासहित ९ वटा बाख्रा मारेको प्रत्यक्ष देखेर आएको सुनाउँदै वडा सदस्य मोक्तानले भने ‘बाख्रा कराएर घरधनी उठेर आइपछि बाघ भाग्यो ।’
विभिन्न जंगली जनावरहरूको वासस्थान मानिने सो क्षेत्रमा बाघ, भालु लगायतका हिंस्रक र मामसहारी जनावरहरूले विगतदेखि नै स्थानीयहरूलाई दुःख दिने गरेका छन् । त्यस्तै, बाँदर लगायतका जंगली जनावरहरूले समेत अन्न, बाली नष्ट गरेर मानिसलाई हैरान पारिरहेका छन् ।