जिल्लाबासीको माग सम्बोधनः शान्ति दीपले गरायो तीन एयरलाइन्ससँग रामेछाप–काठमाडौँ नियमित उडानको निर्णय, तिहार र विपद्पछि पनि नरोक्न आग्रह
‘गरेको निर्णय हो कार्यान्वयन् हुन्छ’
२१ असोज, रामेछाप । स्थानीयहरूलाई टेवा पुग्ने गरी काठमाडौँ–रामेछाप–काठमाडौँ उडान हुनु पर्ने मागसहित चर्को दबाबमै उत्रिएको शान्ति दीप युवा क्लब मन्थलीको सक्रियतामा हप्तामा तीन उडान गर्ने निर्णय गर्न सफल भएको छ । निर्णय अनुसार अब प्रत्येक बुधवार समिट, शुक्रवार सिता र शनिवार तारा एयरलाइन्सले काठमाडौँ–रामेछाप–काठमाडौँ उडान गर्ने छ । आजै प्रशासन मार्फत विमानस्थलले आफूहरुको माग ३ दिन भित्र सम्बोधन नगरे ‘विमानस्थल घेर्न नपरोस्’ भनि चेतावनी समेत दिएको कल्बले दबाबलाई बढाउने अवस्था देखिएपछि निर्णय गरिएको बुझिएको छ ।
मंगलबार दिउँसो जेन्जी युवाहरूसहित रामेछाप प्रशासन पुगेको क्लबको टोलीले रामेछाप विमानस्थल पुगेर यो विमानस्थल प्रयोग गरी उडान गर्दै आएका निजी कम्पनीहरू तारा, सिता र समिटका संलग्न व्यक्तिहरू सँग छलफल गरी प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापासहितको उपस्थितिमा उक्त निर्णय गरिएको कल्बका अध्यक्ष एवं उक्त छलफलका संयोजक सुरेश उदाशले रामेछाप टाइम्सलाई जानकारी दिए । उनले भने ‘अब तीन उडान हुन्छ’ ।
उदाशले रामेछाप टाइम्सलाई उपलब्ध गराएको निर्णय पत्रमा भनिएको छ ‘बिपद र चाडबाडको बेला भएकाले तत्कालका लागि (तिहार सम्म) हवाई कम्पनीले काठमाडौँ–रामेछाप–काठमाडौँ उडान गर्ने व्यवस्थापन मिलाउने’ ।
सोमबार विमानस्थलमा दबाब बढाउन पुगेको कल्बको टिमसंग मन्थली नगर प्रमुख लव श्रेष्ठसहित सिडिओ, डिएसपी लगाएत तस्बिर रामेछाप टाइम्स ।
जिल्लाबासीको माग र आवश्यकतालाई मध्यनजर गर्दै उडानको दिन तोकिएको दाबी गरिएको उक्त निर्णयमा तिहार पछि लुक्ला उडान नहुने समयमा समेत यी तीन वटै विमान कम्पनीहरूले समझदारी गरी सातामा कम्तीमा एक उडान गर्नु पर्ने उल्लेख छ । ‘आवश्यक निर्णय लिने र सो कार्यमा नेपाल नागरिक उड्डयन कार्यालयले समन्वय गर्ने’ ।
जिल्लाका युवाहरूको मागलाई सम्बोधन गर्दै निर्णय कार्यान्वयनमा आए सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जाएर गरिएको सो निर्णयमा ‘उडानका लागि अनलाइन टिकट र उडान तालिका हवाई कम्पनीले सार्वजनिक गर्नु पर्ने’ उल्लेख गरिएको छ ।
यही असोज १७ गतेदेखिको अविरल वर्षा पछि बिपी राजमार्ग पूर्ण रूपमा क्षतिग्रस्त बनेपछि काम विशेष काठमाडौँ जानु पर्ने अर्थात् यहाँ रोकिएका र काठमाडौँ बाट रामेछाप आउनु पर्ने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले हवाई उडान हुनु पर्ने माग उठेको थियो ।
यसबारेमा रामेछाप विमानस्थलका प्रमुख अमित चौरासियासंग सम्पर्क गरी बुझ्दै गरेको निर्णय कार्यान्वयन हुने बताए । उनले भने ‘गरेको निर्णय हो कार्यान्वयन हुन्छ’, भोलि समिटको सेडूल रहेको बताएका उनले समय भने एयरलाइन्सहरूले तोक्ने बताए ।
कतिपय जिल्लाका नागरिकहरूले सामाजिक सञ्जाल मार्फत विमानस्थलले दुखमा साथ नदिने र यहाँबाट डलर कमाउने मध्यम मात्रै बनाएको भन्दै आक्रोश पोखेका थिए । यहाँका स्थानीयहरूले रामेछापको एयरपोर्ट रामेछापको लागि हुन नसकेको दुखेसो गर्दै आएका थिए ।