३ दिन भित्र रामेछाप–काठमाडौँ नियमित उडान तोक्न स्थानीयको चरणबद्ध दबाब: जेन्जीसहित प्रशासन पुगेको टिमले भन्यो ‘विमानस्थल घेर्न नपरोस्’

| असोज २१, २०८२ मंगलबार

A A A
A A A

२१ असोज, रामेछाप । रामेछाप मन्थली–काठमाडौँ उडान नियमित र व्यवस्थित गर्न चौतर्फी माग भइरहेका बेला मन्थली स्थित शान्ति दीप युवा क्लबले थप दबाबका कार्यक्रम अगाडि बढाएको छ । यो क्लबले रामेछाप–काठमाडौँ–लुक्लाको उडानलाई समेत जोड्ने गरी नियमित र व्यवस्थित उडान गर्न ध्यानाकर्षण गर्दै केही दिन यता निरन्तर ‘डेलिगेसन’ दिइरहेको छ ।

 

मंगलबार (आज) क्लबका युवा (जेन्जी) टिमसहित जिल्ला प्रशासन कार्यालय मन्थली पुगेर अध्यक्ष सुरेश उदासले अबको ३ दिन भित्र काठमाडौँ–रामेछाप (मन्थली)–काठमाडौँ उडान कायम गरिदिन आग्रह गरेका हुन् । यसरी युवाहरूको मागलाई सम्बोधन नभए ‘विमानस्थल घेराउ गर्ने देखि अन्य विरोधका कार्यक्रमहरू’ समेत गर्ने चेतावनी समेत दिएका छन् । ‘हाम्रो यो मागलाई गम्भीरता पूर्वक लिइयोस् ।’

 

युवाहरूले मन्थली–काठमाडौँ नियमित उडान गर्दै स्थानीयहरूले दुःख परेको बेला विमानस्थल सारथि छ भन्ने अनुभूति गर्न पाउन भन्ने माग जोड्दारले उठाएका छन् । 

 

सोमबार पनि एक दर्जन जेन्जी युवाहरूसहित विमानस्थल कार्यालय पुगेका शान्ति दीपका ‘जेन्जी टिमले’ दिगो रूपमा मन्थली–काठमाडौँ उडान कायम गर्न माग गरेको थियो । मंगलबार प्रशासनै पुगेर प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापालाई ध्यानाकर्षण पत्र बुझाउँदै दिगो र प्रक्रियागत रूपमा सञ्चालन गर्न माग राखेको हो । ‘समय र गतेसहित सबै विवरण आम नागरिकहरूले बुझ्ने र सेवा पाउने गरी उडानको व्यवस्था हुनु पर्छ ।’

 

अहिले आपतकालिन जस्तो जति बेला भन्यो त्यति बेला उडान गर्दा सेवा लिन खोज्नेहरूले पाउन नसकेको र एयरलाइन्सहरूले भनेको बेला जहाज उडाउँदा यात्रु पाएनौँ भन्ने प्रश्न गरेर ‘अड्को थाप्ने’ काम भएको व्यवसायी नवराज ढुङ्लेलले बताए । 

 

मन्थलीका केही ‘अग्रज व्यवसायीहरू’ समेत सामेल उक्त ‘दबाब’  कार्यक्रममा सहभागीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए चरणबद्ध विरोधका कार्यक्रम गरेर विमानस्थल बन्द गर्ने सम्मको चेतावनी दिएका छन् । क्लबले पनि पत्रमा विमानस्थल माग बमोजिम सञ्चालन नभए विरोधका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

   

रामेछापका सिडिओ थापालाई क्लबले बुझाएको पत्रमा चेतावनी दिँदै भनिएको छ, ‘विमानस्थलले बरु विमानलाई पार्किङ गरेर राख्ने तर रामेछापवासीलाई काठमाडौँ ओहोर–दोहोर गर्न नदिने व्यवहारले रामेछापवासीको मौनता र धैर्यता गुम्दै गएको छ’ । 

केही दिन देखि यहाँका स्थानीयले जहाजले यात्रु बोक्नु पर्ने माग राख्दै चौतर्फ दबाब बढाएपछि यहाँका सरोकारवाला र प्रशासन समेतको सक्रियतामा  सोमबार तारा एयरलाइन्सले एउटा उडान मार्फत १७ जना यात्रु काठमाडौँ पुर्‍याएको छ । 

 

भने, मंगलबार पनि समिट एयरलाइन्सले लुक्लाको उडान सकेर काठमाडौँ यात्रु लाने बारेमा सम्बन्धित एयरलाइन्ससँग छलफल भएको स्थानीय नेताहरूको भनाई छ । यहाँका स्थानीयहरूले रामेछापबाट लुक्ला उडान गर्दै आएका सिता, तारा र समिट एयरलाइन्सहरू सँग पनि छुट्टै छलफल गरी माग राख्ने तयारी समेत गरेका छन् । 

 

विमानस्थलहरूले रामेछाप विमानस्थललाई डलर कमाउने माध्यम मात्रै बनाएको भन्दै अबदेखि मन्थली–लुक्लासंगै–मन्थली–काठमाडौँ उडान सेडूल तोक्न माग गरेका हुन् । 

मिलन घिमिरे (बि क)
| असोज २१, २०८२ मंगलबार