चौतर्फी आलोचना भएपछि काँग्रेस रामेछापका सभापति तामाङले मागे माफी, भने ‘असल नियतले बोलेको विषयलाई अतिरञ्जित नगरौँ’

पार्टीको झण्डा नबोक्नुको कारण समेत स्पष्ट

| असोज ५, २०८२ आइतबार

A A A
A A A

०५ असोज, रामेछाप । आफ्नै पार्टीको विद्यार्थी संगठनका नेताहरू गएको भदौ २४ गते मन्थलीमा भएको ‘जेन्जी आन्दोलन’मा सक्रिय सहभागी हुन गएपछि असन्तुष्टि जनाउँदै पछिल्लो कार्यक्रम हलबाट ती विद्यार्थी नेताहरूलाई निकालेका नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले माफी माग्दै पार्टीको गतिविधिमा सक्रिय हुन नेता कार्यकर्तामा आग्रह गरेका छन् । साथै, जेन्जी आन्दोलन पछि पहिलो पटक औपचारिक रूपमा सडकमा देखिँदा पार्टीको झण्डा नबोकेको भन्दै कार्यकर्ताहरूले नै सार्वजनिक रूपमा प्रश्न गरेपछि त्यस विषयमा समेत सभापति तामाङले स्पष्ट पारेका छन् । 

 

आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री समेत रहेका सभापति तामाङले संविधान दिवसको दिन बोलेको उक्त शब्दले विद्यार्थी नेताहरूको भावनामा चोट पुग्न गएको आफूले महसुस गरेको भन्दै माफ मागेको उल्लेख छ । ‘संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा मैले दिएको उक्त अभिव्यक्तिबाट युवा तरुण र विद्यार्थीहरूको आत्म सम्मानमा कुनै चोट पर्न गएमा क्षमा प्रार्थी छु’, सभापति तामाङले जारी गरेको पत्रमा उल्लेख छ । 

 

गएको भदौ २३ र २४ गते भएको आन्दोलनमा मन्थलीमा नेविसंघका सचिव समेत रहेका विद्यार्थी नेता रेगन बुढाथोकी, इकाई सभापति युवराज बुढाथोकीसहित तरुण दलका जिल्ला उपसभापति बासु फुयाँल लगायतका नेविसंघका नेताहरू सहभागी भएका थिए । आन्दोलनमा सहभागी भएकाहरू माथि प्रश्न गर्दै विगठित संसद्का सांसद एवं सभापति तामाङले विद्यार्थी नेताहरू पार्टीको जिम्मेवार नेता भएको हुँदा ‘जहाँ पायो त्यही जानु उचित नहुने उनको तर्क गरेका छन् ।’  

सभापति तामाङले कार्यक्रममा सहभागी भएका युवराज बुढाथोकीलाई कार्यक्रम हलबाट निस्किन भनेपछि आन्दोलनमा सहभागी बनेका रेगन बुढाथोकी पनि ‘म पनि हो आन्दोलनमा गएको भन्दै निस्किएका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि युवाको भावनालाई समेट्न नसकेको भन्दै चौतर्फी आलोचना भएपछि सभापति तामाङले माफी माग्दै विद्यार्थी र तरुण सबै सक्रिय भएर पार्टीमा लाग्न अपिल गरेका हुन् । ‘देशको विद्यमान जर्जर अवस्थामा पार्टीको हित र संरक्षणका निम्ति अग्रसर हुनुपर्ने युवाहरू अन्य घटनाक्रमहरूमा जोडिनु पार्टी हित विपरीत’ भएको पनि सभापति तामाङले स्मरण गराएका छन् । 

 

‘तपाईँहरू आन्दोलनमा त, जानु भयो यदि आन्दोलनकारी ले पार्टी कार्यालयमा आगो लगाउन आएको भए यो कार्यालय कसले बचाउँथ्यो’, आन्दोलनमा सहभागी नेताहरूलाई प्रश्न गर्दै सभापति तामाङले भनेका थिए ‘तपाईँहरू पार्टी सकाउन लाग्ने हैन । बनाउन लाग्ने हो,  तपाईँहरू प्रमुख जिम्मेवार नेता हो’ । 

 

आफूले असल र विद्यार्थी नेताहरूलाई जिम्मेवार बनाउने नियतका साथ व्यक्त अभिव्यक्तिहरूलाई अतिरञ्जित बनाइएको दाबी गर्दै प्रखर वक्ताको रूपमा चर्चा पाएका सभापति तामाङले ‘असल नियतका साथ व्यक्त अभिव्यक्तिहरूलाई अतिरञ्जित नबनाई दिनू’ भनेका छन् । 

 

संविधान दिवसको अवसरमै आयोजित ‘सद्भाव र्‍याली’ सहितको  कार्यक्रम पार्टीको झण्डा प्रयोग नगर्नुमा केन्द्रको निर्देशन बमोजिम गरिएको सोही कार्यक्रममा समेत स्पष्टीकरण दिएका सभापति तामाङले प्रेस विज्ञप्तिमा पनि ‘नेपाली काँग्रेस केन्द्रीय निर्देशानुसार पार्टीको झण्डा नबोकी राष्ट्रिय झण्डा बोकेको’ प्रस्ट पारेका छन् । 

 

तत्कालीन सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी ओली, ऊर्जा मन्त्री दीपक खड्का र परराष्ट्र मन्त्री समेत रहेकी पार्टी केन्द्रीय सदस्य आरजु राणा (देउवा) को आलोचना गर्दै जेन्जी पुस्ताले अगाडि सारेमा मुद्दा सही भए पनि विध्वंस गर्नु गलत रहेको धारणा राख्दै आएका छन् ।