जिल्ला बासीको अत्याधिक मागपछि मन्थली–काठमाडौँ उडान सुरु, कान्छारामले सिडिओमार्फत सुनाए ‘भोलिदेखि उडान हुन्छ’

२० असोज, रामेछाप । जिल्लाबासीले चौतर्फी माग र प्रश्न उठाएपछि रामेछाप विमानस्थलबाट भोलि देखि मन्थली–काठमाडौँ उडान हुने भएको छ । यो उडान स्थानीयहरूको मागमा आधारित रहेर गर्न लागिएको बुझिएको छ । तर, रामेछाप विमानस्थललाई भने यो समाचार तयार पार्दा सम्म उडान बारे कुनै आदेश÷निर्देशन प्राप्त नभएको विमानस्थल कार्यालयले जनाएको छ ।
सोमबारै तारा एयरलाइन्सको उडान मार्फत १७ जना यात्रु काठमाडौँ लगिएको छ । पछिल्लो केही दिन यता खराब भएको मौसमले बीपी राजमार्गसहित काठमाडौँ जोड्ने मुख्य सडक मार्ग अवरुद्ध गरेपछि स्थानीयहरूले कम्तीमा एउटा उडान मार्फत आतपमा परेका स्थानीयहरूलाई सेवा दिनु पर्ने माग राखेपछि पटक–पटक हुँदै रोकिँदै आएको मन्थली–काठमाडौँ उडान सोमबार निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक (डिजी) प्रदीप अधिकारीसँग छलफल गरी उडान गर्न गरेको आग्रह अनुसार मंगलबार १२ बजेपछि यात्रु बोक्ने गरी उडान गर्न सहमति गरिएको विघटित सांसदका सांसद समेत रहेका नेता कान्छारामले रामेछाप टाइम्सलाई जानकारी दिए ।
सोमबार दिउँसो ३ः३० बजे रामेछाप टाइम्सलाई सम्पर्क गरी नेपाली काँग्रेस रामेछापका पार्टी सभापति समेत रहेका कान्छारामले ‘भोलिदेखि उडान गर्न आफूले पहल गरेको र महानिर्देशकले मातहतका निकायलाई समेत निर्देशन दिएकाले उडान हुने’ उनको भनाई थियो ।
निवर्तमान ऊर्जा राज्य मन्त्री तामाङका अनुसार भोलि १२ बजेपछि मन्थली–काठमाडौँ उडान हुने छ । त्यसको लागि अनलाइन टिकट समेत खुल्ला गर्ने तयारी उनको दाबी छ । तर, रामेछाप विमानस्थलका सूचना अधिकारी प्रज्वल गुरागाईँसँग साँझ ७ः३५ बजे हामीले कुरा गर्दा भने ‘अहिले सम्म त्यस्तो कुनै जानकारी आएको छैन’, आफूहरूले पनि दिउँसो विमानस्थल कार्यालयमै पुगेका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई निवर्तमान मन्त्री (कान्छाराम) ले फोन गरी उडान गर्न आफूले गरेको पहल सुनाएको बताएका सूचना अधिकारी गुरागाईँले भने ‘उहाँले सिडिओ सरलाई फोन गर्दा हामी सबै थिइम् ।’
सूचना अधिकारी गुरागाईँका अनुसार नियमित उडान बारेमा केही जानकारी नभए पनि सोमबार तारा एयरलाइन्सले १७ यात्रु बोकेकाले के हुने भन्ने बारेमा भोलि मात्रै थाहा हुने छ । सगरमाथा प्रवेशद्वारको रूपमा मौसमी उडान हुने मन्थली विमानस्थल १७ गतेदेखि सिर्जना भएको विषम परिस्थितिपछि सोमबारबाट खुलेको छ ।
तीन÷चार दिनदेखि रोकिएका पर्यटकहरू आजबाट गन्तव्य तर्फ पठाइएको छ । सूचना अधिकारी गुरागाईँका अनुसार सोमबार २२ उडान मार्फत ४ सय जनालाई लुक्ला पुर्याइएको छ ।
बीपी राजमार्ग बन्द भएपछि दोलखाको चरिकोट–तामाकोशी सडक हुँदै सडक मार्ग मार्फत मन्थली आइपुगेका अझै करिब ४ सय जना पर्यटकहरू मन्थलीमा रहेका छन् ।