रामेछापको गुप्तेश्वरमा १५० घरधुरीका मानिस ‘अपत्यारिलो’ तरिकाले बिरामी
२५ कात्तिक, रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा १५० घर धुरीमा प्रत्येक जसो घरका मानिस अप्रत्याशित रूपमा बिरामी परेका छन् । करिब एक सातादेखि गाउँ भर महामारीकै रूपमा ज्वरो आउने, टाउको दुख्ने, जोर्ने दुख्ने, निरन्तर खोकी लाग्ने, वान्ता हुन खोज्ने जस्ता समस्या देखिए पछि स्वास्थ्य चौकीमा बिरामीको अत्यधिक चाप बढेको गुप्तेश्वर स्वास्थ्य चौकीका प्रमुख (एचय) हुमेन्द्र परियारले बताए ।
विद्यार्थीहरु अधिकांश जसाे बिरामी परेपछि विद्यालय नै बन्द गर्नु पर्ने अवस्था बनेको वडा अध्यक्षकाे भनाइ छ।
‘दैनिक २५/३० जना बिरामी आइरहेका छन्, यो एक महामारी जस्तै गरी फैलिएको छ, एचए परियारले भने ‘हिजो देखि भने अलि कम भएको हो कि ? ।’
बिरामी बढेपछि स्वास्थ्य चौकीमा भ्याइ नभ्याई भएको स्वास्थ्य चौकी इन्चार्ज परियारको भनाइ छ । भाइरल हो कि के हो भन्ने बारेमा बुझिरहेको बताउँदै सबैले सचेतना अपनाउनु पर्नेमा उनको जोड् छ ।
वडाका धेरै जस्तो घरमा खाना पकाएर दिने मान्छे समेत नहुने गरी स्थानीहरू बिरामी परेपछि आफूले त्यहाँका बिरामीहरूको रगत, खकार लगायत परीक्षण गर्नु पर्ने विषयमा पालिका अस्पतालका प्रमुख अभिजित सुनुवारसँग पनि कुरा गरिएको वडा अध्यक्ष भरतराज खड्काको भनाई छ ।
स्वास्थ्य चौकीको बेडमा नअटेर बिरामीहरू भुईँमा राखेर समेत उपचार गराउनु परेको सुनाउँदै समाधान गर्न आफूले पहल थालेको उनको दाबी छ । वडाका व्यापक बिरामी फैलिरहेकै अवस्थामा पालिकाले भने आज बस्ने कार्यपालिका बैठकबाट गुप्तेश्वर स्वास्थ्य चौकी प्रमुख परियारलाई पालिका अस्पताल तान्ने तयारी भइरहेको स्रोतको दाबी छ ।
च्यादालु स्थित पालिका अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नको लागि आजको कार्यपालिका बैठकले निर्णय गर्न सकिने बुझिएको छ । केही समय अगाडि देखि नै निर्माण सकिएर अस्पताल संचालका सामग्री समेत खरिद गरिएको पालिका अस्पताल सञ्चालनमा थप क्रियाशीलता नहुँदा लाखौँका सामग्री प्रयोग बनिरहेको अवस्था छ।
