जनप्रतिनिधिको ‘चेपाइले’ टिक्नै नसकेपछि उमाकुण्ड आएको ३ महिनामै सरुवा मिलाएर हिँडदै ‘हाकिम’ अर्याल, पालिका प्रवक्ता यसो भन्छन् ?

| कात्तिक २३, २०८२ शनिबार

A A A
A A A

२१ कात्तिक, रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिकामा गएको आर्थिक वर्षको अन्तिममा हाजिर भएकी प्रमुख प्रशासकीय अधिकृत (हाकिम) सुनिता अर्याल पारिवारिक कारण देखाउँदै ३ महिना मै सरुवा भएकी छिन् । पालिकामा प्रशासन सञ्चालनका प्रमुख जिम्मेवार प्रमुख प्रशासकीय अधिकृत र लेखा दुवै नहुँदा गाउँपालिका साउन यता ठप्प छ । चालु आर्थिक वर्षको चार महिना बित्न लाग्दा सम्म गाउँपालिकाले कर्मचारी र जनप्रतिनिधिलाई तलब, भत्ता खुवाउने बाहेक केही कार्य अगाडि बढाउन सकेको छैन । 

 

गएको साउन ११ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत अभिजित सुनुवारले आर्थिक अधिकारसहित संचालन गर्दै आएको गाउँपालिकाको जिम्मेवारी सम्हाल्न आएकी प्रमुख प्रशासकीय अधिकृत अर्याल पनि स्थानीय तहमा जनप्रतिनिधिको चेपुवामा पर्न थालेपछि सरुवा मिलाएर हिँड्न लागेकी हुन् । ‘मेरो स्वागत पनि गरिएको थिएन । बिदा पनि त्यस्तो हुँदैन’ भोलि आइतबार पालिका छोड्न लागेकी प्रमुख प्रशासकीय अधिकृत अर्यालले भनिन् । अर्थात् उनी सुटुक्क आइन् । सुटुक्कै जाँदै छिन् ।  उनी आइतबार देखि पालिका छोड्दै छिन् । 

 

स्थानीय तहमा केही गरौँ भन्ने हुटहुटी बोकेर पहिलो अनुभव लिन उमाकुण्ड आएको बताउने प्रमुख प्रशासकीय अधिकृत अर्याल पालिका आएदेखि नै जनप्रतिनिधिहरुसंग सहकार्य र समन्वय सहज रूपमा गर्न नसकेपछि ‘ट्रम’ नमिल्ने छाँट्काँट्का साथ निर्वाचन कार्यालयमा सरुवा मिलाएर गाउँपालिका छाड्ने निश्चित भएको हो । 

पालिका अध्यक्ष शेरबहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार र पालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष रुद्रमणि नेवार । तस्बिर अर्काइभ ।

 

विगत २ वर्ष देखि कुशलता पूर्वक जिम्मेवारी निर्वाह गर्दै आएका लेखा अधिकृत शुकदेव कार्की पनि उनी आउने बित्तिकै नियम अनुसार सरुवा मिलाएर बाहिरिएपछि गोकुलगंगा गाउँपालिकाका लेखालाई लगेर दशैंतिहारमा कर्मचारीहरूलाई तलब, भत्ता खुवाउन बाहेक अन्य काम गर्ने मौकै नपाएकी हाकिम अर्यालको तीन महिने कार्यकाल ‘आउजाउमै’ सकियो । कतिसम्म भने उनले गाउँपालिकाका नागरिकहरूले मागेका सूचना समेत दिइन सकिनन् । 

 

गाउँपालिका स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत अर्यालले प्रशासनिक क्षेत्र र जनप्रतिनिधिका सेवामा थप कडाइ गर्दै आफ्नो अधिकारको पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटोमा अगाडि बढेपछि हाकिम र अध्यक्ष सुनुवारसहितका जनप्रतिनिधिहरू बिच यो ‘मनमुटाब’ देखिन थालेको थियो । उनी पालिका आएदेखि नै गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधिहरूलाई विधि र प्रक्रिया अनुसार चल्नु पर्नेमा जोड् दिन थालेपछि उनी जनप्रतिनिधिहरूको ‘निशानामा’ परेकी थिइन् । जनप्रतिनिधिहरूले हाकिम अर्यालले सहज रूपमा सहकार्य र समन्वय गर्न नसक्ने छरपस्ट छ । 

 

यस अघि पनि तत्कालीन हाकिम अभिनय अधिकारीले कामै नगरेको भन्दै पालिका अध्यक्ष सुनुवारले प्रश्न गरेपछि आवेगमा उत्रिएका हाकिम अधिकारीले रातारात पालिका छोडेपछि अध्यक्षले सिंहदरबार धाएर नगपालिका चलाएका हाकिम जितबहादुर श्रेष्ठ आएका थिए । उनी पनि पारिवारिक कारण भन्दै लामो समय टिकेनन् । त्यसपछि निमित्तको भरमै चलाउन बाध्य बनेपछि स्वास्थ्य शाखा प्रमुख सुनुवारलाई आर्थिक अधिकारसहित जिम्मेवारी दिएर संचालन गरिएको सो पालिकामा आएकी हाकिम अर्यालले पनि तीन महिनामै सरुवा मिलाएर गाउँपालिका छोड्ने भएपछि अहिले फेरी अध्यक्ष सुनुवार सिंहदरबार धाइरहेको बुझिएको छ । यस बारेमा अध्यक्ष सुनुवारसँग बुझ्न खोज्दा अध्यक्ष सुनुवारको फोन उठेन । साथै, पालिकामा यति बेला जनप्रतिनिधिको काम हाकिम खोज्ने मात्रै हो भन्ने प्रश्न आम मानिसले गरिरहेका छन् । 

 

दसैँ तिहार जस्ता महत्त्वपूर्ण पर्व सकिएर धमाधम काममा फर्कनु पर्ने अवस्थामै सरुवा लिएर बिदा लिन केही दिन अगाडि मात्रै च्यादलु पुगेकी हाकिम अर्यालले रामेछाप टाइम्संग कुरा गर्दै आफू कसैको दबाबमा नभई स्वःइच्छ्याले निर्वाचन कार्यालय जान लागेको जिकिर गरिन् । उनले पारिवारिक कारणले पालिका बस्न नसकेको जिकिर गर्दै सबै जनप्रतिनिधिसँग राम्रो सम्बन्ध रहेको तर्क गरिन्  । ‘बाहिर कसले के भन्छन् त्यो हैन म आफै पारिवारिक कारण निर्वाचन कार्यालय जान लागेको हुँ’ । 

 

हाकिम अर्यालले उनलाई पालिका छोड्न बाध्य पारिएको तर्कको खण्डन गर्दै आफ्नै कारण काठमाडौँ जानु पर्ने बाध्यतामा परेको बताइन् । काम गर्ने हुटहुटी बोकेर उमाकुण्ड आएको सुनाउँदै उनले भनिन् ‘म पनि केही काम गर्ने हुटहुटी बोकेर आएको थियो । तर, जानु पर्ने भयो ।’ 

 

त्यस्तै गाउँपालिकाको प्रवक्ता समेत रहेका वडा नं ७ का वडा अध्यक्ष रुद्रमणि नेवारले हाकिम अर्यालको सरुवा भएको विषयमा बोल्दै भर्खरै आएको भए पनि ‘सरुवा भइसक्यो भन्ने जानकारी पाएको छु’ भने । अहिले सम्म प्रमुख प्रशासकीय अधिकृतले कसैसँग गुनासो वा समस्या नराखेको उल्लेख गर्दै जनप्रतिनिधिसँग ‘मनमुटाब’को कारण जान लागेको विषयमा ‘धेरै थाहा’ छैन भने । पालिकामा लेखा र हाकिम दुवै नहुँदा प्रशासनिक काममा अन्यौलता बनिनै रहेको धारणा राख्दै आफ्नो वडामा भने समिति गठनसहित प्रक्रिया अनुसारका काम भइरहेको उनको दाबी छ ।