आज साँझ ५ बजेदेखि २४ गते सम्म: मिल्ती–खिम्ती–मन्थली–खुर्कोट सडकमा अत्यावश्यक बाहेकका सबै सवारी राति चलाउन नपाइने

१९ असोज, रामेछाप । निरन्तरको वर्षाको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्ला सदरमुकाम मन्थलीको जोड्ने मुख्य सडक खुर्कोट–मन्थली–खिम्ती–मिल्ती सडकमा राति सवारी सञ्चालनमा रोक लगाएको छ ।
आइतबार एक पत्र जारी गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापले अत्यावश्यक बाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाएको जानकारी गराएको हो ।
‘वर्षा निरन्तर भई रहेको हुँदा बर्सात र बाढी पहिरोबाट यात्रुहरू र सवारी साधनलाई हुन सक्ने जोखिम हुन नदिन आइतबार (असोज १९ गतेदेखि साँझ ५ बजेदेखि बिहान ५ बजे सम्म लागू हुने गरी असोज २४ गते शुक्रवार) साँझ ०५ः०० बजे सम्म खुर्कोट–मन्थली–खिम्ति–मिल्ती सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधनको आवागमन निषेध गरिएको छ’, प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले जारी गरेको पत्रमा भनिएको छ ।
आइतबारै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका (सिडिओ) थापाको संयोजकत्वमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले समेत उक्त सडकमा उच्च जोखिम रहेको भन्दै सुरक्षित गर्नु पर्ने निष्कर्ष निकालेको थियो ।