कहिल्यै रामेछापेलीको सारथि बन्न नसकेको रामेछाप विमानस्थल : विमानस्थल प्रमुख चौरासियको यस्तो छ रबैया !
रामेछाप टाइम्सको प्रभाव: बन्ने भयो विमानस्थल गेटको ढल
२० असोज, रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रामेछाप जिल्लाकै एक मात्रै विमानस्थल छ । यो विमानस्थल यति बेला विदेशी पर्यटकहरूले भरिभराउ मात्रै छैन । मौसम खुलेको दिन दैनिक ५० भन्दा बढी उडान हुने गरेको छ । तर, यसरी दैनिक ५ दर्जन उडान हुँदा रामेछापका नागरिकहरू भने एयर्पोटमा ल्याड् गरेको र आकाशमा ‘रनवय’ समाउँदै उडेको जहाज हेर्न बाहेक केही पाउँदैनन् । उक्त प्रक्रियाका विरुद्ध केही दिन यता रामेछापका स्थानीयहरूले धमाधम आक्रोश पोख्न थालेका छन् ।
प्रत्येक वर्ष आउने प्राकृतिक विपत्तिका बेला सडकहरू अवरुद्ध भएपछि एउटै विकल्प देख्ने र रहने यो विमानस्थलले भने रामेछापका जनतालाई सधैँ उपेक्षामा पर्ने गरेको हो । र, पनि यो विमानस्थललाई दिगो रूपमा संचालन गर्नु पर्ने र यहाँका नागरिकहरूको दुःखको सारथि बनाउनु पर्नेमा जिल्लावासीले सधैँ जोड्बल गरिरहेका छन् । अहिलेको यहाँका जनताको आक्रोश पनि त्यसैको लागि हो । त्यसैले पनि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले होस् या जिल्लाको पर्यटन प्रवर्द्धनसँग जोडिने कुनै पनि छलफल अन्तरक्रियामा विमानस्थललाई यहाँको आवश्यकता र पर्यटन मैत्री वातावरण निर्माण गरी संचालन गर्नु पर्ने कुराले चर्चा पाएकै हुन्छ । जिल्ला विपद् व्यवस्थापन समितिले प्रत्येक विपद्का बेला नियमित जस्तै गरी निर्णय गर्न नछुटाउने एउटा निर्णयको तयारी बुँदा नै बनिसकेको छ ‘रामेछाप विमानस्थललाई मन्थली–काठमाडौँ नियमित उडान गर्न आग्रह गर्ने’ । यो निर्णय आइतबार पनि बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्राथमिकताको साथ तेस्रो बुँदामा गर्यो ।
गएको १७ गतेदेखिको अविरल वर्षपछि उत्पन्न विषम परिस्थितिमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आइतबार बीपी राजमार्गमा रोशी खोलाले पुर्याएको क्षतिको असर र प्रभावलाई मध्यनजर गर्दै नागरिकहरूको सेवा र सहजताको लागि टेवा पुर्याउने उद्देश्यले रामेछाप विमानस्थललाई काठमाडौँ–मन्थली नियमित उडान गरी सडकहरूमा परेको अवरोधको असहजता हटाउन भूमिका खेल्ने विश्वासका साथ गृह मन्त्रालयलाई गुहार्दै विमानस्थल नियमित संचालन गराउन आग्रह गर्ने निर्णय गरेको हो । ‘असोज १७ गते देखिको अविरल वर्षातको कारणले मन्थली देखि काठमाडौँ सम्मको जोड्ने वीपी राजमार्ग पूर्ण रूपमा अवरोध भएको हुँदा काठमाडौँ(मन्थली उडान दैनिक संचालन गर्नका लागि गृह मन्त्रालय मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र विभिन्न एयरलाईन्सहरुलाई अनुरोध गर्ने’, आइतबार रामेछाप विपद् व्यवस्थापन समितिको बैठकले गरेको निर्णयमा उल्लेख छ ।
यो निर्णय तत्कालै सम्बन्धित निकायमा पत्रसहित पठाइसकेको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताए । ‘यो निर्णय तत्काल कार्यान्वयन होस् भन्नेमा सिंगो रामेछाप एकमत छ’, प्रमुख जिल्ला अधिकारी थापाले भने । यति बेलाका ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा खानेपानी मन्त्री समेत रहेका कुलमान घिसिङलाई समेत फोन र एसएमएस (SMS) गरेर रामेछाप एयर्पोट्लाई काठमाडौँ–मन्थली उडान गर्ने वातावरण बनाइदिन आग्रह गरेको समेत सिडिओ थापाले सुनाए ।
सोमबार विमानस्थलको कार्यालय प्रमुख समेतलाई भेटेर स्थानीय शान्ति दीप युवा क्लबका जेन्जी समूहले स्थानीय सरकारका प्रमुखसहितको उपस्थितिमा नियमित उडान गर्न ध्यानाकर्षण गराएका छन् । तर, विमानस्थल प्रमुख अमित चौरशीया भने केही बोलेनन् । मन्थलीका युवाहरूले यहाँ सञ्चालनमा रहेका तीन एयरलाइन्सहरूले हप्तामा १–१ वटा उडान गरिदिए पनि यहाँका जनतालाई राहत पुग्ने उनीहरूको माग छ ।
सिडिओको आदेशलाई समेत अटेर गर्दै यहाँको समस्या बारेमा जिम्मेवार हुन चाहँदैनन् । अर्थात् उनको नजरमा जिल्लावासीका माग कुनै भ्यालुयबल छैनन् ।
यो विमानस्थल चलेर पनि यहाँका जनताले हाम्रो भन्ने महसुस गर्न पाएका छैनन् उदासले भने ‘कम्तीमा तीन वटा एयरलाइन्सले महिनामा १–१ वटा मात्रै पर्ने गरी बोकिदिए पनि हुन्छ ।’
पछिल्लो केही दिन यता यहाँका स्थानीय नागरिकहरूले रामेछाप विमानस्थललाई चेतावनी र धम्की समेत दिइरहेको देखिन्छ भने कतिपयले ‘जेन्जी’ लाग्नु पर्ने भयो समेत भनिरहेका छन् । नागरिक स्तरबाट चर्को प्रश्न उठेपछि यसबारेमा बुझ्नलाई रामेछाप टाइम्स सोमबार विमानस्थल पुग्दा प्रमुख भने केही बोल्नै मानेनन् । उनी बोल्न त पराई जाओस् नागरिक स्तरबाट उठेको गुनासो सुन्ने बित्तिकै कड्किए । यहाँका जनताले उठाएको प्रश्न बारे सोध्दा प्रमुख चौरासियाले भने ‘हामी केही बोल्न मिल्दैन । मेरो भिडिओ र अडिओ केही खिच्न मिल्दैन’ । आफूबाट केही जानकारी चाहिए नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालयबाट अनुमति लिएर आउनु पर्ने जिद्धि गरेका उनी विमानस्थलको कार्य संचालन र समस्या, गुनासा बारे समेत चुइँक्क बोलेनन् । ‘बोल्न मिल्दै मिल्दैन । फोटो भिडिओ केही नखिच्नुस्’ ।
उनको हाउभाउ हेर्दा यस्तो देखिए जो रामेछापका जनताको प्रश्न, गुनासोको उनलाई कुनै मतलबै छैन । अर्थात् उनी यहाँको कुनै पनि कुराको जिम्मेवार हैनन् । छैनन् । उनका अनुसार यहाँको समस्या प्राधिकरणको हो र त्यसको जवाफ पनि माथिल्लो निकायबाटै हुन्छ । नागरिकले चाहेको बेला सूचना पाउने, लिने संविधानले नै व्यवस्था गरेको छ । तर, उनी संविधानले गरेको कानुनी व्यवस्थाको धज्जी नै उड्ने गरी जिल्लाका प्रमुख जिल्ला अधिकारीको आदेशलाई समेत अटेर गर्दै यहाँको समस्या बारेमा जिम्मेवार हुन चाहँदैनन् । अर्थात् उनको नजरमा जिल्लावासीका माग कुनै भ्यालुयबल छैनन् ।
सोमबारै रामेछाप टाइम्सले विमानस्थल गेटमा भएको ढलको समस्या बारेमा लेखेपछि बुझ्नलाई डिएसपीसहित विमानस्थल पुगेका सिडिओ थापाको आग्रहलाई समेत लत्त्याउँदै कुनै पनि प्रतिक्रिया नदिएका कार्यालय प्रमुख चौरासियालाई मन्थली–काठमाडौँ नियमित संचालन गर्नु पर्ने ध्यानाकर्षण गर्न पुगेका जेन्जीहरुको समूहले घेरेपछि निर्य भएर बसे । यद्दयपी उनले कुनै प्रतिक्रिया भने जनाएनन् ।
रामेछाप विमानस्थलबाट सिता, तारा र समिट एयरलाइन्सले मौसमी उडान गर्दै आएका छन् । रामेछाप विमानस्थलले भने निजी एयरलाइन्सहरूको कारण उडान हुन नसकेको र यो समस्या जिल्ला तहबाट समाधान नहुने तर्क गर्दै आएको छ ।
रामेछाप टाइम्सको प्रभाव: बन्ने भयो विमानस्थल गेटको ढल
सोमबार बिहान मात्रै रामेछाप टाइम्सलाई विमानस्थलको गेटमा ढलको समस्या हुँदा पर्यटकहरूले समेत प्रश्न गरेको बारेमा लेखेपछि स्थानीय सरकारले समेत समस्या समाधानमा ध्यानाकर्षण गर्दै ढलको दिगो समाधान गर्ने भएको छ । सामाजिक सञ्जालमा लेखिए पछि मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ आफै विमानस्थल गेट पुगेर त्यसको समाधानको लागि निर्देशन गरेका हुन् ।