टिकटकमा भेटेको ‘स्क्यामर’लाई पत्याउँदा राकाथुमकी लेखापाल बेपत्ता : ७ लाख बढी रकम पठाइन्, यस्तो छ पूरा ‘नोट’

| कात्तिक १८, २०८२ सोमबार

A A A
A A A

१७ कात्तिक, रामेछाप । आइतबार बिहानै देखि कसैको सम्पर्कमा नआएकी रामेछाप राकाथुम वडाको महिला कर्मचारी सामाजिक संजाल (टिकटक) मा भेटिएका ‘स्क्यामर’को कारण बेपत्ता भएको तथ्य फेला परेको छ । सोमबार बिहानै उनको पारिवारिक सदस्यहरूले फेला पारेको ‘नोटमा’ दुई ‘स्क्यामर’को कारण बेपत्ता हुनु पर्ने अवस्थामा पुगेको फेला परेको हो । 

 

जिल्ला खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुम पाङ्खर निवासी ३६ वर्षीय मा‍‍.वि‍.लेखापाल आशा लामाले लेखिएको पत्रमा भनिएको छ, ‘म बेपत्ता हुनुमा मेरो परिवारको कुनै हात छैन’, आफूलाई बेपत्ता हुन बाध्य पार्ने युकेमा बस्नेत रवि कमाइत नाम गरेका व्यक्ति र.....त्यो पैसा साट्ने अफिसको हात छ’, भनेकी छन् । 

 

गएको बिहीबार देखि पटक पटक गरेर लेखापाल लामाले ती स्क्यामरलाई रु ७ लाख ६५ हजार रुपैयाँ खातामा पठाएको प्रस्ट शब्दमा लेखेकी छन् । श्रीमान् र दुई छोरीसहित सासू ससुरा प्रति माया र प्रेमदर्शाउँदै आफू स्क्यामरमा फेसेको लामाको नोटमा उल्लेख छ । 

 

रामेछाप टाइम्ससंग कुरा गर्दै बेपत्ता लेखापाल लामाका ससुराले आफूहरूलाई बुहारी हराएपछि मात्रै यस्ता कुरा थाहा पाएको गुनासो गरे । ‘हामीलाई केही थाहा थिएन, बुहारी हराएपछि एक्कासि यस्ता कुरा आयो ।’

 

बेपत्ता बुहारीको खोजी गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी र प्रशासन आइपुगेका ससुराले कसैले देखेमा खोजी गरिदिन आग्रह गरे । एक्कासि लामा बेपत्ता भएपछि पीडामा परेको परिवारका सदस्यहरू खोजीको लागि तीव्र रूपमा लागि परेका छन् । भने, स्क्यामरलाई कारबाहीको दायरामा ल्याउन वडा अध्यक्षसहित प्रहरी कार्यालयमा पुगेर कानूनीबाटो अगाडि बढाइरहेका छन् । 

 

मिलन घिमिरे (बि क)
| असोज २१, २०८२ मंगलबार