खाँडादेवी गाउँपालिका अध्यक्ष श्रेष्ठले भने ‘जनता सामु बाँडेका आश्वासन पूरा गर्न सकेनौँ भन्नु पर्ने बेला भयो’
नकारात्मक कुराको व्यापक प्रचार भयो
४ असोज, रामेछाप । निर्वाचन जितेर आएको केही समय आफ्नो पालिकालाई उच्च प्रविधिसँग जोड्दै ‘प्रविधि मैत्री पालिका’ निर्माण गर्ने आश्वासन बाँड्दै हिँडेका खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले जनतासँग बाँडेको आश्वासन पूरा गर्न नसकेको भन्दै माफ माग्नु पर्ने स्थितिमा पुगेको धारणा राखेका छन् । उनले भने ‘जनताको बिचमा जे आशा र विश्वास दिलाएको थियौँ । त्यो पूरा गर्न सकेनौँ, भने भन्नु पर्ने स्थितिमा पुगेका छौँ ।’ जनतालाई आफूहरूको भविष्य देखाउने गरी काम गर्न नसकेको उनको स्वीकारोक्ति छ ।
केही दिन अगाडि जिल्ला समन्वय समितिको सभा हलमा भएको गत वर्षको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पालिका अध्यक्ष श्रेष्ठले जनप्रतिनिधिको जिम्मेवारी समाले देखि जनतालाई जुन विश्वास दिलाएका थियौँ, त्यो हामीले हाम्रा कर्मबाट पूरा गर्न सकेका छैनौँ । त्यसैले अब हामीले बाँडेका सपना पुरा गर्न नसक्ने रहेछौँ भनेर जनता सामु भन्ने अवस्थामा पुग्यौँ भन्ने लाग्छ’, जिल्लाका ८ वटै पालिकाका जनप्रतिनिधिहरू सहितको उपस्थिति रहेको वार्षिक प्रगति समीक्षामा अध्यक्ष श्रेष्ठले भने ।
अहिले सम्म एक पार्टीले अर्को पार्टीलाई गाली गर्दै यो अवस्था सम्म आइपुगेको स्मरण उल्लेख गरेका अध्यक्ष श्रेष्ठले पालिकामा एउटै राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरूले नै नेतृत्वलाई अप्ठ्यारोमा पार्न खोजेको तर्क समेत गरेका छन् । ‘मलाई वडामा सबै काँग्रेसका वडा अध्यक्ष मात्रै आइदिए पुग्छ ।’
टुक्रे योजनाहरूको कारण सोचेको र देखिने गरी जनताको अपेक्षा पुरा गर्न नसकिएको तर्क गरेका उनले स्थानीय तहलाई अधिकार सम्पन्न नगर्दा समस्या भोग्नु परेको दाबी गरे । इमेल, इन्टरनेट, विद्युत् नै आज नागरिकको आधारभूत आवश्यकता बनी सकेको बताउँदै गाउँ–गाउँमा कृषि उत्पादनलाई व्यावसायिक रूपमा जनतालाई बुझाउन सक्ने गरी काम गर्न नसक्दा समस्या सिर्जना भएको उनको गुनासो छ ।
नकारात्मक कुराको व्यापक प्रचार भइरहेकोमा चिन्ता व्यक्त गर्दै पुराना भनिएका राजनीतिक पार्टीले प्रचार नगर्दा पछि परेको तर्क गरे ।