एक हप्ते चीन भ्रमण : विकास र संस्कार देखेरै चकित (फोटोफिचर)

| कात्तिक २५, २०८२ सोमबार

A A A
A A A

२४ कात्तिक, रामेछाप/साङ्डोङ (चीन) । गएको असोज २९ गते अर्थात् सन् २०२५ अक्टोबर १५ देखि २१ तारिख ९असोज २९ गतेदेखि कात्तिक ४ गते सम्म० चीनको शानडोंग प्रान्तका १० दर्जन बढी ठाउँको अवलोकन भ्रमण गर्ने शु–अवसर प्राप्त भयो । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे/NFPJ) का केन्द्रीय अध्यक्ष प्रदीप राज वन्त र केन्द्रीय सदस्य अनुप प्रधानसहित (एनएफपिजे) नेपालका हामी ५ जना नेपालको प्रतिनिधित्व गर्दै चीनको पुगिम । 


चीनको अवलोकन भ्रमणको (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीप राज वन्त बाहेक हामी चारै जनाको लागि पहिलो पटक थियो । त्यसैले पनि हामी चार जनालाई चीनको विकास, निर्माण संस्कार, संस्कृति, रहन सहन, वातावरण त पक्कै नौलो हुने नै भयो । खानपान पनि निकै, नौलो र नयाँ तरिकाले स्वाद लिँदा केही असहज पक्कै र नयाँ अनुभव पनि भयो । मज्जा र अनुभव अविस्मरणीय रहे ।

 

हाम्रो देशकै तुलनामा ६५ गुणा ठुलो त्यो देशको एउटा प्रदेश शाङडोङ मैले सुनेको अन्य प्रदेश (राज्य) को तुलनामा विकासमा केही पछि परेको रे । तर, पनि विकास हामीले सोचेको र नेपालको तुलनामा साँच्चै विकसित, सुविधा सम्पन्न र समृद्धशिल नै देखियो । मेरो शब्दमा यत्ति भन्न सक्छु कि त्यहाँ मानिसहरू जिउनको लागि अभाव र नपुग भन्ने केही देख्न सकिन । र, हाम्रो देशे नेपालको विकाससँग तुलना गर्ने हो भने मेरो विचारमा हामी ०.५ प्रतिशत सम्म छौँ कि ? भन्ने मैले व्यक्तिगत रूपमा तुलना गरे । सायद, हामी पर्यटकको लागि नराम्रो ठाउँमा नलगेको भएर पो हो कि ?
 

दैनिक दुई दर्जन त्यहाँको महत्त्वपूर्ण ठाउँहरू धार्मिक, ऐतिहासिक, पुरातात्त्विक, फिल्म सिटी, म्युजियमहरू, यल्लो रिभर, मानव निर्मित घाँस पातदेखि ‘आकाश छुने’ बिल्डिङ्हरु सहित प्रसिद्ध र चर्चित क्षेत्रहरू, सांस्कृतिक, जातिगत पहिचान, परम्परा र त्यहाँका युवा शक्तिहरूको प्रयोग लगायत सिक्ने र सिकाउने प्रक्रियाहरूको प्रत्यक्ष  अवलोकनबाट शाङ्डोङ हामीले देखेको र देख्दै आएको नेपाल भन्दा दसकौँ अगाडि छ भन्ने मेरो बुझाइ हो । यी ठाउँहरू हेर्दा र घुम्दा मलाई नेपालको जेन्जी आन्दोलनमा जलाएर ध्वस्त पारिएका सिंहदरबारसहित ऐतिहासिक महत्त्व बोकेका ती ठाउँहरूको झल–झली स्मरण भयो । किनकि, हामीले हेरेका र घुमेका ती दर्जनौँ ठाउँहरूमा अधिकांश ठाउँहरू त्यस्तै ऐतिहासिक, पुरातात्त्विक महत्त्व बोकेका स्थान सामेल थिए । र, ती ठाउँहरूको विकास निर्माण गर्दा के–कसरी, कसले गरेका थिए भन्ने स–प्रमाण सुरक्षित र संरक्षित थिए ।

तीनै प्रमाण र स्थानहरू त्यहाँका विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले पूर्ण ज्ञान लिएर विभिन्न देशका १०० भन्दा बढी फोटो पत्रकारहरू मार्फत विश्वलाई त्यहाँको विशेषता र महत्त्व सुनाइ रहेका/बाँडी रहेका थिए । यो पक्कै मलाई झस्काउने र पटक–पटक प्रश्न गर्ने विषय बन्यो । हाम्रो देशका जेन्जी इतिहास र ऐतिहासिक तथ्य, प्रमाणलाई आन्दोलनको नाममा जलाएर ध्वस्त पार्दै छन् । अनि, राष्ट्रिय झण्डालाई काँधमा झारेर (ओढेर) अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियता प्रदर्शन गर्दै छन् । अंग्रेज र जापानसहितका विदेशी मुलुकले ८ दशक अगाडि मात्रै पनि कब्जा गर्न बल प्रयोग गरिरहेको त्यो मुलुक त्यो ठाउँमा पुगेको देख्दा साँच्चै म शब्द विहीन जस्तै बने । उत्सुकताको साथ हेरिरहे । 
 

शानडोंग प्रान्तको अन्तर्राष्ट्रिय फोटो महोत्सव ‘अवसर चीन, ऊर्जाशील शानडोंग’ नाम दिइएको उक्त अन्तर्राष्ट्रिय फोटो पत्रकारहरूको ‘महोत्सव’को एक हप्ते भ्रमणभर त्यहाँ घुम्दा कुनै सडकमा ट्राफिक प्रहरी एक जना देखिएन । र, पनि कसैले ट्राफिक नियम उल्लङ्घन गर्दैनन् । शहर पूरै शान्त छ । र, विकासको लहरमा अझै लम्की रहेको छ । ८ दिनको हाम्रो यात्राको क्रममा हामी सवार गाडिले ९ चोटि मात्रै हर्न मार्दा जति यात्रा गर्‍यो त्यति सडकमा आकर्षक र हेरिरहौँ लाग्ने ‘गाडेन’ नसजाइएको कहीँ कतै देखिन । नागरिकहरूको स–साना आवश्यकताहरूलाई सोचे भन्दा निकै गहिराइमा गएर यति राम्रो तरिकाले पूरा गरेको देख्दा म साँच्चै अचम्मितै बने । र, यो कसरी सम्भव भयो भन्ने मात्रै दोहोर्‍याइ रहे ।
 

ठू–ठुला सहरमा हो–हल्ला छदै–छैन भन्दा फरक नपर्दा, कुनै गाडी जाममा छैनन् । आकाश छुने घरहरूमा मानवीय सुरक्षाको लागि उच्चतम सचेतना अपनाइएको पाइयो । मलाई काठमाडौँ शहज जस्तै लागेको शहरको प्रत्येक जसो घर अगाडि मकैको अनौठो र व्यवस्थित भण्डारणसँगै खेतीपातीलाई प्राथमिकता दिएको देखियो । बढी जस्तो हाम्रो तराईका समथर भू–भाग झैँ रहेको त्यहाँ किसानलाई अत्याधुनिक र व्यवस्थित कृषि कर्मलाई सहज बनाइएको देखियो । तपाईँहरूलाई सजिलो गरी बुझाउनको लागि म १४० भन्दा बढीको स्पिडमा दौडिएको हामी सवार ‘लग्जरियस’ गाडी सिधा बाटोमा करिब डेढ घण्टा त्यही रफ्तार (स्पिड) मा दौडिँदा पनि नसकिएको मकै बारी थियो भन्दा सजिलो होला ।

त्यहाँको चलनै वा त्यस्तो गर्दा रहेछन् कि मकैलाई गेडा बनाएपछि खाली सडकमा सुकाइने रहेछ । मकैको सुरक्षाको लागि मकै बारीमा पनि हाम्रो मुलुकमा उच्च प्रविधि भनिएको भन्दा उच्च प्रविधिका (सिसी) क्यामेरा जडित देखियो । हाम्रोमा वृद्ध उमेर भनेर घरमा बस्न बाध्य पारिने ६० वर्ष भन्दा माथिका मानिसहरू आनन्दले उमेर र क्षमताले भ्याउने काम आफ्नै सुरु तालमा व्यस्त देखिए । ठू–ठुला ५ ताते, सात तारे होटेलहरूमा सायद ३५ वर्ष पार गरेकै महिला (हाम्रो तिर गृहिणी बन्ने उमेरका) हुनु पर्छ उनीहरू धेरै देखिए । र, युवा अवस्थाका युवाहरूलाई प्रविधिको क्षेत्रमा काम गर्न बढी प्रयोग गरिएको देखे । सायद यसको पनि कारण पक्कै होला किनकि भर्खर पढेलेखेकाले राज्यलाई फाइदा पुग्ने र नयाँ–नयाँ प्रविधिको विकासमा समय दिनु पर्छ भन्ने सोच होला ।
 

होटेलहरूको त के कुरा गर्नु एउटै होटेलमा ३८१७, ५२२० कोठा नै । अर्थात् दुई हजार भन्दा बढी कोठा । त्यो पनि एक व्यक्तिलाई आवश्यक पर्ने र नेलकटर देखि ‘मिनी अफिस’ संचालन सम्म । घाम नलाग्दा र अस्ताएपछि अत्यधिक हावासहित अत्यधिक चिसो मौसम रहेको त्यहाँ सबै ठाउँमा अटो मेट्रिक चिसो र तातो पानीको सामान्य र अति आवश्यक सुविधाले मलाई मेरो गुम्देलको याद दिलायो । र, हाम्रो पनि सरकारले सायद देश यसरी नै विकास गरिदिएको भए नुम्बुरको फेदबाट बगेर आउने  लिखु नदीको चिसो पानी सायद यस्तै हुनिथियो होला । र, माथि गाउँतिर पानी चिसो छ भन्दै हात–मुख धुनै नसक्ने अवस्था हट्ने थियो होला । 

 

फलफूल खेती जुजु (बयर) को बगैँचा भ्रमणका क्रममा आफ्नै हातले फल टिप्ने खाने र झोला भरि लाने कार्यक्रमले साहै रमाइलो

 

विश्वमा जलस्रोत कै दोस्रो धनी देश हाम्रो मुलुकमा शुभ दीपावली जस्तो चाड पर्वमा ढुक्कसँग बत्ती बालेर शहर झलमल्ल पारेको केही वर्ष मात्रै पुग्दा अझै पनि कति गाउँघरमा ढुक्कसँग बिजुली नपुग्दै गर्दा शाङ्डोङ्को जिनान शहरमा रुख, बिरुवा देखि पानीका नाला, खोला, मानव निर्मित छहराहरूमा समेत निकै सुन्दर र व्यवस्थित रूपमा सजाइएको आकर्षक ‘लाइट’हरुले कसको पो मन नलोब्भ्याउला र साँझ पर्ने बित्तिकै चाइना टावरको टुप्पोबाट बालिने सप्तरङ्गी लाइटले शहरका कोशौं टाढासम्म झलमल्ल पार्नुका साथै झिलिमिली पार्ने रहेछ । नवीकरणीय ऊर्जालाई उत्तिकै प्रयोग गरिएको त्यहाँ आकर्षक रूपमा नसजाइएको कुनै सडक थिएनन् । जहाँ पनि झलमल्ल । 

नेपालसहित जापान, भियतनाम, मलेसिया, कोरिया, म्यानमार, थाइल्यान्ड, रसिया र फिँजी लगायत देशका करिब १०० भन्दा बढी हामी फोटो पत्रकार सम्मिलित उक्त अवलोकन भ्रमणमा हस्तकलाका सामाग्री उत्पादन, निर्माणदेखि आधुनिक कपडा उद्योग, तेलको उत्पादन तथा प्रशोधनसहितका उद्योगहरूको प्रत्यक्ष अवलोकनले विकास गर्न राजनीतिक दलहरू नभई योजना र लगानीले हुने प्रस्ट बुझियो । किनकि चीनमा एउटा चिनियाँ कम्युनिस्ट पार्टी भन्दा अरू कुनै दलै रहेनछन् । तर, हाम्रोमा त विकास गर्न राजनीतिक दल नभई दलहरू हुनु पर्छ भन्ने भाष्य यसरी प्रचार गर्छन् कि अब ‘एक व्यक्ति एक दल हुनु पर्छ’ । 
 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाको ‘ठुलै चेकजाँच’ पछि देशै बेच्न हिँडेको जस्तो व्यवहार गरी अनुमति दिएर छेन्दु एयरपोर्टमा ओर्लिएपछि थाहा भयो कि कर्मचारीहरूले नबोली, गाली नगरी र कसैलाई लाखा–कसैलाई पाखा नगरी पनि सेवाग्राही (नागरिकहरू) सन्तुष्ट हुने गरी उत्कृष्ट सेवा प्रदान गर्न सकिने रहेछ । विन्झाओ सिटीमा अवस्थित किसान नेताको स्मारक संग्रहालय, एल्लो रिभर टावर, पार्क, तथा विश्व प्रसिद्ध कपडा उद्योग र विशाल कार्पेट संग्रहालयको अवलोकन भ्रमण तथा फोटो खिच्दै गर्दा ती सबै ठाउँमा प्रचारप्रसारसँगै व्यापारिक योजना भरपूर उपयोग गरेको देखियो । 

त्यसैगरी, स्थानीय किसानद्वारा सञ्चालित फलफूल खेती जुजु (बयर) को बगैँचा भ्रमणका क्रममा आफ्नै हातले फल टिप्ने खाने र झोला भरि लाने कार्यक्रमले साहै रमाइलो पनि भयो । यसले चीनको ग्रामीण जीवन नजिकबाट बुझ्दै गर्दा सयौँ बिगामा फैलिएको सुन्दर किमू बगैँचा घुम्दै गर्दा त्यो पूरै बगैँचामा एउटै धुन् बजाउन सकिने गरी साउन सिस्टम जमिनै (सिमेन्टको डल्लो भित्र ढुङ्गा जस्तै बनाएर) व्यवस्था गरिएको देखेर अच्चम लाग्यो । उडी फिल्म सिटीमा आयोजित कला, संस्कृति र नृत्य प्रदर्शनको पनि अवलोकन गर्नुका साथै भविष्यमा कलाकार बन्ने सोचले कला सिकिरहेका युवाहरूले नाटकको रूपमा आफ्नो कला स्वतःस्फूर्त रूपमा रूपमा प्रदर्शन गरेको देख्दा र इच्छुक पाउनहरुले पनि भाग लिन पाउने ‘सिस्टमले’ आनन्दित महसुस गरायो ।

 

विश्वका विभिन्न देशहरूबाट अन्तर्राष्ट्रिय महोत्सव नै बनेको उक्त अवसरमा भाग लिँदै गर्दा यस्ता वर्णन गर्न नसकिने र चर्चा गरेर नथाकिने मैले सयौँ विषयहरू अनुभव गरे । नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने तथा नेपाली फोटो पत्रकारिताको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न पनि यो भ्रमण त्यत्तिकै महत्त्वपूर्ण रह्यो ।